१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पुलिसका सन्तोष संकटाविरुद्धको खेलमा बल अगाडि बढाउँदै । तस्बिरः ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग: जावलाखेललाई लिगमा पहिलो अंक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४५:oo

जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको चौथो चरणमा एक अंक जोड्न सफल भएको छ । लगातार तीन खेलमा हार सामना गरेको जावलाखेलले सोमबार ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित बराबरीमा रोक्दै अंक बटुलेको हो । यसअघि जावलाखेलले मनाङ र पुलिससँग समान १–० ले हारको सामना गरेको थियो । साबिक लिग विजेता मच्छिन्द्रसँग जावलाखेल २–० ले पराजित भएको थियो ।

प्रतिस्पर्धामा जावलाखेलले बिबिसीमाथि दबाब राखेको थियो । तर, उत्कृष्ट फिनिसिङ नहुँदा जावलाखेलले कम्तीमा आधा दर्जन गोल अवसर खेर फाल्यो । पहिलो हाफमा जावलाखेल पूरै ब्रिगेडमाथि हाबी भएको थियो । खेलको १४औँ मिनेटमा गोलरक्षक एन्जल अगाडि बढेको अवस्थामा क्लियरेन्स ओनगुना निकेंगेको प्रहार बारनजिकै ड्रप भएर बाहिरियो । 

खेलको ४०औँ मिनेटमा दिनेश राईको फ्री–किकमा जावलाखेलका फ्लोरेन्टले बल हातले छोए पनि रेफ्री ज्ञानबहादुर तामाङले कुनै प्रतिक्रिया दिएनन् । बराबरीपछि ब्रिगेडले चार खेलबाट पाँच अंक जोडेको छ । बिग्रेड, थ्री स्टार, पुलिस र एनआरटीले पाँचै अंक जोडेका छन् । गोलअन्तरमा पछि पर्दा बिग्रेड नवौँ स्थानमा छ । जावलाखेल एक अंकका साथ १३औँ स्थानमा उक्लिएको छ ।

 संकटाको जित
निरज बस्नेतको निर्णायक गोलमा संकटा क्लबले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराएको छ । संकटाको जितमा खेलको १८औँ मिनेटमै निरजले लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडिङ गोल गरेका थिए । निरजको यो लिगमा तेस्रो गोल हो । खेलको ४३औँ मिनेटमा पुलिसले दुई अवसर सिर्जना गरेको थियो । दुवैपटक संकटाले पुलिसको गोल अवसर विफल पार्‍यो । 

दोस्रो हाफमा पुलिसले सुधारिएको प्रदर्शन गर्‍यो । खेलको ८५औँ मिनेटमा भरत साहले पुलिसलाई बराबरी अवसर चुकाएका थिए । अपराजित रहेको संकटा चार खेलबाट आठ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

रेफ्रीको क्षमतामाथि प्रश्न
चालू ए डिभिजन लिगमा सहभागी क्लबका प्रशिक्षकहरूको अनुभव हेर्ने हो भने जावलाखेल युथका किशोरकुमार केसी सबैभन्दा अनुभवी हुन् । प्रशिक्षक केसी सधैँजसो खेलपछि आफ्नो टोली कसरी हार्‍यो, पराजित भयो र के गरी जित निकाल्यो भनी टिप्पणी गर्न रुचाउँछन् । मैदानभित्र खेल सञ्चालन गर्ने रेफ्रीका बारेमा उनी खासै बोल्दैनन् । उनी अक्सर रेफ्रीबारे प्रतिक्रिया दिँदा यस्तो भन्थे, ‘गल्ती सबैबाट हुन्छ, अझ रेफ्री पनि मानिस नै हुन्, मानवीय गल्ती हुने गर्छन्, यसलाई ठूलो रूपमा लिनुहुन्न ।’

तर, सोमबार ब्रिगेडसँग गोलरहित बराबरी नतिजा आत्मसात गरेपछि उनै जावलाखेलका भलाद्मी प्रशिक्षक केसी रेफ्रीविरुद्ध खनिए । सम्भवत प्रशिक्षकको करिअरमा उनले पहिलोपटक रेफ्रीको क्षमतामाथि प्रश्न मात्र गरेनन्, खुबै आलोचनासमेत गरे । पत्रकार सम्मेलनमा उनले सुरुमै भने, ‘यदि यस्तै किसिमका रेफ्रीले लिग सञ्चालन गर्छन् भने नेपालको फुटबल कहिल्यै पनि विकास हुँदैन ।’ 

ब्रिगेड र जावलाखेलबीचको खेल सञ्चालन ज्ञानबहादुर तामाङले गरेका थिए । रेफ्री तामाङले प्रतिस्पर्धामा धेरै गल्ती गरेको केसीले दाबी गरेका छन् । ‘खेलमा धेरै नै गल्ती भयो, कुन स्थानमा कस्तो निर्णय गर्ने र कसरी खेल सञ्चालन गर्ने हेक्का नै भएन,’ रेफ्रीको क्षमतामा पुनः प्रश्न उठाउँदै केसीले भने, ‘वास्तवमा रेफ्रीकै कारण आज हामी एक अंकमा मात्र सीमित भएको हो ।’

बिग्रेडका प्रशिक्षक सनोज श्रेष्ठ एक अंकमै खुसी देखिए पनि रेफ्रीको खेल सञ्चालनमा खुसी हुन सकेनन् । म्याच रेफ्री तामाङको निर्णयबाट आफू खुसी नभएको श्रेष्ठले बताए । ‘किशोर दाइजत्तिको व्यक्तिले रेफ्रीको बारेमा प्रतिक्रिया दिइसकेपछि पक्कै पनि नराम्रो नै निर्णय भएको हामीले मान्नुपर्छ,’ श्रेष्ठले भने, ‘रेफ्रीले खेल नै बिगारे ।’

तामाङले यसअघि ए डिभिजन लिग खेलाएकै छैनन् । उनले सीधै एकैपटक ए डिभिजन लिग सञ्चालन गरेका हुन् । अझ यसमा पनि फिफा रेफ्रीको ब्याचसमेत उनीसँग छैन । एन्फाका एक पदाधिकारीका अनुसार तामाङले अहिलेसम्म सी डिभिजन लिग छनोट मात्र गराएका छन् । ‘सी डिभिजनबाहेक उहाँले अन्य लिग खेलाउनुभएको छैन,’ ती पदाधिकारीले भने, ‘उहाँको अपरिपक्वताकै कारण विनाकारण नै बीचबीचमा खेल रोकियो ।’ रेफ्री तामाङले पहिलोमा तीन मिनेट तथा दोस्रो हाफमा ६ मिनेट अतिरिक्त समय थपेका थिए । 

जावलाखेलका प्रशिक्षक केसीले पुनः एकपटक फिफा रेफ्री ब्याच नभएका अफिसियलले खेल सञ्चालन गर्दा फुटबलको विकास सम्भव नभएको जनाए । ‘कम्तीमा ए डिभिजन लिगजस्तोमा फिफा रेफ्री नै हुनुपर्छ, स्तरहीन रेफ्रीले खेलाउँदा कसरी फुटबलको विकास हुन्छ,’ उनले भने । 

ad
ad