नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा तीन क्षेत्रमा मतदानबाट सभापति चयन हुँदा मकवानपुर–२ (ख) मा भने राजेन्द्र तामाङ घिसिङ सर्वसम्मत सभापति चयन भएका छन् ।
मतदान भएका तीन क्षेत्रमध्ये मकवानपुर–१ (क) मा शंकरकुमार पराजुली, १ (ख) मा रामहरि तिमल्सिना र २ (क) मा ओमबहादुर बस्नेत सभापतिमा निर्वाचित भएका हुन् । सबैभन्दा कम मतान्तरको प्रतिस्पर्धा २ (क) मा भएको छ, जहाँ बस्नेत १५ मतको अन्तरले निर्वाचित भएका छन् ।
यसअघि भारी वर्षाका कारण कांग्रेस मकवानपुरको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ मा सारिएको थियो ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र १ (क) को सभापतिमा शंकरकुमार पराजुली निर्वाचित भएका छन् । उनले ३७९ मत प्राप्त गर्दा प्रतिस्पर्धी भूमिनन्द गौतमले २५९ मत प्राप्त गरे । पराजुली १२० मतान्तरले विजयी भएका हुन् ।
यस क्षेत्रमा अन्य अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपसभापतिमा राजेन्द्रराज बानियाँ, सचिवमा विश्वराज न्यौपाने, सहसचिवमा बलराम दुलाल र महिला सहसचिवमा मनमाया लो चयन भएका छन् । खुला सदस्यमा बैकुण्ठप्रसाद ढकाल, मानबहादुर ब्लोन र सम्राट घिमिरे तथा युवा सदस्यमा किरण घले निर्विरोध चयन भएका छन् ।
मकवानपुर–१ (ख) को प्रदेशसभा क्षेत्रीय सभापतिमा रामहरि तिमल्सिना निर्वाचित भएका छन् । तिमल्सिनाले २१० मत प्राप्त गर्दा प्रतिस्पर्धी प्रदीप कँडेलले १३६ मत पाए । तिमल्सिना ७४ मतको अन्तरले निर्वाचित भएका हुन् ।
उपसभापतिमा अजिता मोक्तान, सचिवमा विजय कार्की तथा सहसचिवमा प्रमिला राई र राजेन्द्रप्रसाद पुडासैनी चयन भएका छन्। मोक्तान र राई सर्वसम्मत चयन भएका हुन् ।
चार प्रदेशसभा क्षेत्रमध्ये सभापतिमा सबैभन्दा प्रतिस्पर्धात्मक परिणाम मकवानपुर–२ (क) मा आएको छ। यहाँ ओमबहादुर बस्नेतले निरोज रानामगरलाई १५ मतले पराजित गरेका छन् । बस्नेतले ३१६ मत प्राप्त गर्दा रानामगरले ३०१ मत पाए ।
यस क्षेत्रको उपसभापतिमा नवराज कार्की, सचिवमा सुमन गोले तथा सहसचिवमा मञ्जु ब्लोन र शम्भु शिवाकोटी चयन भएका छन् ।
यस्तै मकवानपुर–२ (ख) मा राजेन्द्र तामाङ घिसिङ सर्वसम्मत रूपमा प्रदेशसभा क्षेत्रीय सभापति चयन भएका छन् । यस क्षेत्रमा उपसभापतिमा मुक्ति अधिकारी, सचिवमा रामशरण दोङ, सहसचिवमा चन्द्रबाबु थिङ र महिला सहसचिवमा सबिना बिडारी पनि सर्वसम्मत चयन भएका छन् ।
यससँगै कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेशसभा क्षेत्रको नेतृत्व चयन प्रक्रिया सकिएको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै बुधबार मकवानपुरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा क्षेत्रीय अधिवेशन हुँदै छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अधिवक्ता राजकुमार उप्रेतीका अनुसार दुवै क्षेत्रमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्नेछ । कांग्रेसको महाधिवेशन कार्यतालिकामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिसहित क्षेत्रीय कार्यसमिति चयन गर्ने व्यवस्था छ।