कस्तो होला सन् २०२३ मा चीनको अर्थतन्त्र ?

संक्रमण विस्तारका कारण सन् २०२३ का सुरुवाती केही महिना चीनको अर्थतन्त्रका लागि उतारचढावपूर्ण हुनेछ

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

चीन तीन वर्ष लामो कोभिड आइसोलेसनबाट निस्किएर विश्वसँग पुनः घुलमिल हुन खोज्दै छ । लामो समयदेखि व्यवसायहरूको दम घोटिरहेको कठोर शून्य–कोभिड रणनीतिबाट हालैको बहिर्गमनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा ऊर्जाको प्रसार गर्ने अपेक्षा गरिएको छ । कोभिड लकडाउन तथा सीमा नियन्त्रणले चीनलाई बाँकी विश्वबाट विच्छेद बनाउँदै आपूर्ति शृंखला अवरुद्ध पारेको थियो भने व्यापार तथा लगानीको प्रवाहलाई क्षति पुर्याइरहेको थियो ।

 विश्व अर्थतन्त्रले ऊर्जा अभाव, वृद्धि सुस्ती तथा उच्च मुद्रास्फीतिलगायत चुनौती सामना गरिरहेको समयमा चीन खुल्दा त्यसले विश्वलाई अत्यावश्यक एवं सामयिक प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ । यद्यपि, अर्थशास्त्रीहरूका अनुसार शून्य कोभिड नीतिबाट बहिर्गमन चीनका लागि अनिश्चित र पीडादायी हुने सम्भावना छ । संक्रमण विस्तारका कारण सन् २०२३ का केही महिना अर्थतन्त्रका लागि उतारचढावपूर्ण हुनेछ । चीनको सम्पत्ति (घरजग्गा क्षेत्र) बजारमा आएको ऐतिहासिक गिरावट एवं सम्भावित विश्वव्यापी मन्दी नयाँ वर्षको थप टाउको दुखाइ हुन सक्छ ।

‘कोभिड प्रसारको सामना गर्ने चीनको तयारी एकदमै कमजोर रहेकाले अर्थतन्त्रले छोटो अवधिमा प्रगतिको सट्टा समस्याको सामना गर्ने सम्भावना छ,’ बोस्टनस्थित लगानी कम्पनी लुमिस सेल्स एन्ड कम्पनीका विज्ञ बो झुआङ भन्छन् । अभूतपूर्व आर्थिक नोक्सानी र चौतर्फी निराशाका बाबजुद चीन करिब तीन वर्ष भाइरसप्रति शून्य सहनशलीताको विधिमा अड्यो । यही कारण उसले सन् २०२२ मा वृद्धिमा तीव्र गिरावट, व्यवसायहरूको मुनाफामा कमीका साथै कीर्तिमानी स्तरको युवा बेरोजगारी साक्षात्कार गर्यो । 

बढ्दो सार्वजनिक अशान्ति तथा वित्तीय दबाबमाझ चीन सरकार शून्य–कोभिड नीति परित्याग गर्दै गत महिना अचानक मार्ग परिवर्तन गर्न बाध्य भयो । प्रतिबन्ध खोल्दा धेरैलाई राहत भए पनि शून्य नीतिमा आकस्मिक परिवर्तनले नागरिकहरू सुरक्षाकवचविहीन भएका छन् । ‘प्रतिबन्धहरू एकैपटक खोल्दा प्रारम्भिक चरणमा संक्रमणको छाल आउन सक्छ, त्यसले स्वास्थ्य सेवा प्रणालीलाई अस्तव्यस्त बनाउनुका साथै उपभोग तथा उत्पादनलाई पनि कमजोर बनाउन सक्छ,’ झुआङ भन्छन् ।

चीनको जिडिपीको करिब २० प्रतिशत हिस्सा ओगटेको र करिब १८ करोड रोजगारीमा योगदान रहेको व्यापार क्षेत्रको प्रदर्शन विश्वव्यापी आर्थिक मन्दीका कारण कमजोर देखिन थालेको छ । गत महिना चीनको निर्यात एक वर्षअघिको सोही समयको तुलनामा ८.७ प्रतिशत संकुचित थियो ।

अहिले नै संक्रमणको तीव्र प्रसारले धेरै मानिस घरभित्र धकेलिइसकेका छन् भने पसल र रेस्टुरेन्टहरू रित्ता देखिन्छन् ।कामदारहरूमा संक्रमण फैलिँदा कलकारखाना तथा कम्पनीहरू पनि बन्द गर्न वा उत्पादन कटौती गर्न बाध्य छन् । ‘कोभिडसँगै बाँच्नु धेरैले सोचेभन्दा गाह्रो हुनेछ,’ क्यापिटल इकोनोमिक्सका विश्लेषक भन्छन् । 

दोस्रो त्रैमासिकमा सामान्य अवस्थामा फर्किनुअघि सन् २०२३ को पहिलो त्रैमास चीनको अर्थतन्त्र ०.८ प्रतिशतले संकुचित हुने विज्ञहरूको अनुमान छ । विज्ञहरूले आफ्ना पछिल्ला प्रतिवेदनमा चीनको अर्थतन्त्रमा मार्चपछि सुधार आउने उल्लेख गरेका छन् । हालैको अनुसन्धान प्रतिवेदनमा एचएसबिसीका अर्थशास्त्रीहरूले पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ०.५ प्रतिशत खुम्चिए पनि यो वर्ष समग्रमा पाँच प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेका छन् ।

सम्पत्ति बजार :  शून्य कोभिड नीतिबाट चीनको परावर्तन कमजोर अर्थतन्त्र एक मात्र कारक होइन । घरजग्गा क्षेत्रमा आइपरेको संकटले पनि यो कठोर नीतिबाट फिर्तीलाई बाध्यकारी बनाएको हो । चीनको जिडिपीमा ३० प्रतिशत योगदान रहेको सम्पत्ति क्षेत्रलाई ठिक ठाउँमा ल्याउनु नीति–निर्माताहरूका निमित्त चुनौतीपूर्ण हुनेछ । 

थुप्रै हाई प्रोफाइल डेभलपर्सहरू आफ्नो ऋण दायित्व चुकाउन विफल भएपछि सन् २०२१ को उत्तरार्धबाट सुरु भएको यो संकटले मुलुकभर पहिले नै बिक्री भइसककेका घरहरूको निर्माणमा ढिलाइ वा अवरुद्ध गरेको छ । खरिद गरिएका आवास समयमै नपाउने तर ऋणको किस्ता भने तिरिरहनुपर्ने भएपछि घर तथा आवासका खरिदकर्ताहरू प्रदर्शनमा समेत उत्रिए ।

उनीहरूले निर्माण सम्पन्न नभएका आवासका लागि लिइएका ऋण तिर्न अस्वीकार गरेका थिए । क्रेडिट क्रन्च (तरलता अभाव)लाई न्यून गर्न गत महिना १६ बुँदे योजना अनावरण गर्दै बेइजिङले यो क्षेत्रलाई बचाउन शृंखलाबद्ध प्रयास गरे पनि तथ्यांकहरूले अझै पनि उदास चित्र प्रस्तुत गर्छन् । सन् २०२२ को पहिलो ११ महिनामा सम्पत्ति बिक्री २६ प्रतिशतभन्दा बढीले कमी आएको छ भने यो क्षेत्रको लगानीमा ९.८ प्रतिशतले गिरावट आएको छ ।

गत वर्षको अन्त्यताका आयोजित मुख्य नीति बैठकमा चीनका शीर्ष नेताहरूले सन् २०२३ मा अर्थतन्त्रमा सुधार ल्याउने वाचा गरेका थिए । उनीहरूले सम्पत्ति क्षेत्रको वित्तीय अवस्था सुधार गर्ने र बजारको मनोबल उकास्ने नयाँ उपाय ल्याउने बताएका छन् । ‘अहिलेसम्म घोषणा गरिएका उपाय पुनरुत्थानका लागि पर्याप्त छैनन्, तर नीति–निर्माताले थप सहयोग ल्याउन लागेको संकेत गरेका छन्,’ क्यापिटल इकोनोमिक्सका विश्लेषकले भने । 

विश्वव्यापी मन्दीको त्रास : सन् २०२३ मा चीनको आर्थिक परिदृश्यलाई आकार दिनमा विश्वव्यापी मन्दीको मुख्य हात हुनेछ । सन् २०२२ को सुरुवाती समय चीनको व्यापार क्षेत्र उत्साहपूर्ण रह्यो । कमोडिटी बजारमा मूल्यको उछाल र चीनको मुद्राको अवमूल्यनका कारण निर्यात व्यापार क्षेत्रले वृद्धिको साक्षात्कार गरेको थियो । तर, चीनको जिडिपीको करिब २० प्रतिशत हिस्सा ओगटेको र करिब १८ करोड रोजगारीमा योगदान रहेको व्यापार क्षेत्रको प्रदर्शन विश्वव्यापी आर्थिक मन्दीका कारण कमजोर देखिन सुरु गरेको छ । गत महिना चीनको निर्यात एक वर्षअघिको सोही समयको तुलनामा ८.७ प्रतिशत संकुचित थियो । यो सन् २०२० को फेब्रुअरीयताको सबैभन्दा खराब प्रदर्शन हो । 

बढ्दो मुद्रास्फीतिको सामना गर्न विश्वभरका नीति–निर्माताले निरन्तर ब्याजका दरमा वृद्धि गरिरहँदा मुलुकहरूले मन्दी साक्षात्कार गर्न थालेका छन् । क्यापिटल इकोनोमिक्सका विश्लेषक चीनकोे निर्यातमा देखिएको महामारी–युगको उछाल उल्टिसकेको बताउँछन् । मन्दीको अर्थ आगामी केही त्रैमास चीनको व्यापार थप खस्किनेछ भन्ने नै हो ।
(ही सिएनएनकी पत्रकार हुन्) – सिएनएनबाट

सुझावित समाचार