शीर्ष नेताहरू किन मतदातामाझ आफ्ना उम्मेदवारलाई मन्त्री र मुख्यमन्त्री बनाउने आश्वासन बाँड्छन् ?
अहिलेका शीर्ष नेताहरू राज्यलाई आफ्नो बपौती सम्झिन्छन् । सार्वजनिक जिम्मेवारी र त्यसको विधि, पद्धति र प्रक्रिया बिर्सिएर उनीहरू यसलाई आफ्नो अंश नलाग्ने सम्पत्तिजसरी जति पनि दुरुपयोग गरे हुन्छ भन्ने ठान्छन् । मतदातालाई तपाईं जिताएर पठाइदिनुस्, हामी मन्त्री, मुख्यमन्त्री बनाइदिन्छौँ भन्नु यही चरम दुरुपयोगको एउटा प्रतीकात्मक उत्तरमात्रै हो ।
चुनावी सभामा भाषण गर्दा देखाइने उडन्ते सपना र विकासका गफलाई कसरी लिनुहुन्छ ?
यो आफ्नो खोक्रोपनलाई दर्साउने अभ्यास हो । स्थानीय तह निर्वाचनको प्रवृत्तिलाई हेर्दा जनताले ठूला दलको विकल्प खोजेको देखिन्छ । तर, सबै दल उस्तै भएको अवस्थामा कांग्रेसको ठाउँमा एमाले, एमालेको ठाउँमा माओवादी, माओवादीको ठाउँमा अर्कोले जित्ने उदाहरण प्रशस्तै देखियो । यसले जनताले यस्ता उडन्ते गफ पत्याएका छैनन् भन्न संकेत गर्छ ।
मतदाताले नेताका यस्ता रणनीति र भाषणलाई कसरी बुझ्ने त ?
मतदाताले आफ्नो अधिकारलाई खाली निर्वाचनको समयमा मात्रै उपयोग नगरेर नेता र दललाई विभिन्न तरिकाले जिम्मेवार बनाउने खालको जागरुकता देखाउनुपर्छ । ढिलोचाँडो नेपालमा ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को प्रयोग हुने सम्भावना देखिन्छ । भोट नहालेर बहिष्कार गर्ने पनि मतदाताको अधिकार हो । कसैले पनि मत हालेनन् भने यो चुनाव वैध हुँदैन ।