१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
पुनर्निर्माणपछि दरबारमार्गस्थित सात सय वर्ष पुरानो ऐतिहासिक सोह्राहिटी (ढुंगेधारा)
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सोह्राहिटीले पायो पुनर्जीवन : २५ वर्षदेखि पुरिएको ढुंगेधारामा पानी आउन थाल्यो

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:१८:oo

दरबारमार्गस्थित सात सय वर्ष पुरानो ऐतिहासिक ढुंगेधारा सोह्राहिटीले पुनर्जीवन पाएको छ । अतिक्रमण र पुरिएर अस्तित्व नै मेटिने अवस्था रहेको ऐतिहासिक ढुंगेधाराले सम्पदा अभियन्ता यादवलाल कायस्थको पहलमा नव जीवन पाएको हो ।

अभियन्ता कायस्थकै अग्रसरतामा उक्त ढुंगेधारा ०७५ मा उत्खनन सुरु भएको थियो । ०७५ अघिसम्म ढुंगेधारा भएको ठाउँमा फोहोर फाल्ने, माटो र ढुंगा थुपार्ने गरिन्थ्यो । बाहिरबाट हेर्दा उक्त स्थानमा ढुंगेधारा छ भन्ने कसैले अनुमानसम्म गर्न सक्दैनथे । स्थानीयवासी र सम्पदाविज्ञबाट ढुंगेधारा रहेको जानकारी पाएपछि अभियन्ता कायस्थले संरक्षणका लागि पर्यटन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगरपालिकालगायतको ध्यानाकर्षण गराएका थिए ।

०७७ मा पुरातत्व विभागको टोलीले उक्त ढुंगेधाराको अवलोकन गर्दै संरक्षणका लागि बजेट विनियोजन गरेको थियो । विभागले ०७७ मा २५ लाख, ०७८ मा १० र ०७९ मा १० गरी ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि ०८० मा पुनर्निर्माण भएको हो । अभियन्ता कायस्थ भन्छन्, ‘ढुंगेधाराले मौलिकता जोगाउन सफल भयौँ । ढुंगेधाराको निसाना नै भेटिने अवस्थामा थियो, सरकारी निकायलाई बारम्बार घचघच्याएपछि पुनर्निर्माण भयो, अब यसको निकास र पानीको स्रोत खोज्नु छ ।’

ढुंगेधारा पुनर्निर्माणका क्रममा पुरातत्व विभागले सिमेन्ट राखेपछि अभियन्ता कायस्थले मौलिकता बिग्रने भन्दै भत्काएका समेत थिए । उनले पुरानो स्वरूपलाई भत्कन नदिन निरन्तर निगरानी र दबाब दिएका कारण हाल ढुंगेधाराले पुरानै स्वरूप पाएको छ । अहिले धारामा पानी रसाउन थालेको छ । ‘कोही व्यक्तिले ढुंगेधारा पुरेर व्यापारिक कम्प्लेक्स बनाउन लागेको थाहा पाएँ, त्यसपछि तत्कालै ढुंगेधाराको इतिहास खोज्नतिर लागेँ,’ सम्पदा अभियन्ता कायस्थले थपे, ‘यसको इतिहास खोतल्दा निकै पुरानो भएको पुष्टि भयो, त्यसपछि उत्खनन गर्न लाग्यौँ ।’

काठमाडौं महानगरपालिकाको कार्यालयनजिकै रहेर पनि यो ढुंगेधारा संरक्षणमा सुरुमा महानगरले बेवास्ता गरेको कायस्थको गुनासो छ । उनले ढुंगेधारा संरक्षणका लागि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, बागमती प्रदेशको पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, महानगरका मेयर बालेन्द्र साह, पुरातत्व विभागको टोलीलगायतलाई अवलोकन गराएका थिए । 

अभियन्ताहरूले ढुंगेधारा पुरिएकोबारे जानकारी गराएपछि मात्रै विभागले थाहा पाएको पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले बताइन् । ‘यो ढुंगेधारा पूरै छोपिएको रहेछ, अभियन्ताले खोजी गरेर हामीलाई जानकारी गराउनुभएको थियो, त्यसपछि विभागले संरक्षण गर्दै आएको छ,’ उनले भनिन्, ‘यस्ता ऐतिहासिक ठाउँ र वस्तु संंरक्षण गरिरहेका छौँ, यी हाम्रा सभ्यता हुन् ।’ 

सोह्राहिटी १४औँ शताब्दीमा लक्ष्मीदास भारूले बनाएको अभिलेख छ । पुरातत्व विभागको ०३९ मा तयार पारेको नगर अभिलेखमा यो धारा सात सय वर्ष पुरानो भएको उल्लेख छ । तीनधारा पाठशालाको नाम पनि यही सोह्राहिटीको तीनवटा धाराबाट नामकरण भएको हो । सोह्राहिटी रानीपोखरीको चार कुनामा रहेका चार प्रकारका धारामध्ये एउटा मानिन्छ । यसको सम्बन्ध रानीपोखरीसँग जोडिएको पाइन्छ । 

ढुंगेधारावरिवरि संरचना बनेपछि अब धाराको पानी निकासमा समस्या देखिएको छ । यस्तै ढुंगेधारामा दीर्घकालीन रूपमा पानी कहाँबाट ल्याउने भन्ने विषयमा चिन्ता बढेको अभियन्ता कायस्थ बताउँछन् । 

ad
ad