मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश सुवेदी काठमाडौं
२०७९ पौष २८ बिहीबार ०६:४०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन

लुम्बिनीले फाइनलमा प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर एक सय नौ रन मात्र बनायो

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ पौष २८ बिहीबार ०६:४०:००

लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले पहिलो संस्करणको उपाधि जितेको हो ।

प्रतियोगितामा १२ मध्ये दुई खेलमा हार व्यहोरेको लुम्बिनीले ट्रफीसँगै ५० लाख प्राप्त गरेको छ । १३ मध्ये ६ खेलमा हारको सामना गरेको विराटनगरले उपविजेताका रूपमा ३० लाख रुपैयाँ पायो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी विराटनगरका हुसेन टलट घोषित भएका छन् । 

 टलट सर्वाेत्कृष्ट खेलाडी
उपविजेता टोली विराटनगरका अलराउन्डर विदेशी खेलाडी हुसेन टलट नेपाल टी–२० लिगको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । पाकिस्तानका २६ वर्षीय अलराउन्डर टलटले १३ खेलमा तीन सय ६७ रन बनाउनुका साथै दश विकेट लिएका थिए । टलटले पाँच लाख प्राप्त गरेका छन् । यसैगरी, काठमाडौंका तीव्र गतिका बलर अभिनाश बोहरा उत्कृष्ट बलर चुनिए ।

अभिनाशले ११ खेलमा ३७.५ ओभर बलिङ गर्दै १९ विकेट लिएका थिए । अभिनाशले उत्कृष्ट बलर हुँदै दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे । फार वेस्ट युनाइेटडका हस्मतउल्लाह साहिदी उत्कृष्ट ब्याट्सम्यान घोषित भए । साहिदीले १० खेलमा चार अर्धशतकसहित चार सय रन बनाए । साहिदीले दुई लाख ५० हजार प्राप्त गरे । विराटनगरकै बायाँहाते स्पिनर सूर्य तामाङ प्रतियोगिता उदीयमान खेलाडी चुनिएका छन् । सूर्यले आठ खेलमा २६.४ ओभर बलिङ गर्दै एक सय १६ रन खर्चेर १२ विकेट लिएका थिए । सूर्यले एक लाख ८० हजार रुपैयाँ हात पारे । 

 चलेन विराटनगरको ब्याटिङ
टस जित्दै पहिलो ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ३३ रनको मध्यम योगफल खडा गरेको थियो । एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा एक सय नौ रन बनाायो । विराटनगरका ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन बनाएका थिए । ४० बलमा अर्जुनले एक चौका र दुई छक्का प्रहार गरे । तल्लो क्रममा क्रिजमा आएका पृथु बास्कोटाले २९ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३१ रनको योगदान गरेका थिए । 

पाकिस्तानका टलटले आठ बलमा १३ रन जोडे । विराटनगरका अन्य ब्याट्सम्यान चल्न नसक्दा मध्यम योगफल पछ्याउन सकेन । ओपनर गौरान्सु शर्मा चार, कप्तान रोहितकुमार पौडेल शून्य, राज नानन र विवेक यादव समान ६ रनमा पेभेलियन फर्के । अमर रौटेला आठ बनाएर आउट भए । बलिङतर्फ लुम्बिनीका सागर ढकालले र हर्मित सिंहले सर्वाधिक दुई–दुई विकेट लिएका थिए । चार ओभर बलिङ गरेका सागरले १९ र हर्मितले १६ रन खर्चिए । यसबाहेक विपुल शर्मा र किशोर महतोले समान एक विकेट लिन सफल भए । 

 लुम्बिनीको राम्रो सुरुवात 
टस जिती पहिलो ब्याटिङ गरेको लुम्बिनीको सुरुवात उत्कृष्ट रह्यो । लुम्बिनीका लागि हर्मित सिंह र लाहिरू मिलान्थले पहिलो विकेटका लागि ५.५ ओभरमा ६४ रनको साझेदारी गरेका थिए । विराटनगरलाई पहिलो सफलता जोसेपले दिलाए । यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै एक सय ३३ रन बनाएको थियो । हर्मितलाई ३० रनमा आउट पारे । हर्मितले १८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३० रनको योगदान दिए । युवा ब्याट्सम्यान कुशल भुर्तेल फाइनलमा चम्कन सकेनन् । तीन बल खेलेका कुशल साउदबाट स्टम्पिङ भए । त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र लाहिरूबीच तेस्रो विकेटका लागि १६ रनको साझेदारी भयो ।

श्रीलंकाली खेलाडी लाहिरूले सर्वाधिक ४१ रन बनाए । ओपनर लाहिरूले २८ बलमा समान तीन चौका र छक्का प्रहार गरेका थिए । कप्तान दीपेन्द्रसिंहले २० रन र ईशान पाण्डेले १८ रन बनाउन सफल भए । विराटनगरका सात ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ विराटनगरका नन्दन यादव र राज नाननले समान दुई विकेट लिएका थिए । केओन जोसेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेलले एक–एक विकेट लिन सफल भए । प्रतियोगितामा लुम्बिनी, विराटनगर, जनकपुर, काठमाडौं, फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्ससहित ६ टोलीको सहभागिता रहेको थियो ।

समग्रमा प्रतियोगिता राम्रो भएन 
दीपेन्द्र सिंह ऐरी, कप्तान, लुम्बिनी अल स्टार्स

प्रतियोगिता समग्रमा राम्रो भएन । खेलाडीले पारिश्रमिक नपाएको समस्या यथावत् थियो । खेलाडीहरू समयमै मैदान नपुग्नुले धेरै विवाद भयो । हाम्रो टोलीको व्यवस्थापन राम्रो हुँदा यस्तो समस्या व्यहोर्नुपरेन । यद्यपि, केही विवाद नआएको होइन । टी–२० लिगमा कसले के गर्‍यो, थाहा भएन । प्रतियोगिता सफलतापूर्वक आयोजना भयो । नेपाली क्रिकेटका लागि यो राम्रो पक्ष हो । फाइनल सोचेजस्तो भएन । पहिलो ब्याटिङ गर्दा जुन योगफल सेट थियो, त्यो हामीले प्राप्त गर्न सकेनौँ । ब्याटिङको तुलनामा बलिङमा राम्रो भयो । आफ्नै कप्तानीमा लुम्बिनीलाई ट्रफी दिलाउँदा खुसी छु । 

सोचेजस्तो फाइनल भएन
रोहित पौडेल, कप्तान, विराटनगर सुपर किंग्स 

लक्ष्य पछ्याएको इनिङ्समा हाम्रो ब्याटिङ चलेन । विश्वास गरेका खेलाडीसँगै मैले पनि राम्रो ब्याटिङ गर्न सकिनँ । हुसेनको समेत राम्रो भएन । फाइनल सोचेजस्तो भएन । मध्यम योगफलसमेत पछ्याउन नसक्दा केही हदसम्म स्तब्ध भएको छु । लिगबाट युवा खेलाडी सूर्य तामाङ राम्रो भएर निस्किए । हामीले फाइनलमा योभन्दा अझ राम्रो गर्न सक्थ्यौँ ।