नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपति रायलाई तीन प्रश्न

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

कतिपय साइबर अपराधमा पीडक र पीडित दुवै बालबालिका नै हुने अवस्थालाई के भन्नुहुन्छ ?
टिन एजका बालबालिकाको हातमा मोबाइल, ल्यापटप, इन्टरनेट आदिको सहज पहुँच बढेको छ । सहज पहुँचसँगै यसको उपयोग र दुरुपयोग बढ्नु अनौठो होइन । त्यसैले, पछिल्लो समयका केही साइबर अपराधका घटनामा पीडक र पीडित बालबालिका नै भेटिएका हुन् । 

साइबर अपराधमा बालबालिकाको संलग्नता किन बढ्दै छ ?
बालबालिकाले डिजिटल सामग्री प्रयोग गर्ने क्रम बढ्दो छ । तर, बालबालिकालाई यसका सकारात्मक र नकारात्मक प्रयोग र यसबाट जोगिने उपायबारे शिक्षित गराउनेतर्फ भने हाम्रो खास ध्यान जान सकेको छैन । बालबालिकाको हातहातमा मोबाइल पुगेको छ । गृहकार्य या अन्य शैक्षिक क्रियाकलापका लागि पनि प्रविधिको प्रयोग नगरी नहुने अवस्था छ । त्यसैले, बालबालिका यसको सदुपयोगसँगै दुरुपयोगमा पनि संलग्न हुँदै गएका हुन् । 

यस्तो अवस्थाबाट बालबालिकालाई कसरी जोगाउन सकिएला त ?
यसका लागि विद्यालय तहको पाठ्यक्रममै साइबर अपराधबारे विषयवस्तु समेटिनु जरुरी छ । बालबालिकाको ‘स्क्रिन टाइमिङ’बारे अभिभावकले ध्यान दिनुपर्छ । परिवारका हरेक सदस्यले प्रयोग गर्ने डिजिटल सामग्री  ‘ट्रान्सपरेन्ट’ हुनुपर्छ । साइबर सुरक्षाका दृष्टिले उपलब्ध ‘प्राइभेसी सेटिङ’को सदुपयोग गरिनुपर्छ । बालबालिकाको ‘अफलाइन’ गतिविधिप्रति आमअभिभावक सचेत हुनुपर्छ । बालबालिकासित सक्दो बढी समय बिताउने र उनीहरूले गरिरहेका क्रियाकलापप्रति अभिभावक चनाखो हुनुपर्छ । 

सुझावित समाचार