नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : सभापति गगन थापा

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण
नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ :  सभापति गगन थापा

तस्बिर :संजित परियार/ नयाँ पत्रिका


काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए। उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने भन्दै काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्नेमा जोड दिए।

सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने उल्लेख गर्दै थापाले अबको लक्ष्य पार्टीभित्रको प्रतिस्पर्धाभन्दा बाहिर नागरिकको विश्वास जित्नु रहेको बताए। किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने प्रतिबद्धता जनाउँदै उनले कांग्रेस र नागरिकबिच कमजोर बनेको विश्वास पुनर्स्थापित गर्नुपर्ने बताए।

थापाले कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने स्पष्ट पार्दै कानुन सबैका लागि समान हुनुपर्ने धारणा राखे। महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै उनले सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको आगामी कार्ययोजना बनाइने बताए।

‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ,’ थापाले भने। उनले पार्टीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउने र व्यवहारमै परिवर्तन प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे।

सुझावित समाचार