नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन

लुम्बिनीले फाइनलमा प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर एक सय नौ रन मात्र बनायो

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले पहिलो संस्करणको उपाधि जितेको हो ।

प्रतियोगितामा १२ मध्ये दुई खेलमा हार व्यहोरेको लुम्बिनीले ट्रफीसँगै ५० लाख प्राप्त गरेको छ । १३ मध्ये ६ खेलमा हारको सामना गरेको विराटनगरले उपविजेताका रूपमा ३० लाख रुपैयाँ पायो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी विराटनगरका हुसेन टलट घोषित भएका छन् । 

 टलट सर्वाेत्कृष्ट खेलाडी
उपविजेता टोली विराटनगरका अलराउन्डर विदेशी खेलाडी हुसेन टलट नेपाल टी–२० लिगको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । पाकिस्तानका २६ वर्षीय अलराउन्डर टलटले १३ खेलमा तीन सय ६७ रन बनाउनुका साथै दश विकेट लिएका थिए । टलटले पाँच लाख प्राप्त गरेका छन् । यसैगरी, काठमाडौंका तीव्र गतिका बलर अभिनाश बोहरा उत्कृष्ट बलर चुनिए ।

अभिनाशले ११ खेलमा ३७.५ ओभर बलिङ गर्दै १९ विकेट लिएका थिए । अभिनाशले उत्कृष्ट बलर हुँदै दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे । फार वेस्ट युनाइेटडका हस्मतउल्लाह साहिदी उत्कृष्ट ब्याट्सम्यान घोषित भए । साहिदीले १० खेलमा चार अर्धशतकसहित चार सय रन बनाए । साहिदीले दुई लाख ५० हजार प्राप्त गरे । विराटनगरकै बायाँहाते स्पिनर सूर्य तामाङ प्रतियोगिता उदीयमान खेलाडी चुनिएका छन् । सूर्यले आठ खेलमा २६.४ ओभर बलिङ गर्दै एक सय १६ रन खर्चेर १२ विकेट लिएका थिए । सूर्यले एक लाख ८० हजार रुपैयाँ हात पारे । 

 चलेन विराटनगरको ब्याटिङ
टस जित्दै पहिलो ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ३३ रनको मध्यम योगफल खडा गरेको थियो । एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा एक सय नौ रन बनाायो । विराटनगरका ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन बनाएका थिए । ४० बलमा अर्जुनले एक चौका र दुई छक्का प्रहार गरे । तल्लो क्रममा क्रिजमा आएका पृथु बास्कोटाले २९ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३१ रनको योगदान गरेका थिए । 

पाकिस्तानका टलटले आठ बलमा १३ रन जोडे । विराटनगरका अन्य ब्याट्सम्यान चल्न नसक्दा मध्यम योगफल पछ्याउन सकेन । ओपनर गौरान्सु शर्मा चार, कप्तान रोहितकुमार पौडेल शून्य, राज नानन र विवेक यादव समान ६ रनमा पेभेलियन फर्के । अमर रौटेला आठ बनाएर आउट भए । बलिङतर्फ लुम्बिनीका सागर ढकालले र हर्मित सिंहले सर्वाधिक दुई–दुई विकेट लिएका थिए । चार ओभर बलिङ गरेका सागरले १९ र हर्मितले १६ रन खर्चिए । यसबाहेक विपुल शर्मा र किशोर महतोले समान एक विकेट लिन सफल भए । 

 लुम्बिनीको राम्रो सुरुवात 
टस जिती पहिलो ब्याटिङ गरेको लुम्बिनीको सुरुवात उत्कृष्ट रह्यो । लुम्बिनीका लागि हर्मित सिंह र लाहिरू मिलान्थले पहिलो विकेटका लागि ५.५ ओभरमा ६४ रनको साझेदारी गरेका थिए । विराटनगरलाई पहिलो सफलता जोसेपले दिलाए । यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै एक सय ३३ रन बनाएको थियो । हर्मितलाई ३० रनमा आउट पारे । हर्मितले १८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३० रनको योगदान दिए । युवा ब्याट्सम्यान कुशल भुर्तेल फाइनलमा चम्कन सकेनन् । तीन बल खेलेका कुशल साउदबाट स्टम्पिङ भए । त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र लाहिरूबीच तेस्रो विकेटका लागि १६ रनको साझेदारी भयो ।

श्रीलंकाली खेलाडी लाहिरूले सर्वाधिक ४१ रन बनाए । ओपनर लाहिरूले २८ बलमा समान तीन चौका र छक्का प्रहार गरेका थिए । कप्तान दीपेन्द्रसिंहले २० रन र ईशान पाण्डेले १८ रन बनाउन सफल भए । विराटनगरका सात ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ विराटनगरका नन्दन यादव र राज नाननले समान दुई विकेट लिएका थिए । केओन जोसेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेलले एक–एक विकेट लिन सफल भए । प्रतियोगितामा लुम्बिनी, विराटनगर, जनकपुर, काठमाडौं, फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्ससहित ६ टोलीको सहभागिता रहेको थियो ।

समग्रमा प्रतियोगिता राम्रो भएन 
दीपेन्द्र सिंह ऐरी, कप्तान, लुम्बिनी अल स्टार्स

प्रतियोगिता समग्रमा राम्रो भएन । खेलाडीले पारिश्रमिक नपाएको समस्या यथावत् थियो । खेलाडीहरू समयमै मैदान नपुग्नुले धेरै विवाद भयो । हाम्रो टोलीको व्यवस्थापन राम्रो हुँदा यस्तो समस्या व्यहोर्नुपरेन । यद्यपि, केही विवाद नआएको होइन । टी–२० लिगमा कसले के गर्‍यो, थाहा भएन । प्रतियोगिता सफलतापूर्वक आयोजना भयो । नेपाली क्रिकेटका लागि यो राम्रो पक्ष हो । फाइनल सोचेजस्तो भएन । पहिलो ब्याटिङ गर्दा जुन योगफल सेट थियो, त्यो हामीले प्राप्त गर्न सकेनौँ । ब्याटिङको तुलनामा बलिङमा राम्रो भयो । आफ्नै कप्तानीमा लुम्बिनीलाई ट्रफी दिलाउँदा खुसी छु । 

सोचेजस्तो फाइनल भएन
रोहित पौडेल, कप्तान, विराटनगर सुपर किंग्स 

लक्ष्य पछ्याएको इनिङ्समा हाम्रो ब्याटिङ चलेन । विश्वास गरेका खेलाडीसँगै मैले पनि राम्रो ब्याटिङ गर्न सकिनँ । हुसेनको समेत राम्रो भएन । फाइनल सोचेजस्तो भएन । मध्यम योगफलसमेत पछ्याउन नसक्दा केही हदसम्म स्तब्ध भएको छु । लिगबाट युवा खेलाडी सूर्य तामाङ राम्रो भएर निस्किए । हामीले फाइनलमा योभन्दा अझ राम्रो गर्न सक्थ्यौँ । 

सुझावित समाचार