बेइजिङ/ पूर्वी चीनको एउटा अदालतले म्यानमारमा स्क्याम सेन्टरको सञ्जाल सञ्चालन गरेको अभियोगमा तीनजना चिनियाँ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । मंगलबार जारी विज्ञप्तिमा, दक्षिण–पूर्वी फुजियान प्रान्तको ‘क्वान्झोउ इन्टरमिडिएट पिपुल्स कोर्ट’ले ‘वेई परिवार’ नामक आपराधिक गिरोहमा संलग्न रहेका भन्दै वेई हुआइरेन, चेन दाबेई र लियाओ जिङफाङलाई मृत्युदण्ड सजाय सुनाएको जनाएको छ ।
उक्त गिरोह लागुऔषध ओसारपसार, संगठित वेश्यावृत्ति, अवैध क्यासिनो सञ्चालन, दूरसञ्चार ठगी र कम्तीमा दुई चिनियाँ नागरिकको हत्यालगायतका अपराधमा संलग्न थियो । अदालतका अनुसार मृत्युदण्ड दिइएका तीनमध्ये एकजना वेई समूहका नाइकेहरूमध्ये एक थिए । उनलाई हत्यालगायतका विभिन्न अपराधमा दोषी ठहर गरिएको थियो ।थप तीन सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको छ भने ५५ जनालाई तीन वर्षदेखि २४ वर्षसम्मको जेल सजाय दिइएको छ ।
चीनको सरकारी प्रसारण संस्था सिसिटिभीले मंगलबार प्रसारण गरेको एक समाचारमा ‘वेई परिवार’ गिरोहबारे जानकारी दिँदै उनीहरूले १४ वटा ‘ठुल्ठुला’ कम्पाउन्ड चलाउने गरेको बताइएको छ । उच्च तलबको प्रलोभन देखाएर ‘हजारौँ’ चिनियाँ नागरिकहरू म्यानमार पुर्याइने गरेको पनि अदालत पनि उल्लेख गरेको छ ।