पाकिस्तानमा एक विद्यालयको छाना खस्दा कम्तीमा ३३ जनाको मृत्यु

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

इस्लामाबाद/ उत्तर–पश्चिमी पाकिस्तानमा एउटा विद्यालयको छाना खस्दा कम्तीमा ३२ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । त्यस्तै, घटनामा ४५ जनाभन्दा बढी घाइते भएको अधिकारीहरू र उद्धारकर्मीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । यो घटना बिहीबार खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेसावरस्थित ‘अल–खैर एजुकेसन सेन्टर’ नामक निजी विद्यालयमा भएको हो ।

घटनाका कैयौँ पीडितहरूलाई लगिएको ‘लेडी रिडिङ अस्पताल’का प्रवक्ता मोहम्मद आसिमले मृतकहरूमा १२ जना छात्रा र एक महिला शिक्षिका रहेको बताए ।घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि आसिमले जानकारी दिए । आसिमका अनुसार, मारिएका वा घाइते भएका बालबालिकाहरूमध्ये अधिकांश ६ देखि १२ वर्ष उमेर समूहका थिए, सबैभन्दा जेठा १४ वर्षका थिए । 

टेलिभिजन फुटेजमा उद्धारकर्मीहरूले भग्नावशेषभित्र खाली हातले खोतल्दै र रगतले लतपतिएका बालबालिकाहरूलाई एम्बुलेन्ससम्म पुर्याउँदै गरेको देखिन्थ्यो । विद्यालय रहेको साँघुरो गल्लीमा स्थानीय बासिन्दाहरूको भिड लागेको थियो ।

एक उद्धार अधिकारीका अनुसार, माथिल्लो तलाको छाना तलका कक्षाकोठाहरूमा खस्दा भवनका दुई तलाहरू भत्किन पुग्यो । घटनाको केही घण्टापछि उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेका सबैलाई बाहिर निकालिएको जानकारी दिए । 

आपत्कालीन सेवाका प्रवक्ता बिलाल फैजीका अनुसार उद्धार कार्य छिटो हुँदा कम्तीमा ४० जनाको ज्यान बच्नसकेको बताए । पेसाबरका प्रहरी प्रमुख सइद अहमदले विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जानकारी दिए । उनले भवनको संरचना नै कमजोर रहेको बताए । 

सुझावित समाचार