सोमबार १६ अंकले घटेको नेप्से परिसूचकमा मंगलबार पनि गिरावट आएको छ। नेप्से ९.६२ अंकले ओरालो लागेर दुई हजार ६०३.७१ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ अंकले गिरावट भएको छ।
आज नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ। सोमबार पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएकोमा मंगलबार घटेर चार अर्ब ६५ करोड ४८ लाखमा सीमित भएको छ। आज ३६३ कम्पनीका एक करोड १० लाख कित्ता सेयर खरिद–बिक्री भए।
मंगलबार निर्जीवन बिमा र अन्य समूह एक प्रतिशतभन्दा कमले वृद्धि हुँदा बाँकी ११ समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह सर्वाधिक १.८७ प्रतिशतले घट्दा बाँकी १० समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।
घटेको बजारमा आइसिएफसी डिबेन्चर २०८३ का लगानीकर्ताले सर्वाधिक कमाए। उक्त धितोपत्र ९.१८ प्रतिशतले वृद्धि हुँदा सयपत्री हाइड्रो, नेपाल एसबिआई बैंक डिबेन्चर र सर्वोत्तम पेन्ट्स ६ प्रतिशतभन्दा धेरैले बढे।
सर्वाधिक गुमाउने सूचीको शीर्ष स्थानमा सिटिजन्स सुपर ३० म्युचल फन्डका लगानीकर्ता छन्। सो धितोपत्र ५.४४ प्रतिशतले ओरालो लाग्दा आरबिबी म्युचल फन्ड, मेगा म्युचल फन्ड १, धौलागिरि लघुवित्त, अपोलो हाइड्रो चार प्रतिशतभन्दा धेरैले गिरावट भए।
कारोबार भएको सेयर संख्याका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ। उक्त कम्पनीको चार लाख ७४ हजार कित्ताभन्दा बढी सेयर किनबेच भयो। कारोबार रकमका आधारमा पहिलो नम्बरमा रहेको हिमालयन डिस्टिलरीको २२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।