परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए, बाढी पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर दिने

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं /अस्ट्रेलियाको औपचारिक भ्रमण तथा फिजी र टुभालुमा आयोजित प्रि–कोप लिडर्स इभेन्टमा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको छ। यससँगै बाढी विपद्का लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ।

फिजीमा आयोजित प्रि–कोप कार्यक्रममा मन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमाली तथा टापु राष्ट्रहरूले भोगिरहेका चुनौती, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र हानि तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउनुपर्ने विषय उठाएका थिए।

अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको भेटवार्तामा जलवायु सहकार्य, नेपाली विद्यार्थीको हित, व्यापार, लगानी, शैक्षिक सहकार्य तथा दुई देशबीच सिधा हवाई सम्पर्क विस्तारबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले नेपाली डायस्पोराका प्रतिनिधिसँग पनि अन्तरक्रिया गर्दै बाढीपछिको पुनर्निर्माणमा प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि परिचालन गर्न आग्रह गरेका थिए।

सुझावित समाचार