मादले बा । मालिका गाउँपालिका ७ का ८० वर्षीय प्रेमबहादुर नेपालीलाई धेरैले ‘मादले बा’ भन्छन् । मादल बनाउने सीप भएका उनले २० वर्षभन्दा लामो समय त्यसैबाट गुजारा चलाए । पछिल्लो दुई वर्षदेखि भने दाहिने आँखाले देख्न छाड्यो । छोरा–बुहारी छुट्टिएर बस्न थाले । दृष्टिविनाको बुढेसकाल निकै कष्टकर हुन थाल्यो । तर, बिहीबार उनको दिन फर्कियो।
गाउँपालिकाले चलाएको शिविरमा चिकित्सकले आँखाको अप्रेसन गरेपछि ज्योति मात्र फर्किएन्, बाँकी जीवन जिउने साहस पनि फर्कियो । ‘मैले गुमाएरको सुन्दर संसार फिर्ता पाएँ । उमेरले डाँडो काटे पनि अब केही गर्छु, हातमा सीप छ ।’ निःशुल्क सेवा पाएका उनी पालिकाप्रति कृतज्ञ देखिए।
मालिका गाउँपालिका– ७ का ६३ वर्षीय यमबहादुर दर्जीको दायाँ आँखा नचलेको चार वर्ष भयो । देब्रे आँखा पनि नदेख्ने भएपछि परिवारले भारत लगेर उपचार गरायो, तर दायाँ आँखाको ज्योति फर्किएन । थोरै आशा बोकेर श्रीमती मीनाकुमारीले गाउँपालिकाको शिविरमा पु¥याइन्। मोतियाबिन्दुको अप्रेसनपछि यमबहादुरको पनि ज्योति फर्कियो।
मालिका गाउँपालिका– ३ का वृद्धदम्पती ८० वर्षीया तुलसा विक र ७९ वर्षीय मनबहादुर विक दुवैले आँखा देख्दैनन् । परेला फर्किएकाले तुलसाको मोतियाबिन्दुको अप्रेसन सम्भव भएन । मनबहादुर भने अप्रेसनपछि आँखा देख्ने भए । अहिले परेलाको उपचार गरेर केही दिनमै तुलसाको पनि उपचार गरिने गाउँपालिकाले जनाएको छ ।
सरकारसँगै आँखाको ज्योति फर्कियो
मालिका गाउँपालिका सदरमुकाम र पूर्वाधार विकासका दृष्टिको दुर्गम मानिन्थ्यो । स्थानीय तह बनेपछि मालिका विकटबाट सबै क्षेत्रमा निकट बन्दै गएको छ । स्वास्थ्य क्षेत्रमा निकै उदाहरणीय काम गर्दै आएको छ । उपप्रमुख उपेन्द्र अर्यालले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको बताए।
उनले स्थानीय सरकार पहिले सिटामोल खान सदरमुकाम पुग्ने बाध्यताको स्मरण गर्दै जीवनमा स्वास्थ्य महत्वपूर्ण विषय भएकाले पालिकामा पूर्वाधार, औषधोपचार तथा उपकरण र सचेतनाका थुप्रै योजना रहेको अर्यालले सुनाए।
मालिकाले आँखा उपचारको क्षेत्रमा राम्रो काम गरेको छ। विभिन्न समयमा गरेर दुई सय ४४ जनाको निःशुल्क आँखाको ज्योति फर्काइदिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालका अनुसार टोल–टोलमा पुगेर निःशुल्क आँखाको परीक्षण, चस्मा वितरणसँगै मोतियाबिन्दुको समस्या भएकालाई अप्रेसनसहितको सेवा दिने गरिएको छ।
कोभिडका कारण केही वर्ष रोकिए पनि बर्सेनि आँखा उपचारसहितका शिविर गर्दै आएको भुसालले बताए । अहिले पनि वडास्तरमा एक हजार ६ सयभन्दा बढीको आँखा परीक्षण गरिएको छ । मालिका गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घासको प्राविधिक सहयोगमा निःशुल्क आँखा अप्रेसन शिविर सञ्चालन गरिएको थियो।
सचेत बनौँ, सचेतना जगाऔँ : डा. पुन
मालिका गाउँपालिकाले वडा–वडामा पुगेर आँखा परीक्षण गर्दा एक सय १२ जना मोतियाबिन्दुको समस्या भएका बिरामी भेटिए । पालिकाले २४ र २५ माघमा मोतियाबिन्दुको अप्रेसन राख्यो। तर, शिविरमा ६१ जना मात्रै उपस्थित भए । घरघरमै गाडी पठाएर निःशुल्क अप्रेसनको व्यवस्था गर्दा पनि कैयौँले सुविधा लिएनन् । यो उनीहरूको ठूलो अवसर भए पनि चेतना भएन।
गाउँ–गाउँमा सामुदायिक स्वास्थ्य सचेतनाको आवश्यकता रहेको पाल्पा लायन्स लाकौल आँखा अस्पतालका निर्देशक डा. सुचन पुनले बताए । विभिन्न कारणले आँखामा समस्या आउने भएकाले संवेदनशील र महत्वपूर्ण अंगका विषयमा आफू पनि सचेत रहेर समुदायमा सचेतना फैलाउन पुनले सबैलाई आग्रह गरे । पालिकाले आँखा उपचारको क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गर्दै नागरिकले सुविधाको भरपुर उपयोग गर्नुपर्ने बताए।
नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घासमा छ । त्यसबाहेक मुसिकोट नगरपालिका– ७ को वामी, चन्द्रकोट गाउँपालिका– ४ को शान्तिपुर र मालिका गाउँपालिका– ८ को सिमलटारीमा आँखा उपचार केन्द्र रहेका छन् । जिल्लाका पालिकाले संघसँग समन्वय गरेर आँखा उपचारमा सक्रियता देखाएका छन्।
नेपाल नेत्रज्योति संघले पालिकाहरूले आयोजना गर्ने शिविरमा सबै प्राविधिक सहयोग निःशुल्क गर्ने गरेको छ । केही ठाउँमा संघ आफैँले निःशुल्क शिविर आयोजना गर्ने गरेको नेपाल नेत्रज्योति संघ गुल्मीमा सभापति शेरबहादुर थापाले बताए। उनले पछिल्लो समय धेरै पालिकासँग समन्वय गरेर शिविर गर्दा धेरै नागरिकको मुहारमा खुसी ल्याउन सकिएको बताए।
नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घासका प्रमुख सूर्यबहादुर बस्नेतका अनुसार प्रत्येक महिनाको ११ र १२ गते नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टरले आँखाको अप्रेसन गर्दै आएको छ।
यो आर्थिक वर्षबाट गुल्मी दरबार, रेसुंगा, इस्मा गाउँपालिकाले जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टरमा आँखाको अप्रेसनको गर्ने बिरामीको उपचार खर्च व्यहोर्ने भएका छन् । यो सुविधासँगै अहिलेसम्म रेसुंगाका ५९, गुल्मी दरबारका २२ र इस्माका २१ जनाले आँखाको अप्रेसन गरेका छन् । बस्नेतका अनुसार मालिकाले भर्खरै सम्पन्न गरेको शिविरमा अप्रेसनको शुल्कसहितको प्राविधिक काममा करिब आठ लाखबराबरको सहयोग नेत्र ज्योति संघले गरेको छ।