नयाँ पत्रिका अर्काइभमा प्रदीप गिरि :
प्रदीप गिरिलाई प्रश्नैप्रश्न
तपाईंं कहाँ चुक्नुभयो ? तपाईंको पार्टीले नयाँ विश्वको सैद्धान्तिक र वैचारिक अवधारणा अगाडि बढाएर नयाँ पुस्तालाई कसरी प्रेरित गर्न सक्थ्यो ?
प्रदिपजी, नमस्कार ! भदौ ८ गतेको ‘नयाँ पत्रिका’मा प्रकाशित तपाईंंको अन्तर्वार्ता पढेपछि मनमा उब्जेका जिज्ञासा व्यक्त गर्न उत्तरको अपेक्षासहित पत्र लेखेका छौँ । युवा नेतृत्वको बहस चलिरहँदा तपाईंंले उठान गर्नुभएको युवा नेतृत्वमा वैचारिक र सैद्धान्तिक खडेरीको विषय निकै महत्वपूर्ण लाग्यो । हाम्रो समाजले राजनीतिमा युवा नेतृत्वको आशा गरिरहँदा उही पुराना र पाका, थाके–हारेका अनुहारहरू अगाडि आइरहेका छन् । निकट भविष्यमा पनि आशा गर्न सकिने खासै ठाउँ देखिँदैन । यहीबीच, ‘इनफ इज इनफ’ अभियन्ताले सुरु गरेको आन्दोलनले सरकारसमक्ष सशक्त र सटिक प्रश्नहरू खडा गरिदिएको छ । ‘कोमा’मा पुगेको नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा कतै नदेखिँदा अहिंसात्मक आन्दोलन र अनशनमार्फत सडकमा उत्रिएका ती युवाले जवाफदेहिताको सवाल खरो रूपमा अगाडि सारे । थुप्रै युवा सडकमा उत्रिएपछि कैयौँ वर्षदेखि सुषुप्त युवा जोस सडकमा छताछुल्ल भयो । ठूला पार्टीहरूमा युवाले तुरुन्तै अवसर नपाउने प्रस्ट भइरहँदा वैकल्पिक भनिने राजनीतिमा पनि आस गर्ने ठाउँ एकदमै कम छ । अन्तर्वार्तामा तपाईंंले ती युवामा सिद्धान्त र विचारको कमी औँल्याउनुभएको कारणले सैद्धान्तीकरणको पथप्रदर्शकको रूपमा अगाडि उत्रिन तपाईंंलाई आह्वान गर्दै यो पत्र लेखेका हौँ ।
प्रदिपजी, तपाईंंको दार्शनिक र सैद्धान्तिक ज्ञानमा हामीलाई सन्देह छैन । तर पनि अन्तर्वार्ता पढिरहँदा मनमा केही उल्झन पैदा भए । तपाईंंले शिक्षा, स्वास्थ्य प्रणाली र भौतिक निर्माणमा समस्या रहेको बताउनुभयो । ‘तीनवटै समस्या बुझेको, समाधानको उपाय र संकल्प भएको नेतृत्व हुनुपर्छ । सँगसँगै, उदात्त आदर्शवाद, विचारधारा हुनुपर्यो । नाम र दाम कमाउन आएको हैन, तीन करोड जनताको हितमा केही न केही गरेर छाड्छु भन्ने कठोर संकल्प हुनुपर्छ’ भन्नुभयो । अहिले जनहितमा काम नगर्ने संकल्प भएका नेताहरूले देश चलाइरहँदा र फेरि पनि चुनावमा पटक–पटक उनीहरूले नै जितिरहने सम्भावनाबीच मुलुकको शासन प्रणालीमाथि तपाईंंको टिप्पणी के हो ? संसदीय व्यवस्थाले काम नगरेको हो ? वा, व्यवस्था जुनसुकै भए पनि नेतृत्वमै समस्या हो ? वा, समस्या कर्मचारीतन्त्र या अन्त कतै छ ? ठूला पार्टीका ठूला नेताहरूले कुर्सी छोड्ने कुनै संकेत नदिँदा वैकल्पिक शक्ति भएर आउने युवालाई शासन प्रणालीमा तपाईंं के–कस्तो ‘प्रेस्क्राइब’ गर्नुहुन्छ ? भ्रष्टाचार, बिचौलियातन्त्र, दण्डहीनता, नातावाद, कृपावादलगायतका यावत् समस्यामा तपाईंंको विचार र समाधानका उपाय के–कस्ता छन् ? देशलाई समतामूलक सहभागिताका आधारमा समावेशी बनाउँदै लग्ने, आर्थिक समृद्धितर्फ डोर्याउने र संविधानमा कायम विभेदपूर्ण प्रावधानहरूको हल गर्ने तपाईंंको मोडेल के हो ? यसमा युवा र युवा नेतृत्व कसरी अटाउँछ ?
अन्तर्वार्तामा ‘आजका युवाले अलिअलि बुझ्दै छन्, समग्रमा बुझेका छैनन् । ‘इनफ इज इनफ’ स्वार्थभन्दा माथि उठेको देखेँ । स्वार्थत्याग अनिवार्य सर्त हो, पर्याप्त होइन’ भन्नुभयो । साथै, ‘युवालाई हामीले गौरवीकरण किन गर्नुहुँदैन भने हिटलरलाई बोक्ने पनि युवा थिए । दुनियाँको घनघोर दक्षिणपन्थीदेखि समाजवादी क्रान्तिसम्म युवाले नै गरेको हो । नेपाली युवाको तारिफ गर्छु, उनीहरूले सही सवाल पक्रेको देखिन्छ’ भन्नुभयो ।
‘आजका युवामा जोस, जाँगर भए पनि अग्रगामी दृष्टिकोणको अभाव छ’ भन्ने तपाईंंको नैतिक र सैद्धान्तिक धरातल के हो ? यसको प्रतिप्रश्नस्वरूप कसैले ‘प्रदीप गिरिसँग अग्रगामी दृष्टिकोण भए पनि परिवर्तन गर्न सक्ने जोस र जाँगर छैन’ भन्नुजत्तिकै अर्थहीन कुरा हो । यस सन्दर्भमा युवाको जोस र जाँगरमा अग्रगामी दृष्टिकोणको सम्मिश्रण कसरी गर्न सकिन्छ ? युवालाई दोष दिनुभन्दा यसमा तपाईंंले कस्ता समाधान पेस गर्नुहुन्छ ?
‘आज समाजको विचार निर्माणको आधार ‘युट्युब’ भएको छ । त्यहाँ कुनै मार्क्सवादीको उपस्थिति छैन । पुँजीवादले थिचेको मिडिया छ’ भन्नुभएको रहेछ । तपाईंंले भन्नुभएजस्तो ‘सोसल डेमोक्र्याट भनिने र आफूलाई मार्क्सवादी भनाउने विवेकशील तत्व एकठाउँमा’ ल्याउने माध्यम के हो ? नेपालमै पनि कुन यस्तो धागो होला, जसले कांग्रेस र नेकपालाई एउटै धरातलमा उभ्याउँछ ? सोसल डेमोक्रेसी र माक्र्सवादमा पकड राख्ने तपाईंंले यस विषयमा के–कसो सोच्नुभएको छ ? यो सम्भव देख्नुहुन्छ ?
तपाईंको विचारमा कांग्रेस सोसल डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो ? नेकपा मार्क्सवादी, लेनिनवादी पार्टी हो ? के लेनिनले यस्तै ‘भ्यानगार्ड’ पार्टीको कल्पना गरेका थिए ? हैन भने तपाईंंको ‘वैचारिक खजाना’ के हो ? त्यो कता भेटिन्छ ? नेपाली युवाले सोसल डेमोक्रेसी र मार्क्सवादको फ्युजन कसरी गराउलान् ?
तपाईंको विचारमा कांग्रेस सोसल डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो ? नेकपा माक्र्सवादी, लेनिनवादी पार्टी हो ? के लेनिनले यस्तै ‘भ्यानगार्ड’ पार्टीको कल्पना गरेका थिए ? हैन भने तपाईंंको ‘वैचारिक खजाना’ के हो ? त्यो कता भेटिन्छ ? नेपाली युवाले सोसल डेमोक्रेसी र मार्क्सवादको फ्युजन कसरी गराउलान् ? तपाईं यो सैद्धान्तिक बहसमा ठोस नीतिगत सुझाब कसरी दिनुहुन्छ ? पार्टीका युवालाई सधैँ गफ सुन्ने र सानातिना व्यवस्थापकीय काममा व्यस्त गराइनुको सट्टा राजनीतिक नेतृत्वमा काम गर्न ‘लिडरसिप एकेडेमी’ बनाएर त्यसको नेतृत्व तपाईंले गर्नुपर्ने होइन ? युवालाई सहयोग गर्नु, उनीहरूलाई परामर्श दिनु र अभिभावकीय भूमिका पूरा गर्नुको सट्टा ‘वैचारिक खजानाको खाँचो छ’ भन्ने, तर त्यही वैचारिक खजाना नभएको भन्दै निरुत्साहित गर्न खोज्नुभएको हो वा हाम्रो यो बुझाइ गलत हो ? संगठनको नेता फेरिनुपर्छ भन्ने, तर साधारण सदस्य सधैँ साधारण नै रहोस् भनेर नेतृत्व विकाससम्बन्धी कुनै देखिनलायक काम नगर्ने, पार्टीले आफ्ना विचार सम्प्रेषण गर्ने युवासम्बन्धी कार्यक्रमका जिम्मेवारी त परको कुरो, समीक्षासम्म पनि नगर्ने बानीले पार्टीमा क्षमतावान् युवा कसरी आउलान् ? आफ्नो बल, कार्यक्षमता र युवा जोसले अगाडि बढ्नलायक युवालाई ‘तिमीले यो बुझेकै छैनौ, अझै बाँकी छ’ भनेर निरुत्साहित गर्नुको साटो समयानुकूल ‘अब यहाँ–यहाँ सुधार गर, म यो सहयोग गर्छु’ भनेर भनिदिनुभएको भए आज युवा अझ सक्रिय भएर तपाईंंको पार्टीको क्षमता बढ्ने थियो कि ?
वैचारिक दृष्टिकोणकै निरन्तरतास्वरूप तपाईंंले ‘अब युवा पुँजीवादी, समाजवादी, साम्यवादी जुनसुकै विचारधारामा आस्था राख्ने होस्, उसको विचारको आलोकले समस्याको समाधान देख्ने हुनुपर्छ । दोहोर्याएर भन्छु, नेतृत्वमा युवा पहिलो अनिवार्य सर्त हो । सँगसँगै, उसमा नेपाली समाजको रूपान्तरणका लागि विश्वदृष्टि हुनु पनि अनिवार्य सर्त हो’ भन्नुभयो । तपाईंले युवा नेतृत्व पहिलो सर्त हो पनि भन्ने, युवामा रूपान्तरणको विश्वदृष्टि चाहिन्छ पनि भन्ने, सत्ता उथलपुथल गर्न चाहने युवामा वैचारिक खजाना पनि छैन भन्ने, आफूआबद्ध पार्टी नै युवालाई नेतृत्व हस्तान्तरण गर्न नचाहने, तर आफू पनि युवालाई वैचारिक बहसमा सम्बद्ध नगर्ने, यी सबै एकआपसमा बाझिएका छन् । यसको समाधान के हो ? कसरी सैद्धान्तिक बहस र व्यावहारिकता वा व्यवस्थापकीय वा प्रशासनिक संकायमा तपाईंंले इंगित गर्नुभएका मुद्दामा हालको समय सिद्धान्तले मूर्त रूप दिन नसकेको र अबको समय व्यावहारिक पक्षजस्तै भ्रष्टाचार नियन्त्रण, चुस्त नीति कार्यान्वयन र शिक्षा, स्वास्थ्य र भौतिक निर्माणको गतिशीलतामा हुनुपर्ने हो । बाबुराम भट्टराईले माओवाद छोडेर वैकल्पिक शक्तितर्फ लाग्नुको कारण सैद्धान्तिक जालमा अड्किनुभन्दा व्यावहारिक र प्रशासनिक चुस्तता अबको समयमा महत्वपूर्ण छ भन्ने बुझाइ हो ? रामचन्द्र पौडेलले हालै कान्तिपुरमा लेख्नुभएको ‘मानवतावाद’ पुराना ‘वाद’ हरूको मृत्युचेतबाट जन्मिएको हो ? यदि हो भने सरकारको अकर्मण्यतामा प्रश्न उठाउँदै जवाफदेहिताको वकालत गरिरहेका युवा त सिद्धान्तमा अड्किनुको साटो अझ प्रस्ट रूपले व्यावहारिक देखिए । यसमा तपाईंंले आत्मसमीक्षा गर्दा ताली बज्ने वैचारिक भाषणभन्दा त कैयौँ गुणा यी युवाले सोधेको प्रश्नले र उनीहरूले चाहेको परिवर्तनले ठूलो माने राख्दैन र ?
साथै, अन्तर्वार्तामा तपाईंले ‘भोलि ओलीको ठाउँमा जो–कोही आए पनि वैचारिक, सांस्कृतिक, समाजशास्त्रीय आधारमा संक्षेपमा भन्दा हाम्रो प्राज्ञिक आधारविना दिगो क्रान्ति सम्भव छैन । यी युवा आन्दोलनको कमजोरी यही छ । जोस र जाँगर प्रगतिवादी धारणा वाजिब छ, तर उनीहरूलाई वैचारिक खजानाको खाँचो छ । जब–जब युवाले त्यो खजाना पाएका छन्, भयंकर काम गरेका छन्’ भन्नुभयो । तपाईंंले भन्नुभएको ‘वैचारिक खजाना’ के हो र त्यो कहाँ पाइन्छ ? नेपालमा निरंकुश शासन, निर्दलीय पञ्चायत, प्रजातन्त्र, खुला बजार व्यवस्था, पुँजीवादी व्यवस्था, समाजवाद र अहिले आएर मार्क्सवाद, लेनिनवाद र माओवादलाई सैद्धान्तिक धरातल बनाएर शासन गरेका पार्टी र शासकहरू कसैले पनि ठोस परिणाम दिन नसकेको परिप्रेक्ष्यमा तपाईंंले भन्नुभएको ‘वैचारिक खजाना’ कस्तो हो ? कांग्रेस आफैँमा एउटा ठोस सिद्धान्त अवलम्बन गर्न नसकेर पछिल्लो चुनावमा नराम्ररी पछारिँदा तपाईंंआबद्ध सो पार्टीलाई सैद्धान्तिक बाटोमा डोर्याउन खोज्नुभयो ? हामीजस्ता युवाले आगामी चुनावमा कांग्रेस वा अरू कुनै पार्टीलाई किन भोट हाल्ने ? देशको अवस्था देखेर दिक्क भएर हामीजस्ता युवा र भावी पुस्ता विदेश पलायन किन नहुने ?
सरकारको अकर्मण्यतामा प्रश्न उठाउँदै जवाफदेहिताको वकालत गरिरहेका युवा त सिद्धान्तमा अड्किनुको साटो अझ प्रस्ट रूपले व्यावहारिक देखिए । यसमा तपाईंंले आत्मसमीक्षा गर्दा ताली बज्ने वैचारिक भाषणभन्दा त कैयौँ गुणा यी युवाले सोधेको प्रश्नले र उनीहरूले चाहेको परिवर्तनले ठूलो माने राख्दैन र ?
तपाईंंले बिपीसँग बसेर सिक्नुभएका यावत् राजनीतिक र प्राज्ञिक विषयको शिक्षा अहिलेका युवालाई स्कुलिङ गर्नुपर्ने होइन ? बिपीले आफ्नो ०१० सालको डायरीमा ‘नेपाली कांग्रेसले राष्ट्रियताको महत्व नै बुझेको रहेनछ । हामीले ठूलो गल्ती गरेका रहेछौँ । यतातर्फ हामीले ध्यान दिनुपर्छ’ भनेको लगभग ७० वर्ष पुग्न लाग्दा पनि कांग्रेसले राष्ट्रियता बुझ्न सकेको छैन । यसमा तपाईंंले बिपीको विचारलाई आफ्नो बुझाइको मन्थनद्वारा राष्ट्रियताको सैद्धान्तीकरण कसरी गर्नुभयो ? देशमा राष्ट्रियता र राष्ट्रवादबीचको फरक छुट्याउन नसक्ने जमात ठूलो छ । यो जमात सत्तामा, सडकमा, सामाजिक सञ्जालमा र समाजभरि व्याप्त छ । यो जमातले नै ‘राष्ट्रवादी’ भनिने शक्तिको नेतृत्व गरिरहेको छ । तपाईंंले ‘नेपालमा भोलि टिस्टादेखि काँगडाको नारा लगाउँदैमा कोही सत्तामा पुग्छ भन्ने लाग्दैन’ त भन्नुभयो, तर यसो भन्नुको वैचारिक धरातल के हो ? तपाईंंलाई किन यस्तो लाग्छ ? कुनै पनि पार्टी बलियो हुन, वैचारिक र सांगठनिक हिसाबले सशक्त हुन जरुरी हुन्छ । तर, तपाईंं आफैँ सदस्य रहेको कांग्रेस वैचारिक र सांगठनिक दुवै हिसाबले धराशायी हुँदा तपाईंंको जिम्मेवारी के हो ? तपाईंले कस्तो वैकल्पिक संस्कृतिको प्रोत्साहन गर्न सक्नुहुन्छ ? यहाँ राष्ट्रवादको डरलाग्दो नाच देखाइरहेका सत्ताधारीलाई अगामी चुनावमा जित्न कांग्रेसको रोडम्याप के हो ? यो परिप्रेक्षमा कांग्रेस र बिपीको योगदान जनताले राष्ट्रवाद, प्रजातन्त्र, समाजवाद र अहिलेको खुला बजार व्यवस्था, भूमण्डलीकरण र विश्वव्यापीकरणको समयमा कसरी बुझ्ने ? यो बुझाउन तपाईंंले र तपाईंंको पार्टीले कस्तो भूमिका खेलेको छ ? पुस्तान्तरण हुन नसकेका बिपीका विचारलाई जनतासमक्ष प्रस्तुत गर्ने जिम्मेवारी तपाईंंजस्ता अध्ययनशीलको कि दलालीमा दौडिरहेका कांग्रेसजनको ? सोसल–डेमोक्रेटिक र माक्र्सवादी स्कुल चलाएर यो वैचारिक पुस्तान्तरण अब पनि नगरे कहिले गर्ने ?
तपाईंले ‘गाउँको स्कुल, हेल्थपोस्ट सबैतिर उथलपुथल जरुरी छ । म मुलुकमा हुने कुनै किसिमको उथलपुथलको स्वागत गर्न तयार भई बसेको छु । अचेल सामाजिक सञ्जालले उथलपुथल गराउन खोज्छ । डा. गोविन्द केसी वा ‘इनफ इज इनफ’ले पनि गराउन सक्थे । तर, अलिकति वैचारिक आधार चाहिन्छ’ भन्नुभयो । यो उथलपुथल कसरी आउने हो ? रोडम्यापसहितको कम्युनिस्ट आन्दोलनले समेत ठोस परिणाम दिन नसकेको र परिवर्तनकारी भनिने शक्तिहरू नै पुरातनवादी हुँदै गइरहेको अवस्थामा कुन सिद्धान्तले काम गर्ने देख्नुहुन्छ ? यति भनिरहँदा के आन्दोलन, उथलपुथल, क्रान्ति स्वतस्फूर्त आउनुपर्ने होइन ? डा. गोविन्द केसी वा ‘इनफ इज इनफ’ले अगाडि सारेका जनआक्रोशलाई कांग्रेस वा अन्य कुनै प्रतिपक्षी शक्तिले किन वैचारिक वा सैद्धान्तिक टेवा दिन सकेनन् ? युवाको त्यो आक्रोश र उनीहरूभित्र बलेको त्यो आगोलाई चिसिन नदिन तपाईंंको आफ्नो कस्तो भूमिका हुन सक्थ्यो ? यति भनेको लगत्तै फेरि ‘तर यहाँ हिन्दू राष्ट्रलाई जसरी खारेज गरियो, बहस पुगेन’ पनि भन्नुभयो । उथलपुथल ल्याउन पुरातन सोच भत्काउन जरुरी छ । आफू र आफूजस्ता नेताको महत्व पनि जान्दिनँ, भूमिका पनि जान्दिनँ । तर, मजस्तै व्यक्ति चाहिएको छ । ‘१० वर्षपछिको सोचेर बोल्दिने मान्छे हरेक पार्टीमा चाहिन्छ । सबैजना पदको मुखापेक्षी भएर हुँदैन, पदको आकांक्षीले भन्नुपर्ने कुरा भन्न सक्तैनन् । ‘पार्टी जाओस् भाँडमा’ भनेर बोल्ने मान्छे चाहिन्छ ।’ गगन थापाको उदाहरण दिँदै गणतन्त्रको पक्षमा उनी र संघीयताको पक्षमा तपाईंं रहेको जानकारी दिँदा फेरि हिन्दु राष्ट्रप्रति तपाईंको मनमा सफ्ट कर्नर रहेको हो ? नत्र धर्मनिरपेक्षता त तपाईंंले भन्नुभएजस्तै १० वर्षपछिको सोचेरै लागू गरिएको प्रावधान हैन र ?
समाजवादी र कम्युनिस्ट धारका बहसहरूमा प्रदीप गिरिको तर्क सुन्ने भीडलाई, आफ्नै पार्टीमा भविष्यका खम्बाहरूलाई सैद्धान्तिक मार्गचित्र दिने माहोलको निर्माणमा तपाईंंको भूमिका हुन सक्थ्यो कि ? तपाईंं कहाँ चुक्नुभयो ? तपाईंको पार्टीले नयाँ विश्वको सैद्धान्तिक र वैचारिक अवधारणा अगाडि बढाएर नयाँ पुस्तालाई कसरी प्रेरित गर्न सक्थ्यो ? तपाईंंको पार्टी कहाँ–कहाँ चुक्यो ? यसको चिन्तनमनन कसले, कहिले गर्छ ?
अन्त्यमा, तपाईंआबद्ध पार्टीको आगामी महाधिवेशनमा युवाका विचार बोकेर नयाँ नेपालको सपना साकार पार्नका लागि हरेकजसो आन्दोलनहरूमा होमिएका युवालाई अगाडि बढ्न र यो कुरामा समर्थन जुटाउन कम्तीमा तपाईंं उभिनुहोला भन्ने आशा गर्छौं । यो महत्वपूर्ण कर्ममा तपाईंंको सकारात्मक भूमिकाले पार्टीको भविष्य र तपाईंंको जिम्मेवारी दर्साउनेछ । यावत् कुरा गरेर ताली खाएर फेरि पनि ती युवालाई अहिले वेला भएको छैन, विचारमा स्पष्ट हुनुहोस् भनेर फेरि थन्क्याउने नगरिदिनुहोला ।
हवस् त, धन्यवाद !
(शर्मा नेसनल युनिभर्सिटी सिंगापुरमा समाजशास्त्रमा पिएचडी गरिरहेका छन् । चौलागाईं समृद्धि फाउन्डेसनमा आबद्ध अनुसन्धाता हुन् ।)