१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

फेरिएकोे सुन्धारा 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:१६:oo

फुटपाथ पसल र माग्नेहरूलाई हटाएर पैदलमार्ग खुला गरिएको छ । चारवटा आधुनिक प्रतीक्षालय बनाइएपछि यात्रुलाई पनि सहज भएको छ । 

बिहानैदेखि बेलुकीसम्म बस, टेम्पो, माइक्रोबस, ट्याक्सीलगायत सवारीसाधनको ताँती । सडक–किनारमा हात देखाउँदै गाडी कुर्नेहरूको उस्तै भिड । व्यापारीले सडकपेटी नै छोप्ने गरी फिँजाएका सामान । ग्राहक बोलाउन कानै खाने गरी बजाइएका स्पिकर । कचौरा थाप्नेदेखि गीत बजाएर माग्नेसम्मको लस्कर । 

करिब एक वर्षअघिसम्म यो भिड र अस्तव्यस्त छिचोल्दै सुन्धारामा गाडी कुर्न र ओहोरदोहोर गर्न निकै मुस्किल हुन्थ्यो । तर, हिजोआज सुन्धारा क्षेत्र फेरिएको छ । भिडभाड र अस्तव्यस्तताले कोलाहल मच्चिने सुन्धारा हिजोआज शान्त छ । न बाटो ओगटिएको छ, न कानै खाने गरी स्पिकर बजेका छन्, न त माग्नेहरूले नै पैदल हिँड्दा मागेर हैरान पार्छन् । बरु, यात्रुहरूलाई बस्ने आरामदायी प्रतीक्षालय बनाइएको छ । सडक र फुटपाथ ओगटिएका अवैध संरचना हटाइएको छ । एक वर्षअघिसम्म गाडी कुर्न पट्यार लाग्ने सुन्धारामा अहिले धरहराको फेदमा बनिरहेको ‘ब्युटिफिकेसन’, महानगरले कोरेका थरी–थरी चित्र हेर्न र प्रतीक्षालयमा बस्न कुरौँ–कुरौँझैँ लाग्छ । यात्रु र बटुवाहरू सुन्धारा क्षेत्र एकाएक परिवर्तन भएकोमा निकै खुसी मान्छन् । नियमित रूपमा यस रुटबाट गाडी समात्नुपर्ने र घण्टौँसम्म गाडी कुरेर बस्ने यात्रुहरूलाई प्रतीक्षालय बनाइएको छ । सिसैसिसाले बनेका आकर्षक चारवटा प्रतीक्षालय बनेपछि यात्रुहरूलाई बस्न सहज भएको छ । गाडी ढिलो आए पनि कम्तीमा बसेर गाडी कुर्न पाइन्छ भन्ने भएपछि यात्रुहरू राहत महसुस गरेका छन् । ‘पहिले सुन्धारा आउँदा डरलाग्दो थियो, साँझका वेला पकेटमारको डर हुन्थ्यो, वरिपरि अस्तव्यस्त र टहरैटहरा मात्रै थिए, अहिले खुला र शान्त बनेछ,’ बिहीबार दिउँसो सुन्धारामा गाडी कुर्न बसेकी बसुन्धरा बस्ने आरती बस्नेतले सुनाइन्, ‘सुन्धारा त निकै फेरिएछ । गाडी कुर्दा उभिँदा ज्यान दुख्थ्यो, तर अहिले बस्ने ठाउँहरू बनाएको रहेछ, यो निकै राम्रो हो ।’ 

त्यसो त सुन्धारा बसस्टपको सामुन्ने धरहरा छ । पहिले यो धरहरापरिसरलाई गोश्वारा हुलाक कार्यालय र विभिन्न घरटहराले छेकेका थिए । तर, अहिले काठमाडौं महानगरपालिकाले धरहराआसपासमा बनेका अवैध संरचना हटाएको छ भने केन्द्र सरकारले गोश्वारा हुलाक कार्यालयलाई पनि अन्तै सारेको छ । वरिपरिका संरचना हटाएपछि सुन्धारा क्षेत्र खुला बनेको छ । मुख्यतः यस क्षेत्रमा बसस्टप क्षेत्र पहिले निकै अस्तव्यस्त हुन्थ्यो । तर, अहिले खुला छ भने धरहराको फेदमा बनेका सुन्दर संरचनाहरू हेर्न पाइन्छ । यात्रुहरूलाई पैदल हिँड्दा कुनै अवरोध हुँदैन । महानगरपालिकाले फुटपाथ पसल हटाएको छ भने माग्न बस्नेहरूलाई पनि धपाएको छ ।

यात्रुहरूको सहायताका लागि सहरी विकास तथा भवन निर्माण विभागले धरहरा पुनर्निर्माण गरिरहेको जिआइटिसी रमन जेभी कम्पनीलाई प्रतीक्षालय निर्माण गर्न लगाएको हो । जसका कारण सुन्धारामा ओहोरदोहोर गर्ने र गाडी कुर्नेहरूलाई सहज भएको छ । काठमाडौं महानगरपालिकाले सिटिसी मलदेखि काठमाडौं मलसम्म बनेका साना–ठूला गरी १२ वटा अवैध टहरा भत्काएको थियो । अधिकांश टहरा र संरचनाले फुटपाथ अवरोध गरेका थिए । ती संरचना हटाएपछि सुन्धारा क्षेत्र ओहोरदोहोर गर्न सहज हुने गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘सुन्धारामा मुख्यतः धारा बनाउन बाँकी छ, वरपरको ठाउँको हिसाबले खुला र व्यवस्थित भइरहेको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले सुन्धारा हामीलाई हस्तान्तरण गरेपछि सुन्धाराको काम हामीले सुरु गर्ने हो ।’ 

यसअघि साँझपख सुन्धारामा कोलाहल नै मच्चिन्थ्यो । पैदन हिँड्नेलाई धकेलाधकेल गर्नुपर्ने बाध्यता थियो । पकेटमार, चोरीलगायत घटना हुन्थे । अचेल सुन्धारामा यात्रुहरूको भिड भए पनि धकेलाधकेल र कोलाहल भोग्नुपर्दैन । पैदल यात्रुहरू विनाअवरोध पाइला लम्काउन पाउँछन् । 

सुन्धाराको सडकपेटी र सडक ओगटेर काठमाडौं मल र सिभिल मलले पनि संरचना बनाएका थिए । ती संरचना हटाएपछि सुन्धारा फरक र फेरिएको महसुस भएको सुन्धारामा भेटिएका राकेश माझीले सुनाए । ‘गाडी कुर्नेहरूको भिड भए पनि टहरा र फुटपाथ हटाइएपछि खुला बनेको छ, अब यहाँ पुराना फुटपाथ मर्मत गर्नुपर्ने देखिन्छ ।’

सुन्धारास्थित धरहराको दायाँ–बायाँ रहेका सडक पनि पिच गरिएको छ । धरहरा पुनर्निर्माण परियोजनाभित्रै यसको सुधार भएको हो । वसन्तपुरका गौतम शाक्यले सुन्धारा क्षेत्र खुला र शान्त बनेकाले सबैलाई सहज भएको बताए ।

ad
ad