जनप्रतिनिधिको तलबबाट खेलाडीलाई सुविधा

रुपन्देहीका जनप्रतिनिधिले गरे आफ्नो तलबबाट खेलाडीको मासिक पारिश्रमिकमा सहयोग गर्ने घोषणा

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

रुपन्देही क्रिकेट संघले खेलाडी कल्याणकारी कोष स्थापन्ना गरी १० राष्ट्रिय खेलाडीलाई मासिक तलब दिने व्यवस्था गरेको छ । रुपन्देहीका विभिन्न क्षेत्रका जनप्रतिनिधिहरूले आफ्नो तलबबाट खेलाडीको मासिक पारिश्रमिकमा सहयोग गर्ने घोषणा गरेका छन् ।

खेलाडीलाई मासिक तलब दिने रुपन्देही पहिलो जिल्ला क्रिकेट संघ बनेको छ । संघका अध्यक्ष हरिबहादुर थापाले बुबाको स्मृतिमा एक लाख रुपैयाँ कल्याणकारी कोष स्थापना गरी खेलाडीलाई सुविधा प्रदानको सुरु गरेका हुन् । नेपालमा क्रिकेट र फुटबलमा आबद्ध राष्ट्रिय खेलाडीले मात्र सम्बन्धित केन्द्रीय संघबाट मासिक पारिश्रमिक लिन्छन् ।

खेलाडीले आफू आबद्ध जिल्ला संघबाट मासिक रूपमा पारिश्रमिक पाउन लागेको यो नै पहिलोपटक हो । रुपन्देहीका पुरुष यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल, कृष्ण कार्की, स्पिनर अनिल खरेल, युवा तीव्र गतिका बलर दुर्गेश गुप्ता, यू–१६ का सन्तोष यादव र सागर गैरेले रुपन्देही जिल्ला क्रिकेट संघबाट पारिश्रमिक लिनेछन् । संघले महिला क्रिकेट टोलीकी सदस्य कृतिका मरासिनी, आस्मा पुलामी मगर र सुस्मिता भुसाललाई पनि सोही सुविधा प्रदान गर्ने जनाएको छ । सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले क्रिकेट खेल र खेलाडीको विकासका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘रुपन्देही क्रिकेट खेलका लागि उर्वरभूमि भएकाले यसको विकास र संरक्षणका लागि राज्यस्तरबाट पनि पर्याप्त सहयोग पाउनुपर्छ,’ घिमिरेले भने । संघका सचिव सञ्जय गुरुङले कल्याण कोषको स्थापनापछि खेलाडीलाई आर्थिक रूपमा सबल बनाउने प्रयास भएको बताए । उनले कोषबाट घाइते र विपन्न खेलाडीलाई पनि सहयोग गर्ने बताएका छन् । ‘हामीले स्थापना गरेको कोषले भविष्यमा ठूलो आकार लिनेछ,’ गुरुङले भने, ‘यो एउटा सानो प्रयासमा मात्र हो, कोष खडा गर्न रुपन्देहीवासीको ठूलो हात छ ।’

वडा २ का अध्यक्ष जनार्दन यादवले चार वर्षसम्म मासिक १० हजार कल्याणकारी कोषमा रकम जम्मा गर्ने जानकारी दिएका छन् । यसैगरी, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पनि कल्याणकारी कोषमा २५ हजार रुपैयाँ प्रदान गर्ने भएकी छिन् । लुम्बिनी नेत्रालयसँग खेलाडीको उपचारमा ५० प्रतिशत छुट गर्ने विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सियारी गाउँपालिकाका वडा १ का अध्यक्ष अरुणकुमार शाहीले आफ्नो कार्यकालभरि नै खेलाडीलाई दिइने मासिक तलबमा प्रतिमहिना २६ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

मासिक पाँच हजार रुपैयाँ
संघले १० खेलाडीलाई मासिक पाँच हजार पारिश्रमिक दिनेछ । सिनियर टोली, यू–१९ र यू–१६ का समान दुई खेलाडीले मासिक पाँच हजार रुपैयाँ थाप्ने संघले जनाएको छ । यसैगरी, तीन राष्ट्रिय महिला खेलाडीले पनि यसै महिनादेखि मासिक पाँच हजार रुपैयाँ पाउनेछन् । ‘नेपालको क्रिकेट विकासमा रुपन्देहीको योगदान बृहत् छ, यस क्षेत्रलाई क्रिकेटको उर्वर भूमिका रूपमा पनि लिने गरिन्छ, यहाँ घरेलु प्रतियोगिता सर्वाधिक हुन्छ,’ सचिव गुरुङले भने । 

संघको आगामी लक्ष्य भनेको सिद्धार्थ रंगशालालाई २०८२ सम्म आइसिसीको एकदिवसीय मान्यताप्राप्त खेल गराउने नै हो । ‘हामीले अबको दुई वर्षभित्र सिद्धार्थ रंगशालामा एकदिवसीय खेल आयोजना गर्ने लक्ष्य राखेका छौँ,’ गुरुङले भने, ‘रुपन्देहीको यस कार्यबाट थप अन्य जिल्लासमेत प्रभावित हुने विश्वास छ ।’ 

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहले क्रिकेट विकासका लागि खेलाडीहरूको प्रोत्साहन आवश्यक रहेको बताए । रुपन्देहीले कल्याणकारी कोष खडा गरी खेलाडीलाई मासिक तलब प्रदान गर्दा आफू निकै खुसी भएको सिंहले बताए । क्यानका सदस्य प्रशान्त विक्रम मल्लले कल्याणकारी कोषले खेलाडीलाई आर्थिक रूपमा समस्या नपर्ने बताए । 

क्रिकेटको बलियो आधार सुपर लिग 
क्रिकेटमा रुपन्देही जिल्ला सर्वाधिक बलियो हुनुको पछाडि यहाँ नियमित रूपमा सञ्चालन भइरहेको सुपर लिग नै हो । यहाँ २०५३ देखि रुपन्देही सुपर लिग भइरहेको छ । नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान आइसिसीद्वारा निलम्बनमा परेका वेला पनि रुपन्देही सुपर लिग सञ्चालितमा थियो । 

रुपन्देही क्रिकेट संघले सुपर लिगमा ‘ए’ र ‘बी’ डिभिजन गरी सञ्चालन गरिरहेको छ । दुवै लिगमा गरी २० क्लब छन् । बी डिभिजन सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने चार टोली माथिल्लो डिभिजनमा बढुवा हुनेछन् । शीर्ष लिगमा कमजोर प्रदर्शन गर्ने टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । लगातार सुपर लिगका कारण नै रुपन्देहीमा प्रतिभाशाली खेलाडी देखिएका छन् । 

सुझावित समाचार