प्रशिक्षक भिसेन्जो अल्बेर्टो अनेसले म्यानम्यानरविरुद्धको दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा सात नयाँ खेलाडीलाई स्थान दिएका छन् । अधिकांश सिनियर खेलाडी विदेश पलायन भएपछि प्रशिक्षक भिसेन्जोले मैत्रीपूर्ण खेलका लागि नयाँ सात खेलाडीलाई मौका दिन लागेका हुन् । उनले सोमबार २३ सदस्यीय टोली घोषणा गर्दा दुई डेब्यु गर्न बाँकी रहेका खेलाडीलाई पुनरागमन गराएका छन् ।
नयाँ खेलाडीमा जावलाखेल युथका रक्षक छिरिङ लामा, मनाङ मस्र्याङ्दीका आशिष गुरुङ र नेपाल पुलिसका अन्जन राई छन् । मच्छिन्द्र फुटबलका मिडफिल्डर उत्सव राई, त्रिभुवन आर्मीका दिनेश हेन्जन र जिलेस्पीजंग कार्की र जावलाखेल युथका हिसुब थपलियाले टोलीमा स्थान बनाएका छन् ।
यसैगरी, सातदोबाटो युथका गोलरक्षक अभिषेक बराल र न्युरोड टिम (एनआरटी)का मिडफिल्डर कृतिशरत्न छुन्जुले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ । गोलरक्षक अभिषेकले प्रधानमन्त्री कप त्रिदेशीय प्रतियोगिताको टोलीमा स्थान बनाए । प्रशिक्षक भिसेन्जोले लाओस र भुटानविरुद्ध अभिषेकलाई डेब्यु गराएनन् । दक्षिण अफ्रिकी राष्ट्र मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा तत्कालीन प्रशिक्षक अब्दुला अलमुताइरीले कृतिशलाई राष्ट्रिय टोलीमा स्थान दिएका थिए । यद्यपि, उनले खेल्न पाएनन् ।
थाइल्यान्डमै किरण, मनीष र रोहित जोडिने
नेपालले म्यानमारको यांगुनमा ८ र ११ सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली मंगलबार राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल मलेसिया ट्रान्जिट पारेर यांगुन पुग्नेछ । कप्तान किरणकुमार लिम्बू, मिडफिल्डर मनीष डाँगी र रक्षक रोहित चन्द सीधै म्यानमारमै टोलीसँग जोडिनेछन् । किरण भारतको एफसी पञ्जाब, मनीष थाइल्यान्डको रायोङ तथा रोहित इन्डोनेसियाको पर्सिक क्लबमा आबद्ध छन् । नेपालले अक्टोबर दोस्रो साता फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा प्रवेशको खेलमा लाओससँग होम एन्ड अवेअनुसार प्लेअफ खेल्दै छ । सोही प्रतियोगिताअघि टोलीले तयारीस्वरूप फिफा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
विमलसहित १० खेलाडी बाहिर
गत जुनमा बेंग्लोरमा भएको साफ च्याम्पियनसिप खेलेका १० खेलाडी आइतबार घोषणा भएको टोलीबाट बाहिर परेका छन् । यसमध्ये तीन खेलाडी विदेश पलायन भएका छन् । सन् २०११ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका स्ट्राइकर विमल घर्तीमगर पनि बाहिर रहे । म्यानमारविरुद्ध खेलका लागि लक्षित अभ्यासमा विमल सहभागी नै भएनन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रशिक्षणमा समावेश नभएको नयाँ पत्रिकालाई बताएका छन् ।
विमलले अघिल्लो साता मात्रै प्रेमिका लिना प्रधानसँग विवाह गरेका थिए । साफ खेलेको टोलीबाट विमलसँगै निशान खड्का, पूजन उपरकोटी, दीपकराजसिंह ठकुरी, नवीन लामा, देवेन्द्र तामाङ, विमल पाण्डे, सीमन्त थापा, विशाल श्रेष्ठ र मणिकुमार लामा बाहिर छन् । रक्षक निशान, डिफेन्सिभ मिडफिल्डर पूजन र स्ट्राइकर दीपकराज सिंह अस्ट्रेलिया पुगेका छन् । साफ खेलेको टोलीबाट कप्तान किरण, रोहित र मनीषसहित दीप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ, एरिक विष्ट, लाकेन लिम्बू, आवास लामिछाने, आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट तथा आशिष चौधरीले निरन्तरता पाएका छन् ।
म्यानमारविरुद्ध खेल्ने अन्तिम टोली
गोलरक्षक : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, अभिषेक बराल
रक्षक : सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राई
मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जू,
उत्सव राई
स्ट्राइकर : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया