नेपालमा जलनका बिरामी र उपचारको अवस्था कस्तो छ ?
नेपालमा जलन एक महŒवपूर्ण स्वास्थ्य समस्या हो । घरायसी वातावरण, विशेषगरी खाना पकाउने क्रममा, जाडोमा आगो ताप्दा तथा तातो पानी वा तातो तरल पदार्थका कारण जलनका घटना हुने गर्छ । स्वास्थ्य सेवा विभागको पछिल्लो तथांकअनुसार आव २०८१–८२ मा ७९ हजार ६३० जलनका घटना रिपोर्ट भएको देखिन्छ । साथै, जलनपश्चात् समयमै सही प्राथमिक उपचार र विशेषज्ञ उपचार नपाउनु नेपालको ठुलो चुनौती हो । सबै ठाउँमा दक्ष जनशक्ति पनि छैनन् र दुर्गम क्षेत्रबाट अस्पताल पुग्न धेरै समय लाग्छ । पहिलेको भन्दा अहिलेको अवस्थामा केही सुधार हुँदै आएको छ, नेपाल सरकारले केही सुधारका कदम चालेको छ, तर त्यो पर्याप्त छैन । उपचारदेखि समाजमा सम्मानपूर्वक पुनर्स्थापना, रोकथाम तथा आवश्यक कानुन निर्माणलगायत धेरै गर्न बाँकी छ ।
जलनका बिरामीको उपचार र न्यायका लागि कस्तो कानुनी व्यवस्था चाहिन्छ ?
जलनजन्य हिंसाको घटनामा कानुनी सहयोगको खाँचो पर्छ । अहिले जलनजन्य हिंसाको घटनामा तेजाब आक्रमण र अन्य प्रकारका जलनका हिंसालाई राज्यले फरक–फरक कानुन तथा दण्ड, सजायको व्यवस्था गरेको छ । उस्तै प्रकृतिको घटनामा तेजाब आक्रमणको घटनामा कडा र अन्य प्रकारका जलनजन्य हिंसामा कम सजायको व्यवस्था गरिएको छ । त्यसैले, मुलुकी अपराध संहिता–२०७४ संशोधन गरी तेजाब आक्रमण र अन्य जलनका हिंसालाई राज्यले समान दण्ड सजाय तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।
जलनको उपचार काठमाडौंकेन्द्रित बन्नुको कारण के होला ?
गम्भीर जलनका बिरामीलाई शल्यक्रिया र विशेष उपचार चाहिन्छ । काठमाडौंबाहिर विशेषज्ञ जनशक्ति तथा उपकरणसहितको जलन उपचार अस्पताल छैनन् । काठमाडौंमा अहिले विशेषज्ञ संरचना तुलनात्मक रूपमा सबल छ । जलनको उपचार काठमाडौंमा मात्र उपलब्ध गराउने होइन, बिरामीलाई जलन भएको ठाउँदेखि प्राथमिक उपचार तथा आवश्यक बिरामीको उपयुक्त स्थान पठाउने व्यवस्था हुनुपर्छ ।