कराँते उच्च एरोबिक अभ्यास हो । यसले मानिसको स्टामिना बढाउने, मांसपेशी लचक बनाउने, शरीर सन्तुलित र संयोजित राख्ने काम गर्छ । कराँतेका सबै विधाले मानिसलाई फिट, स्मार्ट र आत्मविश्वासी बनाउँछ । क्योकुसिन कराँते फुल कन्ट्याक्ट कराँते हो ।
त्यसैले समग्र शरीरको अभ्यासका लागि यो निकै महत्वपूर्ण छ । क्योकुसिन कराँतेको आधारभूत तालिम लिएका खेलाडीले किक–बक्सिङ, के वान, बक्सिङ, मुवाँथाईलगायतका अन्य विधाका मार्सल आर्टस्मा पनि उत्कृष्ट र कलात्मक प्रदर्शन गर्ने गरेका छन् । किनकि, क्योकुसिनको आधारभूत नियम अति नै ‘टफ’ छ । यसले पीडा सहने शक्ति पनि विकास गर्छ ।

कतिपय मानिसले यो डरलाग्दो कराँते हो पनि भन्ने गरेका छन् । मान्छेको हातखुट्टा नै भाँचिन्छ पनि भन्छन् । तर, टफ भए पनि यो असुरक्षित छैन । निकै अनुशासनमा बसेर प्रशिक्षकको निगरानीमा यो अभ्यास गरिन्छ । उमेरको पनि कुनै हद छैन । साना बालबालिकादेखि वयस्कसम्मले यसको अभ्यास गर्न सक्छन् । क्योकुसिन खेलेपछि अन्य शारीरिक व्यायाम गर्न जरुरी पर्दैन । यस खेलमा कराउने, किक हान्ने र पन्च गर्ने कुराको विशेष महत्व छ । यस्तो गर्दा समग्र शरीर ऊर्जाशील भइरहेको हुन्छ । तनाव कम भएर जान्छ ।
होलबडी अभ्यास हुने भएकाले क्यालोरी अत्यधिक बर्न हुन्छ र तौल नियन्त्रणमा रहन्छ । आत्मरक्षाको कला सिकेपछि आत्मविश्वास आफैँ बढेर जान्छ । लक्ष्य निर्धारण गर्ने, सकारात्मक कुरामा प्रेरित हुने, गुरु तथा अग्रजलाई सम्मान गर्ने मान्यता क्योकुसिन कराँते कार्यक्रममा समावेश हुन्छन् । दैनिक रूपमा क्योकुसिन खेल्नाले फिटनेस कायम राख्न र रोगबाट टाढा रहन सहयोग मिल्छ ।