Skip This
७४ लाख घुस प्रकरणः नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार २o:o८:oo
Read Time : > 4 मिनेट
समाचार

७४ लाख घुस प्रकरणः नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २o:o८:oo

कर्जा प्रवाह गर्दा घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी घुस मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई सोमबार दोषी ठहर गरेको हो।  

तीन व्यवसायीसँग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायतविरुद्ध २०८२ को जेठमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीसँग सम्बन्धित ६ वटा छुट्टाछुट्टै मुद्दा दायर भएकामा सोमबार विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले दोषी ठहर गरेको हो। यस मुद्दामा सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमले भने सफाइ पाएका छन्। ६ वटा मुद्दामध्ये दुईमा ठहर, दुईमा आंशिक ठहर तथा दुईमा सफाइको फैसला भएको हो । 

कसरी लिए घुस? 
तनहुँको आँबुखैरेनी– १ मा सञ्चालनमा रहेको अकला देवी ट्रेडर्सलाई बैंकमा धितो राखी २५ करोड ऋण लिने योजनामा रहेका दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ र नारायणप्रसाद बरालसँग अधिकारीले घुस लिएका थिए । उनीहरूले नेपाल बैंकको प्रधान कार्यालय न्युरोड, शाखा कार्यालय कालीमाटी र डुम्रे तनहुँमा समेत ऋण प्रयोजनका लागि प्रक्रिया अगाडि बढाएका थिए। तत्काल मागबमोजिमको ऋण रकम उपलब्ध नभएपश्चात् उनीहरू सन्तोष सुवेदीमार्फत नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष अधिकारीसम्म पुगेका थिए। अख्तियारको दाबीअनुसार अधिकारीले सुवेदीमार्फत कुल ऋण २५ करोडको दुई प्रतिशत अर्थात् ५० लाख घुस मागे।

घुस रकम लिन र दिन दुवै पक्षबिच सहमति जुट्यो । यसपछि पहिलो चरणमा ऋणीहरू कार्की, बराल र बानियाँसँग सात लाख नगदै लिई सन्तोष सुवेदीले १६ भदौ ०८१ मा आफ्नो एनआइसी एसिया बैंकको खातामा जम्मा गरेका थिए । यो रकम जम्मा गरेको भोलिपल्टै १७ भदौमा सुवेदीले आफ्नो खाताबाट सात लाखमध्येबाट पाँच लाख अविनाश श्रेष्ठको नबिल बैंक लिमिटेडको खातामा जम्मा गरिदिएका थिए । यो पाँच लाख रुपैयाँ रकम तत्कालै श्रेष्ठले आफ्नो खाताबाट बैंकको सञ्चालक समिति अध्यक्ष अधिकारीकी श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिदिएको छानबिनमा भेटियो। 

यही पाँच लाख रुपैयाँ जम्मा भएको खाताबाट मधुमायाको राष्ट्रिय वाणिज्य बैंककै अर्को खातामा तीनपटक गरेर स्थानान्तरण गरेको भेटिएको छ । यो पाँच लाख पनि मधुमायाले पुनः अर्को खातामा जम्मा गरेकी थिइन् । मधुमायाको खाताबाट राकेश थापाले नौ लाख ९० हजार निकालेर भारतीय नागरिक लक्की भन्ने खुसनसिब अन्सारीलाई दिएका थिए । यो रकम अन्सारीले पुनः राकेशलाई नै फिर्ता गरिदिएका थिए । यसपछि पाँच लाख रुपैयाँ राकेशले ८ र १० असोजमा चन्द्रबहादुर अधिकारीको नेपाल बैंकको खातामा जम्मा गरिदिएका थिए ।

यसको केही समयपछि बरालले ३० लाख र १५ लाखको दुईवटा चेक काटेर बानियाँसँग ललितपुरको झम्सीखेल गएर सुवेदीलाई दिएका थिए । सुवेदीले यो चेक श्रेष्ठलाई दिए । यो चेक लिन तत्कालीन अध्यक्ष अधिकारीले आफ्नो चालकलाई झम्सीखेल पठाएका थिए । चालकमार्फत चन्द्रबहादुर अधिकारीले चेक बुझेका थिए । अधिकारीले यो चेक उनै लक्कीलाई दिएका थिए । लक्कीले सुमित्राकुमारी घिमिरे र अञ्जन दाहाललाई दिए । घिमिरेले ३० लाखको चेक प्रभु बैंक र दाहालले १५ लाखको चेक सटहीका लागि माछापुच्छ«े बैंकमा पेस गरेका थिए । ६ असोजमा यी चेक सटहीका लागि बैंकमा पेस गरिएका थिए । तर, भोलिपल्टै १० असोजमा दुवै चेक बैंकबाट अनादर (बाउन्स) गरिएको थियो । 

नौ चरण पार गर्दै अधिकारीले लिएका थिए घुस 
नेपाल बैंकको सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीले ऋणीबाट पाँच लाख रुपैयाँ बैंकमार्फत ट्रान्सफर गरी लिएका थिए । बाँकी ४५ लाख बरालको नबिल बैंकको ३० लाख र १५ लाखको दुईवटा चेकबाट प्राप्त गरेका थिए । अधिकारीले घुसबापत लिएको पाँच लाख विभिन्न चरण पार गर्दै उनको खातामा आएको थियो । घुसबापतको पाँच लाख अधिकारीको खातामा आउँदासम्म नौ चरण पार गरेको थियो । यसका लागि करिब एक महिना लाग्यो । त्यस्तै, चेक भने आठ चरण पार गरेपछि अधिकारीले प्राप्त गरेका थिए । 
यस मुद्दामा अख्तियारले नेपाल बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरेको छ । यसमा ६ जनाविरुद्ध ५० लाख बिगो कायम गरी मुद्दा पाएकोमा केहीले भने सफाइ पाएका छन् । 

यसरी बनेको थियो योजना 
वैशाख ०८१ मा अकलादेवी ट्रेडर्सको खरिद–बिक्रीबारे दुई पक्षबिच सहमति भएको थियो । महेन्द्रमोहन भट्टराईले बेच्ने र खरिद गर्नेमा कार्की, बराल र बानियाँ थिए । भट्टराईबाट कागजात लिएर खरिदकर्ताले कागजात सुवेदीलाई दिएका थिए । बैंकमा ऋणका लागि पेस गर्ने कागजात तयार गर्ने जिम्मेवारी सुवेदीलाई दिइएको थियो । यसअघि बेच्ने भट्टराई र तीनैजना खरिदकर्ता भएर बैंकमा ऋणका लागि कुराकानी भएको थियो । तर, धितो मूल्यांकन कम रहेकामा र ब्याज बढी हुने भएकाले काम अघि बढेन । यसपछि वीरेन्द्र गिरीमार्फत अविनाश श्रेष्ठ र चन्द्रबहादुर अधिकारीको चिनजान र कुराकानी भएको थियो ।

२५ असारमा कार्कीको निर्देशनबमोजिम श्यामकुमार लामा र सुजन लामाको नाममा अकला देवी ट्रेडर्स प्रालि दर्ता गरिएको थियो । यसपछि श्रेष्ठ र सुवेदीमार्फत नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष अधिकारी र ऋणीत्रयबिच झम्सीखेलको भेटमा ऋणबारे कुराकानी भएको थियो । छलफलपछि अकलासम्बन्धी कागजात बैंकमा पेस भएको थियो । ऋण उपलब्ध गराइदिन अधिकारीले सहजीकरण गर्ने र त्यसबापत ऋण रकमको २ प्रतिशत ऋणीले दिने सहमतिसमेत जुटेको थियो । यसपछि ऋणसँगै घुसको लेनदेनको प्रक्रियासमेत अघि बढ्यो ।

तर, धितोसम्बन्धी विषयका कारण मागबमोजिमको ऋण दिन नसकिने जानकारी नेपाल बैंकबाट ऋणीहरूले पाए । ५० लाख रुपैयाँ घुस दिँदासमेत काम नभएपछि ऋणीहरूले सञ्चालक समिति अध्यक्ष अधिकारीसँग ऋणीले चेक र रकम नै फिर्ता मागे । अधिकारीले चेक फिर्ता नदिएपछि ऋणीहरूले सन्तोष सुवेदी र अविनाश श्रेष्ठमाथि दबाब दिएका थिए । यसपछि अविनाशले बैंकको केन्द्रीय कार्यालयमा गएर बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तिलकराज पाण्डेय र ऋण हेर्ने डेपुटी सिइओ विश्वराज बरालसमक्ष अधिकारीविरुद्ध उजुरी गरे । उनैले राष्ट्र बैंकमा समेत अधिकारीविरुद्ध उजुरी गरे । यसपछि राष्ट्र बैंकले अधिकारीउपर छानबिन सुरु गरेको थियो । छानबिन थालेपछि अधिकारीलाई नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षबाट हटाएर सदस्यमा मात्र कायम गरिएको थियो । पदको दुरुपयोग गरेकोमा राष्ट्र बैंकले अधिकारीलाई पाँच लाख जरिवाना र पाँच वर्षसम्म बैंक तथा वित्तीय संस्थाको कुनै पनि जिम्मेवारीमा रहन नपाउने गरी कारबाही गरेको थियो ।

अर्का व्यवसायीसँग पनि अधिकारीले खाएका थिए पाँच लाख घुस 
अर्का व्यवसायीसँग पनि अधिकारीले घुस लिएको अनुसन्धानमा खुलेको थियो । काभ्रेपलाञ्चोकका राजमान तामाङको नाममा काठमाडौं महानगरपालिका–३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालिले ६ करोड ऋण लिन नेपाल बैंकमा कागजात पेस गरेको थियो । यसैक्रममा ऋण प्रक्रियाका लागि रमेश आचार्यले तामाङलाई बैंक सञ्चालक समिति अध्यक्ष अधिकारीसँग चिनजान र भेटघाट गराइदिएका थिए । तामाङलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने र त्यसका लागि ऋण रकमको १ प्रतिशत अर्थात् ६ लाख घुसको माग अधिकारीले गरे । यसका लागि अधिकारीले आचार्यमार्फत हिमाल–तराई कन्स्ट्रक्सनलाई ऋणका लागि धितोको प्रारम्भिक मूल्यांकनसमेत गराइदिए । यसपछि अधिकारीले माग गरेको घुसमध्ये तामाङले तत्काल पाँच लाख हिमाल–तराई कन्स्ट्रक्सनको प्रभु बैंकको चेकबाट आचार्यलाई उपलब्ध गराएका थिए । पाँच लाख बिगो दाबी गरेर अख्तियारले अधिकारीविरुद्ध मुद्दा दायर गरेकोमा तामाङ र अधिकारी दुवै दोषी ठहर भएका छन्। 

एक अर्ब ७७ करोड ३० लाख ऋण दिलाउन १९ लाख घुस 
अर्को मुद्दामा पनि अख्तियारले अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो। रुपन्देहीको सिद्धार्थनगर– १, बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको रेडिसन प्रोजेक्टको नेपाल बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनेर १९ लाख रुपैयाँ घुस लिएको अभियोग थियो। रेडिसनले एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ रुपैयाँ ऋण लिन नेपाल बैंकको प्रधान कार्यालयमा पेस कागजातबमोजिम बैंकले ऋण प्रक्रिया अघि बढाएको थियो । अधिकारीले ऋण मिलाइदिन सहजीकरण गरे । यसका लागि लक्कीमार्फत ३० भदौ ०८१ मा रेडिसनका सेयर सदस्य अंकित भुसालसँग रकम माग गरेका थिए । यसपछि बालकृष्ण भुसालले सात लाख र १३ लाखका प्राइम बैंकको चेक दिएका थिए । यो चेक साटेर लक्कीमार्फत अधिकारीले १९ लाख रुपैयाँ रकम पाएका थिए ।
 

↑