साइकल चलाउनुका धेरै फाइदा छन् । यसले मानसिक तथा शारीरिक रूपमा स्वस्थ राख्छ । रमाइलो महसुस गराउँछ । फिट रहन सहयोग गर्छ । साइक्लिङ गर्दा इन्धनमा पैसा पनि खर्चनुपर्दैन । त्यसैले साइकलका पारखीले जुनसुकै मौसममा पनि साइक्लिङ गर्दा हुन्छ । तर, वर्षात्को समय बाटो हिलो र चिप्लो हुने भएकाले केही कुराको ख्याल अवश्य गर्नुपर्छ ।
- जुनसुकै मौसममा पनि साइक्लिङ गर्न रमाइलो हुन्छ । तर, यात्रामा निस्कनुअघि साइकलको कन्डिसन अनिवार्य चेकजाँच गर्नुपर्छ ।
- पानी पर्दा बाटोको अवस्था राम्रो हुँदैन । खाल्टोमा साइकल कुदाउँदा साइकल बिग्रिन सक्ने भएकाले यसको मर्मतका लागि आवश्यक पर्ने आधारभूत औजारहरू झोलामा बोक्नु राम्रो हुन्छ ।
- वर्षाको समय रेनकोट अनिवार्य बोक्नुपर्छ ।
- बाटो चिप्लो हुने भएकाले ओरालो सडकमा दुर्घटना हुन सक्छ । यतिवेला विशेष सतर्क हुनुपर्छ । धेरै स्पिडमा कुदाउनुहुँदैन ।
- पानी जमेको स्थानमा सकेसम्म साइकल कुदाउनुहुँदैन । खाल्डाखुल्डी हुन सक्छ र समस्या आउन सक्छ । त्यसैले यस्तो स्थानमा पुगेपछि साइकल बोकेर फुटपाथबाटै हिँड्नु राम्रो हुन्छ ।
- सिकारुले वर्षाको समयमा साइक्लिङ नगर्दा नै राम्रो हुन्छ । तर, एड्भेन्चर साइक्लिङ गर्न रुचाउनेले वर्षात्को समय पनि पानीमा रुझ्दै साइकल कुदाउने गरेका छन् । किनकि, उनीहरूलाई ओरालो र चिप्लो बाटोमा साइकल कुदाउने बानी परिसकेको हुन्छ । यदि तपाईं एड्भेन्चर साइक्लिङ गर्न चाहनुहुन्छ भने होम ट्रेनर राखेर इन्डोर साइक्लिङ प्रशिक्षण लिन सक्नुहुन्छ । जसले गर्दा साइक्लिङ र सुरक्षासम्बन्धी पर्याप्त ज्ञान आर्जन गर्न सकिन्छ ।
- नर्मल साइकललाई अफरोडमा लैजानुहुँदैन । अफरोडमा जानुपर्दा माउन्टेन बाइक नै लैजानु राम्रो हुन्छ ।
- साइकल चलाउँदा हेल्मेट, हात नचिप्लिने पन्जालगायत सेफ्टी साधन अनिवार्य प्रयोग गर्नुपर्छ ।
- बजारमा विभिन्न किसिमका साइकल पाइन्छन् । तर, आफ्नो क्षमताअनुसार हलुका खालको साइलक छनोट गर्दा हुन्छ ।