रुसका राष्ट्रपति पुटिन ब्रिक्स सम्मेलनमा सहभागी नहुने

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन्। पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ।

रुसी नेतालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी जारी गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) सदस्यको रूपमा प्रिटोरियाले पुटिनले देशमा पाइला टेकेको खण्डमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको थियो।

राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ता भिन्सेन्ट माग्वेन्याले भने, ‘आपसी सहमतिअनुसार रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिन शिखर सम्मेलनमा सहभागी हुनुहुनेछैन, तर रुसी महासंघको प्रतिनिधित्व विदेशमन्त्री सर्गेइ लाभरोभले गर्नुहुनेछ।’

रामाफोसाले हालैका महिनाहरूमा गरेको ‘धेरै परामर्शहरू’ पछि यो निर्णय लिइएको जिकिर गरे। दक्षिण अफ्रिका ब्रिक्स समूहको वर्तमान अध्यक्ष हो। जसमा ब्राजिल, रुस, भारत र चीन पनि सामेल छन्। यसले आफूलाई पश्चिमी आर्थिक प्रभुत्वको प्रतिरोध शक्तिको रूपमा हेर्छ।

अगस्ट २२ देखि २४ सम्म जोहान्सबर्गमा हुने ब्रिक्स शिखर सम्मेलनका लागि पुटिनलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको थियो, तर पुटिनलाई सहभागी नगर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय दबाब प्रिटोरियालाई परेको छ। 

रुसले गैरकानुनी रूपमा युक्रेनी बालबालिकालाई देश निकाला गरेको आरोप लगाउँदै आइसिसीले पुटिनलाई खोजीको सूचीमा समावेश गरेको छ। (एएफपीकाे सहयाेगमा)

सुझावित समाचार