टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असइ महाकाली नदीमा बेपत्ता

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

कञ्चनपुर/ कञ्चनपुरको क्षतिग्रस्त दोधाराचाँदनी झोलुंगे पुल क्षेत्रमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका एक सहायक निरीक्षक (असइ) महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।

शनिबार दिउँसो टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक सन्दीप थारू महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुई साताअघि झोलुंगे पुलसँगै महेन्द्रनगरदेखि दोधाराचाँदनीसम्म विस्तार गरिएको नेपाल टेलिकमको तारसमेत चुँडिएको थियो। क्षतिग्रस्त तार मर्मतका लागि नदीको वारिपारि तान्ने क्रममा ब्यालेन्स बिग्रिएपछि असइ थारू नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

बेपत्ता असइको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

सुझावित समाचार