शारीरिक तथा मानसिक विकासमा साइक्लिङले ठूलो भूमिका खेल्छ । साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । यसले जोर्नीमा लचकता ल्याउँछ ।
कुनै वेला साइकल आवश्यकता थियो, तर हिजोआज स्वास्थ्य र सोखको साधन बनेको छ । विशेष गरी सहरी क्षेत्रमा एक्सरसाइजका लागि साइकल प्रयोग गर्ने जमात बढ्दो छ । काठमाडौं बानेश्वरस्थित सिटी साइकलका सञ्चालक रोशन गिरी पछिल्लो समय साइकल किन्ने युवाको संख्या बढेको बताउँछन् । उनी भन्छन्, ‘मेरा अधिकांश ग्राहक स्कुल र कलेज पढ्ने विद्यार्थी हुन् । सहरिया युवा साइकलमा घुम्न जाने लहर चलेको छ ।’
पञ्च अष्टनारायण साइकलका प्रबन्ध निर्देशक तिरेक मानन्धर दैनिक प्रयोजनका लागि भन्दा पनि स्वास्थ्यका लागि साइकल प्रयोग गर्ने जमात बढेको बताउँछन् । उनी भन्छन्, ‘अहिले धेरैको घरमा कार र मोटरसाइकल हुन्छ । त्यससँगै उनीहरूले साइकल पनि राख्छन् । धेरैले साइकलको प्रयोग एक्सरसाइजका लागि गर्ने गरेको पाइन्छ ।’ उनका अनुसार भाडामा माउन्टेन बाइक लिएर घुम्न निस्कनेहरूको संख्या पनि ठूलो छ । ‘साइक्लिङ साहसिक खेल पनि हो । यसले पर्यटन प्रवद्र्धनमा सहयोग गर्छ,’ उनले भने ।
दैनिक प्रयोजन र ट्रेकिङका लागि फरक–फरक साइकल प्रयोग हुने उनले बताए । उनी थप्छन्, ‘अहिले तीन र चार लेभलको साइकल धेरैको रोजाइमा छ । नेपालमा लेभलअनुसार साइकलको मूल्य निर्धारण हुन्छ । एकदेखि सात लेभलसम्मका साइकल पाइन्छन् । लेभल चार र पाँचका साइकललाई पक्की बाटो चाहिँदैन, भीरपाखा, उकालो–ओरालो र सिंगल ट्र्याकमा पनि चलाउन सकिन्छ,’ उनले भने ।
लेभल एकलाई ८ देखि २० हजार, लेभल दुईलाई १५ देखि ३० हजार, लेभल तीनलाई २५ देखि ६० हजार, लेभल चारलाई ५० देखि एक लाखसम्म, लेभल पाँचलाई एक लाखभन्दा माथि, लेभल ६ लाई दुई लाखमाथि र लेभल सातलाई तीन लाखमाथि मूल्य पर्ने मानन्धरले बताए ।
ललितपुरका ट्रेल बाइक साइकल स्टेसनका सञ्चालक प्रकाश गुप्ता स्वास्थ्यप्रति सचेत युवापुस्ताको आकर्षण साइक्लिङमा बढ्दै गएको बताउँछन् । उनी भन्छन्, ‘माउन्टेन ट्रेकिङ तथा साइक्लिङ गर्नका लागि साइकल फरक–फरक हुन्छन् । ग्राहकको चाहनाअनुसार फरक–फरक मोडेलका साइकल पाइन्छन् । हिजोआज स्वास्थ्यप्रति सचेत युवाको संख्या बढेकाले साइकल प्रयोग पनि बढेको छ ।’
नेपाली बजारमा पसलमा ठूला, मध्यम र साना साइकल पनि पाइने उनले बताए । साइक्लिङ खेलाडी हिमाल टमाटा स्वस्थ रहन सहयोग पुग्ने र रमाइलो पनि हुने भएकाले अचेलका सहरिया साइक्लिङमा आकर्षित हुन थालेको बताउँछन् । उनी भन्छन्, ‘डाँडापाखामा हुने साहसिक यात्राले पनि युवाको ध्यान तानेको छ । नयाँ ठाउँमा प्रकृति र विविध संस्कृतिसँग पनि घुलमिल हुन पाइन्छ । त्यसैले भाडामा माउन्टेन बाइक लिएर भए पनि घुमघाममा निस्कने चलन बढेको छ ।’ नगरकोट, ककनी, सुन्दरीजल, चम्पादेवी, चन्द्रागिरि, फुल्चोकी, लाँकुरी भञ्ज्याङ, बुढानीलकण्ठलगायत काठमाडौंआसपासका साइक्लिङ रुट धेरैका रोजाइमा रहेको उनले बताए ।
हाडजोर्नी विशेषज्ञ विप्लव सापकोटा साइक्लिङ गर्दा शरीरका लागि पर्याप्त एक्सरसाइज हुने बताउँछन् । ‘शारीरिक तथा मानसिक विकासमा साइक्लिङले ठूलो भूमिका खेल्छ । साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । यसले जोर्नीमा लचकता ल्याउँछ । मांसपेशी बलियो बनाउन मद्दत पुग्छ । साथै, साइकल चलाउँदा हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिछ,’ उनले भने ।
दैनिक साइक्लिङ गर्दा शरीरमा औसत एक हजार क्यालोरी खपत हुने उनले बताए । ‘साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि केही फरक पर्दैन । मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन, स्वतः तौल नियन्त्रण हुन्छ,’ उनले भने ।