१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
काठमाडौंको गौशालामा बुधबार भएको कांग्रेस इतर समूहको भेला । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस इतर समूहको भेला : संसदीय दलको नेताको तयारी गर्न शेखरलाई गगनको प्रस्ताव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१८:oo

कांग्रेस महामन्त्री गगन थापाले नेता डा. शेखर कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्ताव गर्दै सभापति शेरबहादुर देउवालाई पुनः चुनौती दिएका छन् । बुधबार गौशालामा इतर समूहको भेलामा दुवै नेताले संवादलाई निरन्तरता दिँदै आफ्नो समूहलाई एकजुट बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । 

भेलामा सहभागी एक केन्द्रीय सदस्यका अनुसार महामन्त्री थापाले दलको नेतामा सभापति देउवाको विकल्पमा कोइरालालाई अघि सार्ने प्रस्ताव ल्याएका थिए । थापाले संसदीय दलमा कोइरालालाई अगाडि सार्ने र ०८२ मा महाधिवेशन सुनिश्चित गर्ने बाटोमा अगाडि बढ्न प्रस्ताव गरेका थिए । ‘हामी एकताबद्ध भएर वरिष्ठ नेताजी (कोइराला)लाई अगाडि सारेर संसदीय दलको नेता फेर्न लागौँ । सभापतिजी नै प्रधानमन्त्री हुने अवस्था आयो भने ०८२ मा महाधिवेशन हुन सक्दैन,’ महामन्त्री थापाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने । तर, थापाको प्रस्तावमा कोइरालाले कुनै प्रतिक्रिया नदिएको उनले बताए । 

भेलाले आगामी राष्ट्रिय सभा निर्वाचनमा पार्टीबाट नयाँ अनुहारलाई उम्मेदवार बनाउन दबाब दिने निर्णय पनि गरेको छ । पराजितलाई राष्ट्रिय सभामा लैजान रोक्दै उम्मेदवार छनोटलाई न्यायोचित बनाउन सभापतिलाई दबाब दिने निर्णय भएको महामन्त्री थापाले बताए । 

‘१४औँ महाधिवेशनपछिका तीन तहको निर्वाचनमा उम्मेदवार छनोटमा कुनै मापदण्ड बनाइएन । उम्मेदवारी छनोटमा नेतृत्व अन्यायपूर्ण र विभेदपूर्ण भयो । सभापति आफैँ आफ्नो गुटको संरक्षक बन्नुभयो । आफ्नो समूहमा रहेकालाई एउटा व्यवहार, समूहमा नभएका र महाधिवेशनमा मत नदिएकालाई अर्को नजर गर्नुभयो,’ उनले भने, ‘यसपटकको राष्ट्रिय सभा निर्वाचनमा संविधानको भावनाअनुसार योग्यमध्येबाट अहिलेसम्म अवसर नपाएका तथा यसअघिका निर्वाचनमा भाग नलिएकाहरू जाने र दोस्रो न्यायोचित हुनुपर्छ भन्ने हो । टिकट बाँड्दै गर्दा सभापति सिंगो कांग्रेसको सभापति बन्नुपर्छ भन्ने हाम्रो दबाब रहनेछ ।’ त्यस्तै भेलामा महासमिति बैठक समयमै गर्न दबाब बढाउने, पार्टीलाई दिशानिर्देश दिने गरी बैठकका एजेन्डा तय गर्ने, भ्रष्टाचार प्रकरणहरू छानबिनका लागि दबाब दिनेलगायत विषयमा छलफल भएको पनि थापाले बताए । 

डा. कोइरालाले पनि राष्ट्रिय सभाको उम्मेदवार चयनमा मापदण्ड बनाउनेबारे छलफल भएको बताए । ‘संसदीय बोर्डबाट उम्मेदवारको क्राइटेरिया बनाऔँ र त्यसलाई अगाडि सारेर उम्मेदवार तय गरौँ भन्नेबारे छलफल भयो,’ कोइरालाले भने । उपसभापति धनराज गुरुङले पनि भेलामा राष्ट्रिय सभामा नयाँलाई अवसर दिनुपर्नेबारे छलफल भएको बताए । भेलामा सहभागी नेताहरूले दुई नेतालाई मिलेर समूहलाई एकढिक्का बनाएर लैजान दबाब दिएका थिए ।

दुवै नेताको एक स्वर– हाम्रो कार्यशैली फरक होला, एजेन्डा उही छ 

कोइराला र थापाले आफूहरूको एजेन्डा जहिल्यै समान रहेको प्रतिक्रिया दिएका छन् । भेलापछि सञ्चारकर्मीसँग उनीहरूले आफूहरूको कार्यशैली फरक भए पनि एजेन्डामा तलमाथि नरहेको दाबी गरेका हुन् । 

कोइरालाले आफूहरूबीच उमेरका कारण पनि सोचाइमा केही फरक शैली भने भएको बताए । ‘यो हाम्रो रेगुलर बैठक नै हो । पहिला पनि हाम्रो भेला हुन्थ्यो, केही समयदेखि बस्न सकेका थिएनौँ । एजेन्डामा हामीहरूबीच एक इन्च पनि फरक छैन । उहाँको उमेर, मेरो उमेर फरक छ, उहाँको सोचाइ, मेरो सोचाइ, उहाँको स्टाइल अफ फङसनिङ, मेरो स्टाइल अफ फङसनिङ फरक छ, भएको त्यत्ति हो । त्यो स्वाभाविक पनि हो । हाम्रो एजेन्डामा फरक छैन,’ कोइरालाले भेलापछि प्रतिक्रिया दिए । 

थापाले पनि आफूहरूभित्रको दृष्टिकोण समान रहेको र कम संवाद भएका कारण असमझदारी बढेको बताए । ‘हामीभित्रको दृष्टिकोण सम्पूर्ण रूपमा एकै छ । तर, हामीबीच एक–अर्कामा गर्ने संवाद, समूहमा गर्ने संवाद, सांसद, केन्द्रीय समितिका साथीहरूसँग गर्नेलगायत सबैखाले संवादमा कमी भयो । कम संवाद गर्दा हामीबीच असमझदारी बनेका हुन् । बैठक र छलफललाई नियमित बनाउने र फरक मतलाई निरुपण गरेर जानुपर्छ भन्ने सहमति भेलामा भएको छ,’ उनले भने, ‘कार्यशैलीगत रूपमा हामीबीच केही असमझदारी रहे यसलाई संवादबाटै हल गर्छौँ । छलफलको सुरुवात भएको छ, अब यसलाई नियमित बनाएर जानेछौँ ।’ 

शेखर–गगन सम्बन्ध बिगार्ने घटनाक्रम
६ पुस ०७९ : संसदीय दलको निर्वाचनमा ३६ सांसद आफ्नो समूहमा रहेको अनुमान गरे पनि २५ मत प्राप्त, समूहबाटै धोका भएको थापाको निष्कर्ष । 

२० वैशाख ०८० : समूहबाट तीन मन्त्री पाउने गरी नाम पठाइयो, तर दुई मात्र मन्त्री बने । यससँगै कोइराला सभापति देउवासँग मिलेको थापाको आशंका । मन्त्रीका लागि तीनजनाको नाम बुझाउँदा कोइरालाले एकतर्फी निर्णय लिएको थापाको आरोप । 

२ साउन ०८० : केन्द्रीय समिति बैठकअघि कोइरालाले समूहको बैठक राखेनन् । बैठकमा महामन्त्रीको विरोध गरेपछि थापा असन्तुष्ट ।

१७ भदौ ०८० : महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलसहित इतर समूहको भेला भएको थियो । जसमा कोइरालालाई बोलाइएन । यसले कोइरालालाई सशंकित बनायो । नयाँ टिम बनाउन थालेको कोइरालाको आशंका ।

२६ असोज ०८० : कोशी प्रदेशको सत्ता परिवर्तनमा कोइरालाले एकतर्फी निर्णय लिएर आफूनिकट नेतालाई मुख्यमन्त्री बनाएको थापाको आरोप । 

 

ad
ad