Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शंकरप्रसाद भण्डारी
२०७८ कार्तिक १६ मंगलबार ०९:२८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेकपा एकीकृत समाजवादीको औचित्य 

Read Time : > 3 मिनेट
शंकरप्रसाद भण्डारी
२०७८ कार्तिक १६ मंगलबार ०९:२८:००

१० बुँदेको नाममा केही नेता अल्मलिए वा ओलीसँग आत्मसमर्पण गरे पनि अन्ततः अहिले एमालेमा रहेका ठूलो हिस्साले पनि ओली प्रवृत्तिसँग विद्रोह नगरी सुखै छैन, किनकि त्यहाँ कम्युनिस्ट आन्दोलन होइन, अराजक ओली प्रवृत्तिकै जयजयकार दिग्विजयी रहनेछ 


नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को ९ भदौ ०७८ बाट सबै कानुनी प्रक्रिया पूरा गरी एउटा नयाँ कम्युनिस्ट पार्टीका रूपमा उदय भयो । ओली प्रवृत्तिविरुद्ध लाखौँ स्वाभिमानी, जुझारु र सिद्धान्तनिष्ठ नेता कार्यकर्ताको बाध्यकारी विद्रोहबाट यो पार्टी जन्मिएको हो । 

वैचारिक, सैद्धान्तिक प्रस्टताका साथै तत्कालीन कार्यनीति, दीर्घकालीन रणनीतिमा प्रस्टता हुँदा छोटो समयमै कार्यकर्ता तथा आमजनताको यो पार्टीप्रति उत्साहजनक सहभागिता प्रतिदिन उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ । छोटो समयमै ७४ जिल्ला र दुई सयभन्दा बढी पालिका कमिटी निर्माण भइसकेका छन् । प्रवासलगायत विभिन्न मोर्चा र वडा तहसम्मका कमिटीहरू धमाधम उत्साहका साथ निर्माण भइराखेका छन् ।

संघ, सातै प्रदेशका साथै सबैजसो स्थानीय तहहरूबाट समेत जनप्रतिनिधिहरूको उल्लेखनीय संख्या नेकपा एसमा गोलबद्ध भएको छ । संघीय सरकारमा नेकपा एसका तर्फबाट पाँचजना मन्त्रीले भूमिका निर्वाह गरिरहेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाका उल्लेख्य संख्याले यो पार्टीलाई साथ दिएका छन् । छोटो समयमा राष्ट्रियस्तरको सशक्त पार्टी निर्माण भएको छ । अब नेकपा एससम्बद्ध नेता, कार्यकर्ताहरूले यो पार्टीको जन्म किन र कसरी भयो, आम जनसमुदायमा बुझाउँदै लैजान जरुरी छ, बुझाउने प्रयास गरिएको पनि छ । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर इतिहासकै विशाल नेपाल कम्युनिस्ट पार्टीको निर्माण भयो । यो एकतापश्चात् नेपालको कम्युनिस्ट आन्दोलन अब एकमत भएर अगाडि बढ्छ भनेर नेपाली जनताले दुईतिहाइनजिक बहुमत दिएर सरकारमा पठाए । लामो समयपश्चात् देशमा उल्लेख्य बहुमतको सरकार बन्दा सरकारले स्थायित्व पाउने र मुलुक समृद्धितर्फ अघि बढ्ने आमअपेक्षा थियो । तर, नेपाली जनताका बहुप्रतीक्षित सपना पूरा गर्नु, देशलाई समृद्धि मार्गमा लैजानु, पार्टी र सरकारलाई विधि, पद्धतिमा चलाउनुको साटो गैरसंवैधानिक र निरंकुश तवरले अघि बढेर नेपाली जनताको मतको अपमान गर्दै दुई–दुईपटक संसद् विघटन गर्ने, आफ्नो निहित स्वार्थ पूरा गरी गुटलाई बलियो बनाउने ओली शैलीले नेकपाभित्र धेरै ठूलो समस्या उत्पन्न गरायो ।

पार्टी एकता भएको केही समयपश्चात् नै पार्टीलाई विधि, पद्धतिमा चलाउन नखोजेर पार्टी कब्जा गर्ने ओलीको रणनीति भयो । एकातिर पार्टी कब्जा गर्ने, अर्काेतिर सरकारका सम्पूर्ण निकायमा हस्तक्षेप कायम गरी एकलौटी ढंगले ओली अगाडि बढ्न थाले । पार्टी बैठकको निर्णय उल्लंघन गर्न थाले । पार्टीका नेताहरूको सुझाब सल्लाहलाई नमानी आफ्नो गुटको मात्रै संरक्षण गरी गैरसंवैधानिक तरिकाले काम गर्न खोज्दा नेकपा दुर्घटनाको अवस्थामा पुग्यो । यहीबीच नामको विवादलाई लिएर सर्वाेच्च अदालतले नेकपाको विघटन गरिदियो । 

आमजनताले बुझ्नुपर्ने के छ भने एमाले पार्टी माधव, झलनाथले फुटाएका हैनन् । फुटाउने केपी ओली नै हुन्, किनकि उनले न त अदालतको आदेश माने, न पार्टीको विधि विधान, नियमावली माने, आफूलाई मनलाग्दी गरे । माधव, झलनाथ पक्षका हामी सबै नेता कार्यकर्ताले जतिसुकै अनुनय गर्दा पनि ओलीले सुन्दैसुनेनन् । नेकपा विघटनपश्चात् एमालेलाई एकताअघिकै अवस्था २ जेठको अवस्थामा फर्काउने माधव पक्षको सुरुवाती मागलाई बेवास्ता मात्रै गरेनन्, बारम्बार अपमानित मात्रै गरिरहे । निरंकुश ओली वास्तवमा एमालेबाट आफूसँग प्रतिवाद गर्न सक्ने सबै नेता लखेटेर आफ्ना अनुयायीहरूलाई मात्र राख्न चाहन्थे । यही योजनाअन्तर्गत रहेर उनी जबर्जस्ती गर्दै अघि बढ्दा एमाले फुट्यो । ओलीकै कारण नेकपा (एकीकृत समाजवादी) पार्टीको जन्म हुन पुग्यो ।
 
ओली प्रवृत्तिका विरुद्ध विद्रोह

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापश्चात् पार्टी र सरकार मात्रै होइन, देशै कब्जा गर्ने रणनीतिअनुसार ओली प्रवृत्ति मौलाउँदै गयो । पार्टीले जति नै सुधार्न खोजे पनि ओली प्रवृत्ति झनै खतरनाक रूपमा मौलाउँदै गयो । ओली प्रवृत्तिबारे आमसमुदायले बुझ्न जरुरी छ । वास्तवमा के हो त ओली प्रवृत्ति ? ओली प्रवृत्तिलाई यसरी चित्रण गर्न सकिन्छ– लामो समय त्याग, तपस्या र बलिदानीमार्फत आएको लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउन खोज्ने, विधि, पद्धति र संविधानअनुसार होइन कि म नै राज्य हुँ भन्ने अहंकारी सोच र मनोभावनाबाट चल्ने, राज्यका सम्पूर्ण निकायहरूमा आसेपासे, अनुचरहरू भर्ती गरेर कब्जा गर्दै जाने, सम्प्रभु संसद्लाई विघटन गरेर तानाशाही शासनको पूर्वाधार तयार गर्दै जाने, जनताको जनादेशको अपमान गर्ने, आफूलाई अनुकूल हुने खालका अध्यादेशमार्फत देश सञ्चालन गर्ने, राष्ट्रपतिजस्तो गरिमामय संस्थालाई पटक–पटक विवादमा ल्याएर आफ्नो दुनो सोझ्याउने, छद्म राष्ट्रवाद उराल्ने, तर कुर्सी लम्ब्याउन विदेशी गुप्तचरहरूसँग जस्तोसुकै साँठगाँठ गर्न पछि नपर्ने, देशघाती कार्यहरू गर्ने, तर मभन्दा ठूलो राष्ट्रवादी कोही छैन भन्ने भ्रम रातदिन फैलाउने प्रयास गरिरहने, कम्युनिस्ट आन्दोलन तहसनहस बनाएर कम्युनिस्ट पार्टीप्रति नै जनतामा नैराश्य फैलाउने र दक्षिणपन्थीहरूसँग गठजोड गर्ने, हावादारी गफलाई नै महान् काम भन्ने, जनतालाई रत्तिभर नदेख्ने, निम्छरा गालीहरूको वर्षा गर्ने, तर आफूलाई सभ्य, सर्वज्ञानी र सुसंस्कृत भन्ने प्रवृत्ति नै ओली प्रवृत्ति हो । वास्तवमा ओली कपटको पराकाष्ठाको प्रवृत्ति हो । यही प्रवृत्तिका कारण नेकपाको विघठन र एमालेको फुट भएकोमा दुईमत छैन । ओली प्रवृत्तिको खारेज गर्दै ओलीबाट विद्रोह गरेर कम्युनिस्ट पार्टी र आन्दोलनको रक्षार्थ देशभक्त नागरिकहरूको नयाँ पार्टी बनाएर समग्र देशको समृद्धिका लागि समर्पित पार्टी हो, नेकपा (एकीकृत समाजवादी) । 

ओली प्रवृत्तिका कारण आज जनसमुदायमा कम्युनिस्ट पार्टीप्रति नै वितृष्णा फैलिरहेको छ । टुटेफुटेका कम्युनिस्ट पार्टीलाई एकीकृत बनाई नेपालको कम्युनिस्ट आन्दोलन पुनर्गठन आजको मुख्य माग हो । जति पनि कम्युनिस्ट पार्टीहरू अलग–अलग धारमा छन्, तीबीच वैचारिक, सांगठानिकलगायतका विषयमा व्यापक छलफल गरी पुनर्गठन जरुरी छ । यसपश्चात् मात्र ओली प्रवृत्तिलाई खारेज गरी समाप्त गर्न सकिन्छ । कम्युनिस्ट आन्दोलनको पुनर्गठनको प्रयत्नमा लाग्दा मात्रै नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापनाको औचित्य पनि पुष्टि हुन जान्छ । 

आत्मसमर्पण कि विद्रोह ?

माधव, झलनाथ पक्षको यस्तो बाध्यकारी अवस्था थियो कि ओलीसँग आत्मसमर्पण गरेर कम्युनिस्ट पार्टी मात्रै होइन, आन्दोलनलाई नै तहसनहस पारेकोमा साक्षी बस्नुपथ्र्यो, कि त विद्रोह नै गर्नुपथ्र्यो । ओलीकै कारण नेकपालाई त जोगाउन सकिएन–सकिएन, एमालेलाई पनि जोगाउन सकिएन । दशबुँदेको नाममा केही नेता अल्मलिए वा ओलीसँग आत्मसमर्पण गरे पनि अन्ततः अहिले एमालेमा रहेका ठूलो हिस्साले पनि ओली प्रवृत्तिसँग विद्रोह नगरी सुखै छैन, किनकि त्यहाँ कम्युनिस्ट आन्दोलन होइन, अराजक ओली प्रवृत्तिकै जयजयकार दिग्विजयी रहनेछ । अनुचरहरू पुरस्कृत र निष्ठावान्हरू दुरस्कृत भइरहनेछन् । यसर्थ, नेकपा (एकीकृत समाजवादी) पार्टी रहर होइन, समय र परिस्थितिको माग नै हो ।