संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, मदनकुमारी शाह प्रस्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा, प्रमिला कुमारी, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह, सुरेशकुमार आले मगर समर्थक भई सूचना गरेको सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अध्यागमन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभामा सभामुखले संसदीय सुनुवाइ समितिमा रहनुहुने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने, ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावको रघुजी पन्तले समर्थन गर्नेछन् ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।