नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रले विद्यालयस्तरमा विद्युत् सुरक्षासम्बन्धी सचेतना जगाउन थालेको छ। ‘सुरक्षित विद्युत् प्रयोग, सुरक्षित जीवन’ भन्ने नारासहित विद्यार्थीलाई विशेष कक्षामार्फत विद्युत् सुरक्षाबारे जानकारी दिन थालिएको जलेश्वर वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशनकुमार सिंहले बताए।
सोमबार जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयको कक्षा नाैका साधारण तथा प्राविधिक धारका विद्यार्थीलाई जलेश्वर वितरण केन्द्रकी इन्जिनियर विनिता मण्डलले कक्षा लिँदै विद्युतकाे उपयोगिता, आवश्यकता तथा सुरक्षित प्रयोगका विषयमा जानकारी गराएकी थिइन्।
वितरण केन्द्रका प्रमुख सिंहले जिल्लाका अन्य विद्यालयमा समेत यस्ता कक्षा सञ्चालन गरिने बताए। विद्युतका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सचेतना आवश्यक रहेकाले यस्तो अभियान सञ्चालन गरिएको उनले बताए।