एमालेमा युवा र नयाँ–पुरानाको सन्तुलन मिलाउन योगेश भट्टराईको माग, पदाधिकारी चयन हतारमा नगर्न आग्रह

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेकपा एमालेका उपमहासचिव नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको आन्तरिक एकता कायम राख्दै केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न आग्रह गरेका छन्।

एमाले स्थायी कमिटीको जारी बैठकमा आफू आवश्यक कामका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन्। उनले पार्टीभित्रको एकता बलियो बनाउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि प्रमुख राजनीतिक दलहरूले रूपान्तरणसहित अग्रसरता लिनुपर्ने बताएका छन्।

भट्टराईले बाँकी केन्द्रीय सदस्य मनोनयन गर्दा ४० वर्षमुनिका युवालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। साथै, विगतमा छुटेका भूगोल र समुदायको प्रतिनिधित्व तथा पार्टीभित्रको आन्तरिक सन्तुलनलाई समेत ध्यान दिनुपर्ने उनको माग छ। स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबिच सन्तुलन मिलाएर स्पष्ट मापदण्डका आधारमा निर्णय गर्नुपर्ने भट्टराईको भनाइ छ।

यसअघि असोजको पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा पनि ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकता दिनुपर्ने तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाको मिश्रण कायम गर्नुपर्ने विषय उठाइएको उनले स्मरण गराएका छन्। तर, त्यसवेला भएका निर्णयले आफूहरूले उठाएको भावनालाई समेट्न नसक्दा सकारात्मक ऊर्जा पैदा हुन नसकेको उनले बताएका छन्।

आसन्न निर्वाचनसहित पार्टीसामु रहेका चुनौती सामना गर्न आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गर्दै भट्टराईले पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय नगर्न नेतृत्वलाई सचेत गराएका छन्।

उनले केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनजस्ता महत्त्वपूर्ण विषयमा हतारमा निर्णय गर्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

‘हतारमा निर्णय र फुर्सदमा पछुताउने’ अवस्था आउन नदिन आवश्यक परे यी एजेन्डा एमाले केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने भट्टराईको सुझाव छ।

उनको सन्देशले एमालेभित्र नेतृत्व चयन, युवा प्रतिनिधित्व, समावेशिता र आन्तरिक शक्ति सन्तुलनको विषयलाई पुनः बहसमा ल्याएको छ।

सुझावित समाचार