नेपाली सेनाले २०७९ सालको बडादसैँमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई २९ भदौदेखि निःशुल्क यातायात सुविधा दिन थालेको छ। विभिन्न कल्याणकारी सेवा–सुविधाअन्तर्गत सेनाले १८ असोजसम्म हवाई तथा जमिनी यातायातको निःशुल्क सुविधा दिन थालेको हो।
‘नेपाली सेनाद्वारा जमिनी एवं हवाई मुभ सञ्चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरूलाई आ–आफ्नो गन्तव्यस्थलसम्म पुर्याउने कार्य भइरहेको जानकारी गराइन्छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सेनाका अनुसार सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा जमिनी बाटोबाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी-हिमाली क्षेत्रहरूमा हवाई उडान सञ्चालन गर्ने योजना छ। सेनाले २९ भदौदेखि आइतबारसम्म उडानमार्फत १३४ जना सकलदर्जा एवं आश्रित परिवारहरूलाई सेवा दिएको छ। गाडीको सुविधा भने सेनाले ४ असोजबाट सुरु गर्न लागेको छ।
‘प्रधानसेनापति प्रभुराम शर्माले पदबहाली भएपश्चात् सकलदर्जालाई गर्नुभएको सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम नेपाली सेनाले आफ्ना सकलदर्जा तथा आश्रित परिवारहरूलाई प्रदान गर्दै आइरहेको कल्याणकारी सेवा–सुविधाहरूअन्तर्गत सञ्चालन गरिएको हो,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ। सेनाका अनुसार गत वर्ष यस सुविधाअन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत १३४० जना गरी जम्मा १४५२ सैनिक र उनीहरूका परिवार लाभान्वित भएका थिए।
सेनाले यो वर्ष दसैँको बिदामा जाने अधिकतम सकलदर्जा तथा आश्रित परिवारहरूलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरूको गन्तव्यसम्म पुर्याउने योजना रहेको जनाएको छ।