एआइजी दाहाललाई सेवाबाट हटाइयो

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ आचरण र अनुशासनसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको अभियोगमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सरकारले सेवाबाट हटाएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार उनलाई सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार सेवाबाट हटाउने निर्णय गरेका छन् ।

सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा गत शुक्रबार गृह मन्त्रालयले उनलाई निलम्बन गरी जाँचबुझ थालेको थियो । जाँचबुझ प्रतिवेदनका आधारमा उनलाई सेवाबाट हटाइएको हो । उनले बारम्बार अनुशासनहीन काम गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान–प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति २०८३/६/२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

दफा १३३ (ग) र (च) अनुसारको कसुरमा उनलाई सेवाबाट हटाइएको छ । ११३ (ग) मा आरणसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको तथा १३३ (च) मा बराबर अनुशासनहीन काम गरेकामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठरिने गरी सेवाबाट हटाउन सकिने उल्लेख छ । सोही दफाअनुसार उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ ।

नियमावलीले एआइजीलाई विभागीय कारबाही अधिकार गृहमन्त्रीलाई दिएको छ । यस्तो कारबाहीउपर नेपाल सरकार (मन्त्रिपरिषद्)मा उनले पुनरवलोकन गर्न पाउनेछन् । दाहालले सुरक्षासम्बन्धी सूचना बिचौलिया इनम सापकोटालाई पठाएको खुलेपछि गृहले छानबिन थालेको थियो । सापकोटामार्फत दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सूचना पठाएका थिए । 

जसलाई सरकारले गम्भीर रूपमा लिएर कारबाही गरेको हो । प्रहरीमा विशिष्ट श्रेणीको अधिकृतलाई यसरी विभागीय कारबाही गरेर हटाइएको यो पहिलो घटना भएको प्रहरी अधिकारी बताउँछन् ।

सुझावित समाचार