
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अदालतका फैसला र आदेश संघीय सरकारसहित सबैले पालना गर्नुपर्ने बताएका छन्।
सिंहदरबारको फोहोर नउठाएको विषयमा अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले महानगरवासीको पक्षमा भएका आदेशहरू पनि पालना हुनुपर्ने प्रस्ट पारेका छन्।
सर्वोच्च अदालतले फोहोरमैला उठाउन आदेश दिनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता पुष्टि भएको भन्दै सामाजिक सञ्जालमार्फत उनले अदालतको आदेश पालना गर्न प्रतिबद्ध रहेको बताएका हुन्।
‘बागमती, विष्णुमती र मनोहरा तथा यिनका सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्नेसम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउनेसम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुआब्जासम्बन्धी २ दशकअगाडिको सर्वोच्च अदालतको आदेशलगायत आममहानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरूको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी छ,’ मेयर साहले फेसबुकमा लेखेका छन्।
संघीय सरकारलगायतले अदालतको आदेश नमाने नागरिकको घरआँगन र सिंहदरबारको पटांगिनीबीचको विभेदलाई वैधानिक रूपमै स्विकारेको अर्थ लाग्ने प्रस्ट्याएका छन्।