डेंगु जोसुकैलाई पनि हुन सक्छ । र, यसले सबै उमेर समूहका व्यक्तिलाई गलाउँछ । विशेष गरी बालबालिका पनि बाहिर खुला ठाउँमा खेल्न जाँदा लामखुट्टेको टोकाइबाट संक्रमणको चपेटामा पर्न सक्ने जोखिम रहन्छ ।
त्यस्तै, वृद्धवृद्धामा रोगसँग लड्ने शक्ति कम हुन्छ । विभिन्न संक्रमण फैलँदा अवस्था जटिल पनि बन्न सक्छ ।
प्रायः वृद्धवृद्धा मधुमेह, सुगर, मुटु, मिर्गौलालगायत दीर्घरोगका बिरामी पनि हुन सक्छन् । एउटा रोगका बिरामीमा अर्को रोग थपिएमा गाह्रो हुन सक्छ ।
बच्ने उपाय
- बालबालिका र वृद्धवृद्धालाई लामो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाइदिने ।
- लामखुट्टे आउने ठाउँमा नपठाउने/नराख्ने ।
- लामखुट्टे भगाउने खालका मलम छालामा लगाइदिने ।
- बालबालिका र वृद्धवृद्धालाई सुताउँदा झुलभित्र मात्र सुताउने ।
- घरवरपरको सरसफाइमा ध्यान दिने ।
समस्या देखिए के गर्ने ?
- कडा ज्वरो आउने, ज्वरो नघट्ने आँखाको गेडी दुख्ने, बान्ता आउने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण डेंगुका कारण पनि देखिएको हुन सक्छ । यस्ता समस्या देखिएमा तुरुन्तै चिकित्सकको सम्पर्कमा जाने र चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने ।
- अन्य समस्या छैन, ज्वरो मात्र आएको हो भने घरमै आराम गराउने, उमेरअनुसारको पारासिटामोल खुवाउने ।
- झोलिलो तथा पोषिलो खाना खुवाउने ।
- पर्याप्त पानी खुवाउने ।