प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) मस्तिष्कसम्बन्धी एउटा जटिल रोग हो । यो रोग लागेपछि निको हुँदैन । मस्तिष्कको स्नायु सुक्दै जान्छ । सामान्यतया ६० वर्ष कटेका मानिसमा यो रोग देखिन्छ । कसै–कसैलाई ४५ वर्षको उमेरमा पनि यो रोग लाग्न सक्छ । यो रोग बिस्तारै–बिस्तारै बढ्दै जान्छ र केही वर्षमै बिरामीको ज्यान जाने गरेको पाइन्छ ।
लक्षण
रोग लागेपछि सुरुमा निराशा देखिने, हिँड्न गाह्रो हुने हुन्छ । हिँड्दा लडिएलाजस्तो हुन्छ । बिस्तारै खाना निल्न र हिँडडुल गर्न नसक्ने हुन्छ । त्यसपछि ह्विलचेयर वा लौरोको सहायता लिनुपर्ने हुन्छ । रोग बढ्दै जाँदा बस्न गाह्रो हुन्छ, बेडमा सुतिरहनुपर्ने अवस्था आउँछ । यो रोग बिस्तारै–बिस्तारै बढ्दै जान्छ । बिरामीलाई निल्न नसक्ने समस्या हुन्छ । कसै–कसैलाई निद्रा नलाग्ने, टाउको बांगिने हुन्छ ।
त्यसैगरी, स्मरणशक्ति हराउँदै जाने, बोल्न कठिन हुने, सुरुमा तल अथवा माथि हेर्न गाह्रो हुन्छ । तल–माथि हेर्न गाह्रो हुँदा भर्याङ चढ्न गाह्रो हुने हुन्छ । यो रोगले आफैँ ज्यान लिँदैन, तर हिँडडुल गर्न नसक्ने, शारीरिक कसरत नहुने अवस्थामा पुर्याउँछ । शरीरमा विभिन्न किसिमको इन्फेक्सन, पिसाबको इन्फेक्सन, खुट्टाको नलीमा रगत जम्ने, सास फेर्न गाह्रो हुनेलगायत समस्या देखिन्छन् । त्यसको केही वर्षमा मानिसको ज्यान जान सक्छ ।
यो रोग लागेपछि मस्तिष्कमा स्नायु सुक्दै, बिग्रँदै जान्छ । तर, के कारणले सुक्दै र बिग्रँदै जान्छ भनेर मेडिकल साइन्सले पनि पत्ता लगाउन सकेको छैन । यो रोग पार्किन्सन्स डिजिजसँग मेल खान्छ । पार्किन्सन्स डिजिजमा औषधि खाँदा बिरामीले सहज भएको महसुस गर्छन् । तर, पिएसपी भएका बिरामीले सहज महसुस भएको पाइएको छैन । रोग सुरुमै पत्ता लगाउन वा रोग बढ्न नदिनका लागि पनि कुनै औषधि हालसम्म पत्ता लागेको छैन ।
स्याहार
- रोग लागेको शंका लाग्नासाथ न्युरोलोजिस्ट चिकित्सकसँग परामर्श गर्नुपर्छ । पार्किन्सन्स रोगसँग लक्षण मिल्दोजुल्दो हुने भएकाले चिकित्सकलाई पनि यो रोग पत्ता लगाउन गाह्रो पर्छ । मस्तिष्कको स्क्यान गरेर मात्र यो रोग पत्ता लगाउन सकिन्छ ।
- रोगबारे परिवारको सदस्यले बुझ्ने र बिरामीलाई सहयोग गर्ने । हौसला दिने ।
- भर्याङ तल–माथि गर्दा, हिँडडुल गर्दा ध्यान दिने । हेर्न सजिलो होस् भनी चस्मा लगाइदिने ।
- निल्न गाह्रो हुँदा नाकबाट, पेटमा प्वाल पारी पाइप हालेर खान खुवाउन सकिन्छ ।
- न्युरोलोजिस्ट चिकित्सकको परामर्शअनुसार बिरामीलाई आवश्यक स्याहार गर्नुपर्छ ।