पछिल्लो वर्षाले मुस्ताङको कोराेला नाका पनि अवरुद्ध भएपछि चाडपर्वलक्षित मालवस्तु आयातका लागि वैकल्पिक नाका खोज्दै उच्च सरकारी अधिकारी तातोपानी पुगेका छन्। नेपाल–चीन उत्तरी सीमाको सबैभन्दा छोटो दूरीको तातोपानी नाका सञ्चालनमा ल्याउन सके दसैँ–तिहारका लागि आवश्यक सामग्री राजधानी ल्याउन सहज हुने सरकारी अधिकारीहरूको भनाइ छ।
परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, नेपालस्थित चिनियाँ राजदूतावासका उपनियोग प्रमुख मिस्टर चोउफानसहित सहसचिव तहका अधिकारी स्थलगत निरीक्षणका लागि तातोपानी पुगेका हुन्। टोलीमा अर्थ, भन्सार विभाग, सडक डिभिजन र वाणिज्य मन्त्रालयका प्रतिनिधिसमेत छन्।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माका अनुसार सडकको यथार्थ अवस्था बुझ्न चिनियाँ प्रतिनिधिसहित नेपाली अधिकारी सीमाक्षेत्रमा पुगेका हुन्। १० भदौमा भोटेकोशीमा आएको बाढीपछि रसुवा नाका बन्द हुँदा अविरल वर्षा र हिमपातबिच कोराेलाबाट कठिन रूपमा सामान आयात गरिएको थियो। तर, पछिल्लो साताको वर्षाका कारण कोराेलाबाट सामान राजधानी ल्याउने सम्भावना पनि कमजोर बनेपछि तातोपानी नाका सञ्चालनको विकल्प खोजिएको हो।
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–लिपिङ २६ किलोमिटर सडकखण्डमा पर्ने कोदारी, इको, घट्टेखोला र डाक्लाङमा गएको पहिरोका कारण ३१ असारदेखि कोदारी सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चरिकोटले निरन्तर काम गरेर सडक सञ्चालनमा ल्याए पनि चीनले इमेलमार्फत एकतर्फी रूपमा नाका बन्द गरेको थियो।
अहिले काठमाडौं–तातोपानी–लिपिङ सडकमा आवागमन गर्न समस्या नरहेको र चिनियाँ कन्टेनर भन्सारसम्म ल्याउन सकिने सडक डिभिजन कार्यालय चरिकोटका सिनियर डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताए।
‘हामीले रातदिन नभनी लिपिङ, इको, घट्टेखोला र डाक्लाङका पहिरो पन्छाएर सडक तयार गर्यौँ। तर, नाका बन्द भयो,’ उनले भने, ‘अहिले वान–वे सडक सञ्चालनमा छ। तत्कालै दुईतर्फी सडक सञ्चालन गर्न सकिन्छ।’ तातोपानी भन्सार सञ्चालनमा आउने प्रतीक्षामा कर्मचारीहरू पनि तयारी अवस्थामा रहेको तातोपानी भन्सारका भन्सार अधिकृत रमेशबहादुर शाहले बताए।
चिनियाँ प्रतिनिधिले सडकको वास्तविक अवस्थाबारे चीन सरकारको माथिल्लो निकायलाई जानकारी गराएपछि नाका खुल्ने वा नखुल्ने निश्चित हुने अधिकारीहरूको भनाइ छ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारसमेत रहिसकेका परराष्ट्र मामिला विज्ञ डा. रूपक सापकोटाले दसैँअघि तातोपानीबाट कन्टेनर पास हुने सम्भावना रहेको बताए। तातोपानी नाका सञ्चालनका विषयमा चिनियाँ प्रतिनिधिसँग पटक–पटक कुराकानी भइरहेको उनले जानकारी दिए। ‘सडकको अवस्था राम्रो हुनासाथ नाका सञ्चालन हुने चिनियाँ आश्वासन छ,’ सापकोटाले भने।