हिजोआज धार्मिक तथा सामाजिक समारोहहरूको आयोजना पार्टी प्यालेस, होटेल तथा रिसोर्टमा गर्ने क्रम बढ्दो छ । जहाँ प्रवेशद्वारलाई विभिन्न फूलले सजाएर अतिथिको स्वागत गरिन्छ ।
विवाह, व्रतबन्ध, पास्नी, गुन्यु–चोलीलगायतको शुभकार्यमा हाँगासहितका फूलले प्रवेशद्वार, सभाकक्ष, भर्याङ, बैठकलगायत सिँगार्ने गरिएको छ । पार्टी प्यालेस मात्रै नभएर हिजोआज घरलाई पनि विशेष अवसरमा कट फ्लावरले सिँगार्ने गरिन्छ । रंगिचंगी फूलहरूको संयोजनले विवाह पार्टी वा विशेष समारोहको हललाई आकर्षक बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
नेपाल फ्लावर एन्ड डेकोरका सञ्चालक जोन बुढाथोकी कट फ्लावर प्रयोग गर्नेको संख्या बढ्दो रहेकोे बताउँछन् । उनी भन्छन्, ‘घरमा मात्रै नभएर विवाहको रिसेप्सन गेट, विवाह मण्डप, मेहदी पार्टी विभिन्न ठाउँमा यसको प्रयोग हुन्छ । विभिन्न डिजाइनका आकर्षक कट फ्लावर डिजाइन बनाइन्छ । मौसमअनुसारका फूल प्रयोग गरेर कट
फ्लावरले घर सजाउने चलन छ । यसमा लामो समयसम्म टिक्ने फूल तथा बिरुवा प्रयोग गरिएको हुन्छ ।’ फूलले वातावरण मनमोहक र सुगन्धित बनाउने भएकाले घरको बैठक कोठा, विवाह समारोह तथा विशेष सभाकक्ष तथा प्रवेशद्वारमा कट फ्लावर राख्ने गरिएको उनले बताए ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान)का सचिव हिरामणि शर्मा पछिल्लो पाँच वर्षयता कट फ्लावर (फूल सजाउने) चलन ह्वात्तै बढेको बताउँछन् । शर्मा भन्छन्, ‘कुनै पनि भोज वा पार्टीमा सभाहलमा हाँगासहितको काटेको फूल (कट फ्लावर) सजाउने ट्रेन्ड बढेको छ । फूलको सजावटले समारोहलाई सुन्दर बनाउन सहयोग गर्छ ।’
कट फ्लावरमा प्रयोग हुने ८० प्रतिशत सामग्री नेपालमै उत्पादन हुने गरेको उनले बताए । नेपालमा कार्नेसन, जर्बेरा, गोदावरी र गुलाफ कट फ्लावरका लागि प्रयोग हुने गरेको उनले बताए । हाइक्युब इभेन्ट एन्ड मिडिया प्रालिका प्रबन्ध निर्देशक विप्लव पौडेल पार्टीमा फूलको महत्व बढ्दै गइरहेको बताउँछन् । ‘तीन–चार वर्षअघिसम्म कुनै पनि समारोहमा फूललाई महत्व दिइँदैनथ्यो । भारतीय संस्कृतिको देखासिकीले गर्दा नेपालमा हरेक इभेन्टमा फूलको डेकोरेसन गर्ने संस्कृति भित्रिएको हो,’ उनले भने ।