१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार २६ शनिबार १०:४८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

डेनमार्कका गोलरक्षकका आँखामा लेजर लाइट, इंग्ल्यान्डमाथि कारबाहीको तयारी

Read Time : > 1 मिनेट
२०७८ असार २६ शनिबार १०:४८:००

चालू युरोकप २०२० फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र डेनमार्कबीच भएको थियो । अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए । केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलरक्षक क्यास्पर स्माइकलको ध्यान भंग गर्न इंग्लिस समर्थकहरूले ‘लेजर लाइट’ उनका आँखामा पर्ने गरी बालेका थिए । शुक्रबार विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले लेजर लाइट प्रयोग भएको उल्लेख गरेका छन् । 

युइएफएले यसविरुद्ध कारबाही गर्ने भएको छ । युइएफएले इंग्लिस समर्थकहरूले खेल भावनाविपरीत कार्य गरेको आरोपमा इंग्ल्यान्डलाई कारबाही गर्न लागेको जनाएको छ । यो मात्र होइन, सेमिफाइनल खेल सुरु हुनुअघिको राष्ट्रिय गान बजाउँदा पनि डेनमार्कलाई अवरोध पु¥याएको आरोप छ । डेनिस राष्ट्रिय टोलीका सदस्य लाइनबद्ध रूपमा राष्ट्रिय गान गुनगुनाइरहँदा इंग्लिस समर्थकले होहल्ला गरेका थिए । 

इंग्लिस समर्थकहरूले डेनमार्कको राष्ट्रिय गानकै अपमान गरेको युइएफएको दाबी छ । यसलाई पनि खेल भावनाविपरीत नै मानिएको छ । इंग्लिस समर्थकहरूले मैदानमा दुई अति नै नराम्रो खेल भावनाविपरीत काम गरेका कारण नै यसको अनुसन्धान हुने भएको छ । युइएफएले यसको जिम्मेवारी अनुशासन कमिटीलाई दिएको छ । अनुशासन कमिटीलाई सबै अधिकार युइएफएले दिँदै दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन भनिएको छ । 

डेनमार्कको टोलीको भव्य स्वागत

युरोकपको सेमिफाइनल चरणबाटै बाहिरिएको डेनमार्क घर फर्कंदा भव्य स्वागत भएको छ । डेनमार्क प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ गोलले पराजित भएपछि शुक्रबार घर आइपुगेको हो । जारी युरोकपमा डेनमार्क यस्तो टोली बन्यो, जो प्रतियोगिताको सुरुवातमै एउटा डरलाग्दो घटनाबाट गुज्रिएर पनि प्रतियोगितामा सबैको मन जित्ने प्रदर्शन दिन सफल रह्यो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमै क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरूमा ठूलो पीडा देखिएको थियो । तर, त्यो घटनाबाट सम्हालिएको डेनमार्कले एकपछि अर्काे सशक्त प्रदर्शन गर्दै प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । डेनमार्क अन्तिम चारभन्दा अघि बढ्न भने सकेन । समर्थकहरूले डेनमार्कका खेलाडी विमानबाट झर्दादेखि नै ताली बजाएर आफ्ना खेलाडीहरूको स्वागत गरेका थिए ।

दर्शकहरूको भव्य स्वागतपछि कतिपय खेलाडीका आँखामा आँसु देखिएको थियो । खेलाडीहरूले आफ्ना समर्थकहरूसँग अंकमाल गर्दै प्रतियोगिताको एउटा अविस्मरणीय यात्राको खुसी साटेका थिए । ‘तपाईंहरू सबैलाई यसरी भेट्न पाउँदा खुसी लागेको छ । हामीले एक–अर्कालाई धन्यवाद दिने तरिका नै यही हो,’ प्रशिक्षक कास्पर ह्युल्मान्डले भने, ‘प्रतियोगिताको दौरान हामी जुन अवस्थाबाट गुज्रिएका थियौँ, त्यहाँबाट साँच्चिकै अविस्मरणीय यात्राको सुरुवात गरेका छौँ । हामी जित्न चाहन्छौँ । हामी उपाधिको निकै नजिक थियौँ । त्यति नजिक पुगेर पनि असफल हुँदा हामीलाई दु:ख लागेको छ । हामी निराश छौँ । यद्यपि, हामी अझै डेनमार्कलाई एकताबद्ध गर्न चाहन्छौँ । डेनमार्कलाई प्रेरित गर्न चाहन्छौँ ।’

प्रशिक्षक ह्युुल्मान्डले सबै समर्थकहरूलाई धन्यवाद दिए । उनले समर्थकको सहयोगविना यो सफलताको यात्रा मुस्किल रहेको पनि बताए । डेनमार्कका कप्तान सिमोन जइरले पनि धन्यवाद दिए । ‘हामीले प्रतियोगितामा जुन यात्रा तय गर्‍यौँ, त्यसमा सबैले गर्व गरेका छन्,’ उनले भनेका छन्, ‘व्यक्तिगत रूपमा पनि मेरा लागि यो अहिलेसम्मकै नयाँ अनुभव रह्यो । यसअघि कहिल्यै पनि यस्तो अनुभव भएको थिएन ।’