ए डिभिजन लिगमा पुलिसको पाँचौँ हार

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल ०७९–८० मा पाँचौँ हार बेहोरेको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा पुलिस अर्काे विभागीय टोली एपिएफ क्लबसँग २–० ले पराजित भयो । एपिएफको जितमा हरि कार्की र सविन गुरुङले समान एक–एक गोल गरे । जारी लिगमा पुलिसले ६ खेल खेल्दा पाँच खेलमा हारको सामना गरेको छ । लगातार चार खेलमा पराजित भएको पुलिसले पाँचौँ खेलमा न्युरोड टिम (एनआरटी) लाई रोक्दै अंक बटुलेको थियो । 

चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, संकटा र मच्छिन्द्र क्लबसँग पराजित भएको थियो । एपिएफले तेस्रो जित निकाली ६ खेलबाट १० अंक जोडेको छ । एपिएफ पाँचौँ स्थानमा उक्लिएको छ । तीन विदेशी खेलाडी अनुबन्धित गरेको एपिएफ पुलिसविरुद्ध हावी  भएको थियो । 

विभागीय ड्रर्बीको पहिलो हाफमा पुलिस र एपिएफ गोलरहित बराबरी खेलेका थिए । ५८औँ मिनेटमा एपिएफले हरिको गोलमार्फत अग्रता बनायो । पुलिसका डिफन्डरको गल्तीको फाइदा उठाउँदै हरिले हेडगोल गरेका थिए । खेलको इन्जुरी समयमा काउन्टरमार्फत सविनले दोस्रो गोल गरे । तीन मिनेटअघि मैदान प्रवेश गरेका आभास लामिछानेले उत्कृष्ट काउन्टर पास उपलब्ध गराएका थिए । 

संकटाको दोस्रो जित
लिगमा संकटाले दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा उपाधि दाबेदार संकटाले खुमलटार युथलाई १–० ले पराजित ग¥यो । जितसँगै संकटाले ६ खेलबाट दुई जित र तीन बराबरसहित ९ अंक जोडेको छ । एक खेलमा हार बेहोरेको संकटा छैटौँ स्थानमा छ । खुमलटारको समान खेलबाट ६ अंक छ । खुमलटारले दुई खेल जित्दा चार खेलमा हारको सामना गरेको छ । संकटालाई जित दिलाउन विदेशी खेलाडी नायक बने । २७औँ मिनेटमा जुनियर ओन्गुनेले निर्णायक गोल गरेका थिए । त्यसअघि दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । 

भुटानी स्ट्राइकर चेन्चो मच्छिन्द्रमा 
भुटानी राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता चेन्चो ग्याल्सेन साबिक विजेता मच्छिन्द्र फुटबल क्लबसँग अनुबन्धित भएका छन् । सोमबार क्लबले एक कार्यक्रम आयोजना गर्दै चेन्चोलाई यस सिजनका लागि अनुबन्धित गरेको हो । मच्छिन्द्रका अध्यक्ष सुनील कपाली र चेन्चोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मच्छिन्द्रले लिगको छैटौँ चरणमा चेन्चोलाई अनुबन्ध गरेको हो । 

सुझावित समाचार