बालबालिकालाई हाँडे रोगबाट जोगाउन के गर्ने ?

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

हाँडे रोगलाई गल्फुलो वा मम्पस पनि भनिन्छ । यो पारमिक्जो भाइरसबाट सर्ने संक्रमण हो । यो भाइरसको संक्रमण विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ । कानको फेदमा अर्थात् च्यापुका दुवैपट्टि वा एकापट्टि मात्र सुन्निनुलाई हाँडे भनिन्छ ।

कसरी हुन्छ ?
हाम्रो दुवै गालाको तल्लो भागमा प्यारोटिड ग्रन्थि रहेको हुन्छ । मम्पस भाइरसको संक्रमणका कारण उक्त ग्रन्थि सुन्निने र दुख्ने हुन्छ, जसलाई हामी हाँडे भन्छौँ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । 

सतर्कता 
सरुवा रोग भएकाले यसबाट बच्न विशेष सतर्क हुनुपर्छ । यो रोग लागेका मानिले सास फेर्दा, खोक्दा वा हाच्छ्युँ गर्दा हावाका माध्यमबाट अन्य व्यक्तिमा सीधै मम्पस भाइरस सर्न सक्छ । 

बिरामीसँगको सम्पर्कबाट सीधै मम्पस भाइरस सर्ने गर्दछ । भाइरसको संक्रमण भएको केही दिनपछि मात्रै यो रोगका लक्षण देखा पर्छन् । तर, संक्रमण भएर लक्षण नदेखिएका व्यक्तिबाट पनि यो रोग अन्यलाई सर्न सक्छ । मुख्यतः यो रोग दुईदेखि १२ वर्षमुनिका बालबालिकामा देखिने सम्भावना धेरै हुन्छ । 

लक्षण
- ज्वरो आउने, टाउको दुख्ने
- रुघा/खोकी लाग्नु
- हाडजोर्नी दुख्नु
- थकान महसुस हुनु
- शरीर दुख्नु
- खान मन नलाग्नु
- गालाको एकातिरको वा दुवैतिरको प्यारोटिड ग्रन्थि सुन्निने र दुख्ने, कान दुख्ने 
- बोल्ने वेलामा समेत अप्ठ्यारो महसुस हुने
- खाना चपाउन अप्ठ्यारो हुने
- चिउँडो/गालाको एकातिर वा दुवैतिर सुन्निनु वा दुख्नु
- थप यस्ता जटिलता आउन सक्छन्
- अचेत हुने, बेहोस हुने
- धेरै पेट दुख्ने र बान्ता हुने
- अण्डकोष सुन्निने
- कान दुख्ने वा सुन्ने क्षमता कमजोर हुने

के गर्ने ?
- ज्वरो आउने, टाउको दुख्ने, खाना चपाउन गाह्रो हुनेलगायत लक्षण देखिएपछि चिकित्सकसँग परामर्श गर्ने र औषधि उपचार थाल्ने । 
- मनतातो पानीमा नुन राखेर कुला गर्ने ।
- चिसो खानेकुरा नखाने ।
- चपाउने, साह्रो खानेकुरा नखाने, झोलिलो खानेकुरा खाने ।
- आराम गर्ने ।
- सरसफाइमा ध्यान दिने ।
- हाँडे रोगबाट संक्रमित बालबालिकालाई विद्यालय नपठाउने । 
- थप समस्या देखिएका चिकित्सकको सल्लाहबमोजिम औषधि उपचार गर्ने ।

रोकथाम र उपचार 
- समुदाय तथा विद्यालयमा धेरैजनामा हाँडे देखिएमा यस रोगविरुद्धको खोप लगाउन सकिन्छ । यस खोप एक महिनाको फरकमा दुई डोज लगाइन्छ । लक्षण देखिसकेपछि बिरामी अन्य व्यक्तिको सम्पर्कमा जानुहुँदैन । 
- व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । साबुनपानीले हात धुनुपर्छ । हाँडेका लक्षण देखिएको शंका लागेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

सुझावित समाचार