राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ संगठनको गतिविधि बन्द गर्नुपर्ने बताएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शैक्षिक संस्थाहरूमा राजनीतिक दल र तिनका भ्रातृ संगठनका गतिविधिहरू बन्द हुनुपर्ने बताएका हुन्। माध्यमिक तहको विद्यालयमा दलहरूले गर्ने गतिविधि बन्द नभएमा त्यहाँ पनि विद्रोह हुने उनको चेतावनी छ।
‘हामी निर्वाचित भएका क्षेत्रका विद्यालयमा झन्डाहरूसहित नै राजनीतिक दलका भ्रातृ संगठनहरूले कार्यक्रमहरू गरेको भन्ने गुनासो आएको छ। त्यसलाई रोक्न खोज्दा त्यहाँ भ्रातृ संगठनले अभद्र व्यवहार गरेको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘अब माध्यमिक तहको विद्यालयमा राजनीतिक दलहरूले गर्ने गतिविधि बन्द भएन भने त्यहाँ पनि विद्रोह हुन्छ भन्ने कुराको चेतावनी दिन चाहन्छु। भ्रातृ संगठनहरूलाई राजनीतिक दलहरूले अहिले नै सुसंस्कृत तरिकाले सम्झाएर विद्यालयमा राजनीति बन्द गर भनेर अनुरोध पनि गर्न चाहन्छु।’