मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विश्वकप लिग–२ अन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध दमदार ओपनिङ गरेका नेपालका ओपनरद्वय कुशल भर्तुेल र आसिफ शेख रन लिने प्रयासमा । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७९ फाल्गुण ३० मंगलबार ०७:११:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीयमा नेपालको अर्को कीर्तिमानी जित

नेपालले एकदिवसीय खेलमा विकेटका आधारमा पहिलोपटक विपक्षी टोलीमाथि नौ विकेटको जित निकाल्यो । सन् २०२० मा नेपालले अमेरिकालाई आठ विकेटले हराएको थियो ।

Read Time : > 4 मिनेट
२०७९ फाल्गुण ३० मंगलबार ०७:११:००

नेपाली खेलाडीहरूले आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ मा व्यक्तिगत रेकर्ड मात्र बनाएका छैनन्, नेपालले समेत एकपछि अर्को खेलमा कीर्तिमानी जितको रेकर्ड राख्दै गइरहेको छ । विश्वकप लिग–२ अन्तर्गत आइतबार नेपालले युएईमाथि एक सय ७७ रनको फराकिलो जित निकालेको थियो । एकदिवसीय खेलमा नेपालले कुनै पनि राष्ट्रविरुद्ध सबैभन्दा फराकिलो जितअन्तर निकालेको युएईविरुद्ध नै थियो । यो रेकर्ड बनाएको भोलिपल्ट (सोमबार) नै नेपालले एकदिवसीय खेलमा अर्को रेकर्ड बनायो । नेपालले पपुवा न्युगिनीमाथि नौ विकेटको जित निकाल्यो ।

नेपालले पहिलोपटक विपक्षी राष्ट्रमाथि विकेटका आधारमा जित हात पारेको यो नै पहिलोपटक हो । यसअघि नेपालले अमेरिकालाई सन् २०२० मा आठ विकेटले हराएको थियो । त्रिवि मैदानमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । एक महिनाअघिसम्म नेपाललाई अर्को वर्ष जिम्बाबेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा स्थान पक्का गर्न १२ मध्ये ११ खेलमा जित निकाल्नुपर्ने थियो । 

एक महिनापछि परिवर्तित नेपाली टोलीले ११ मध्ये १० खेलमा जित हात पारिसकेको छ । यसबीचमा नेपाल एकपटक मात्र युएईसँग पराजित भएको थियो । नेपालले यसै महिना त्रिवि मैदानमा स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको थियो । युएईको भ्रमणमा नेपालले चारमध्ये तीन खेलमा जित हात पारेको थियो । अब बिहीबार युएईलाई पराजित गरे नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहँदै आइसिसी विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछ । नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ । 

चौथो स्थानमा रहेको नेपालले १८ जित र १५ हारको सामना गरेको छ । तेस्रो स्थानमा रहेको नामिबियाले ३६ खेलबाट ३९ अंक जोडेको छ । लिग २ काे अन्तिख खेलमा नेपालले युएईलाई पराजित परािजत गरे तेस्रो स्थानमा रही विश्वकप छनोट खेल्ने सपना पूरा गर्नेछ । नेपालको हारले नामिबिया सीधा छनोट हुनेछ । तर, पराजित भएकाे अवस्थामा पनि ग्लाेबल क्वालिफायरमा पुग्ने ढाेका भने बन्द हुने छैन । त्यसपछि नेपालले लिग २ का पुछारका चार राष्ट्र र एशाेसियट राष्ट्रहरूबीचकाे च्यालेन्ज लिगका शीर्ष दुई राष्ट्रसमेत गरी ६ राष्ट्रबीच हुने सँगै प्लेअफ खेल्दै शीर्ष दुईमा रहेर ग्लाेबल क्वालिफायरमा पुग्न सक्नेछ ।

पाँचौँ स्थानमा रहेको अमेरिकाको लगभग एकदिवसीय मान्यता जोगिएको छ । युएईले आउने दुई खेलमा पपुवा न्युगिनी र नेपाललाई निकै फराकिलो अन्तरले हराउनुपर्नेछ । अमेरिकाको तुलनामा युएईको रनरेट कमजोर छ । 

पपुवा न्युगिनी ९५ रनमै समेटियो
विश्वकप लिग–२ अन्तर्गत एक सय ३८औँ खेलमा पपुवा न्युगिनीले नेपालविरुद्ध कमजोर ब्याटिङ गर्यो । नेपालका दुई स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशीले घातक बलिङ गरेपछि पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमै समेटियो । नेपालका लागि राजवंशीले सात ओभरमा एक मेडन राखी १३ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामीले २२ रन खर्चेर एक विकेट हात पारे । पपुवा न्युगिनीको ब्याटिङ इनिङ्समा कप्तान असाद भालाले सर्वाधिक २० रन बटुले । 

प्रत्युत्तरमा नेपालले सहजै ७.४ ओभरमा एक विकेटको क्षतिमा सय रन जोड्दै नौ विकेटको जित दर्ता गर्यो । कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ३.३ ओभरमा ५१ रनको साझेदारी गरेका थिए । कुशलले १४ बलमा चार चौका र दुई छक्का प्रहार गरी ३३ रन बनाए । कुशल मल्लले १३ बलमा समान एक चौका र छक्का प्रहार गरी १२ रन जोडे । 

आसिफ छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याट्सम्यान
नेपालको एकदिवसीय इतिहासमा आसिफ छिटो अर्धशतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध उनले यो कीर्तिमान बनाएका हुन् । आसिफले २१ बलमा आठ चौका र तीन छक्का प्रहार गर्दै ५३ रनको नटआउट इनिङ्स खेलेका थिए । नेपालले लक्ष्य पछ्याएको इनिङ्सको ७.४ ओभरमा आसिफले चाँद सोपरले फ्याँकेको बललाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । यसअघि सोमपाल कामीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ३८ बलमा अर्धशतक बनाएका थिए । 

सोमपालको रेकर्ड तोडेका आसिफको यो चौथो अर्धशतक हो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक आठ अर्धशतक बनाएका छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा सात अर्धशतक रहेको छ । कुशल भुर्तेल र कुशल मल्लले पनि समान चार अर्धशतकीय इनिङ्स खेलेका छन् । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले तीन अर्धशतक प्रहार गरेका छन् । पूर्वकप्तान पारस खड्का र देव खनालले एकदिवसीय खेलमा समान दुई अर्धशतक बनाएका छन् । 

एकै ओभरमा २६ रन
पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान विस्फोटक रूपमा प्रस्तुत भए । विशेषगरी ओपनरद्वय कुशल भुर्तेल र आसिफले पहिलो बलदेखि नै आकर्षक स्ट्रोक खेलेका थिए । लक्ष्य पछ्याएको इनिङ्सको दोस्रो ओभरमा नेपालले २६ रन बटुलेको थियो । पपुवा न्युगिनीका सोपरको ओभरमा नेपालले एकै ओभरमा सर्वाधिक रन बटुलेको हो । सोपरको पहिलो पाँच बलमा कुशल भर्तुेलले दुई चौका र दुई रन बटुलेका थिए । 

इनिङ्सको २.५ ओभरमा सोपरले दुई नो बल फ्याँकेका थिए । कुशलले दुईवटै नो बलमा चौका प्रहार गरे । ओभरको अन्तिम बलमा कुशलले सोपरविरुद्ध छक्का प्रहार गरेका थिए । नेपालले एक बलमै १६ रन बटुल्यो । एकदिवसीय खेलमा अस्ट्रेलियाले सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध ४८औँ ओभरमा कीर्तिमानी रूपमा एक बलमा २१ रन प्रहार गरेको थियो । 

 सन्दीप विश्व रेकर्डनजिक 
नेपालका लेग स्पिनर सन्दीप उत्कृष्ट फर्ममा छन् । राष्ट्रिय टोलीमा पुनरागमन गरेको दिनदेखि सन्दीपले उत्कृष्ट प्रदर्शन मात्र गरेका छैनन्, नेपालको जितमा महत्वपूर्ण योगदानसमेत दिइरहेका छन् । अहिले सन्दीप विश्व क्रिकेटमा एउटा विश्व रेकर्डनजिक पुगेका छन् ।

एकदिवसीय क्रिकेटमा थोरै खेलमा सय विकेट लिने बलरका रूपमा उनी निकै अगाडि बढेका छन् । सन्दीपले ४० एकदिवसीय खेलबाट ९८ विकेट पुर्‍याएका छन् । एकदिवसीय खेलमा अफगानिस्तानका रसिद खानले ४४ खेलमा सय विकेटको विश्व कीर्तिमान राखेका छन् । खानले सन् २०१८ मा यो रेकर्ड बनाएका थिए । 

पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्नुअघि सन्दीपले ९३ विकेट लिएका थिए । त्रिवि मैदानमा पुनः एकपटक धारिलो बलिङ गरेका सन्दीपले पपुवा न्युगिनीका पाँच ब्याट्सम्यानलाई आउट पार्दै आफ्नो विकेट संख्या ९८ पुर्‍याएका हुन् । विश्वकप लिग–२ मा अझै नेपालको एक खेल बाँकी छ ।

२ चैतमा युएईसँगको प्रतिस्पर्धामा थप दुई विकेट लिए सन्दीप लामिछानेले एकदिवसीय खेलमा अफगानिस्तानका रसिद खानको नाममा रहेको कम खेलबाट सय विकेट लिएको रेकर्ड बराबरी गर्ने

नेपालले २ चैतमा युएईविरुद्ध खेल्दै छ । सो खेलमा सन्दीपले तीन विकेट लिँदा उनी एकदिवसीय खेलमा कम खेलमा छिटो सय विकेट लिने बलर बन्नेछन् । एकदिवसीय खेलमा अस्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट लिएका छन् । स्मरण रहोस् कि एकदिवसीय इतिहासमा छिटो ५० विकेट पूरा गर्ने सन्दीप विश्वकै दोस्रो बलर हुन् । उनले केवल २२ खेलमा ५० विकेट लिएका थिए । श्रीलंकाका अजन्था मेन्डिसले कीर्तिमानी रूपमा १९ खेलमा ५० विकेट लिएका थिए । सन्दीपले पछिल्ला ४८ विकेट केवल १८ एकदिवसीयबाट हात पारेका छन् । 

गत साता सन्दीपले लगातार २७ एकदिवसीय खेलमा विकेट लिएको विश्व रेकर्ड राखेका थिए । उनले अस्ट्रेलियन बलर ब्रेट लीको नाममा रहेको लगातार २६ खेलमा विकेट लिएको रेकर्ड तोडेका थिए । सन्दीपले एकदिवसीय खेलमा तीनपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । उनले पपुवा न्युगिनीविरुद्ध एक मेडनसहित २५ रन खर्चेर पाँच विकेट लिए । यसै त्रिवि मैदानमा सन्दीपले विश्वकप लिग–२ मा १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

उनले सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध ११ रन खर्चेर ६ विकेट हात पारेका थिए । सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ प्रदर्शन त्यही नै थियो । त्रिवि मैदानमा सन्दीपले स्पेलको अन्तिम ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका सेमो कमियालाई आउट पार्दै पाँच विकेट पूरा गरेका थिए ।

सन्दीपले करण केसीको कीर्तिमान बराबरी गरेका छन् । करणले पनि एकदिवसीय खेलमा तीनपटक पाँच विकेट लिएका छन् । नेपालका लागि सोमपाल कामी र ललितनारायण राजवंशीले पनि समान एकपटक पाँच विकेट लिएका छन् । नेपालको एकदिवसीय खेलमा पाँच विकेट लिने पहिलो बलर सोमपाल कामी हुन् । उनले सन् २०१९ मा युएईविरुद्ध यो सफलता हात पारेका थिए ।