अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन सुरु गरेका छन्।
उनले शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चितकालका लागि आन्दोलन सुरु गरेका हुन्।
पुनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूका लागि केही नगरेकाले दबाबस्वरूप आन्दोलन गर्नुपरेको बताए।
पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउन आन्दोलन गर्नुपरेको उल्लेख गरे।
उनले नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य हुने बताए।
अर्थतन्त्र सुधारका लागि सरकारको प्रमुख प्राथमिकताका साथ अनुसन्धान, आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताए। उनले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताए।
उनले सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरूलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए।
यो क्षेत्रको विकासका लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयमा पुगेर सबै मन्त्री र नेताहरूगँग भेट्दासमेत केही गर्न नसकिएको बताए। पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दासमेत सरकारले नदेखेको आरोप लगाए।