भारतसँग दीर्घकालीन शान्ति चाहेकाे पाकिस्तानी प्रधानमन्त्रीकाे भनाइ

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्नो देशले भारतसँग दीर्घकालीन शान्ति चाहेको र दुई छिमेकी मुलुकका लागि युद्ध राम्रो विकल्प नभएको बताएका छन् । अमेरिकाको हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरूको एक समूहसँग कुरा गर्दै उनले पाकिस्तानले वार्ताको माध्यमबाट भारतसँग स्थायी शान्ति चाहेको बताएका हुन् । ‘हामी वार्ताको माध्यमबाट भारतसँग स्थायी शान्ति चाहन्छौँ किनभने युद्ध कुनै पनि देशका लागि राम्रो विकल्प होइन,’ उनले भने । 

सरिफले दक्षिण एसियामा दिगो शान्ति पाकिस्तान अधिनस्थ कस्मिर (पिओके)को समाधानसँग जोडिएको पनि बताए ।  दक्षिण एसियामा दिगो शान्ति संयुक्त राष्ट्रसंघको प्रस्ताव र कस्मिरीहरूको इच्छाअनुसार जम्मू र कस्मिर मुद्दाको समाधानसँग जोडिएको प्रधानमन्त्री सरिफलाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले जनाएको छ ।

आणविक सम्पत्ति र पाकिस्तानको व्यावसायिक तालिम प्राप्त सेनाको बचाउ गर्दै उनले भने, ‘हामी हाम्रो सीमाको रक्षाका लागि हाम्रो सेनामा खर्च गर्छौं, आक्रमणका लागि होइन', प्रधानमन्त्री सरिफले भने, ‘इस्लामावाद र नयाँ दिल्लीबीच व्यापार, अर्थतन्त्र र दुई देशका जनताको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि सहकार्य हुनुपर्छ ।’

राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) कार्यक्रमका बारेमा सोधिएको एक प्रश्नको जवाफमा प्रधानमन्त्री सरिफले पाकिस्तानको आर्थिक संकट हालैका दशकहरूमा राजनीतिक अस्थिरतासँगै आएको संरचनागत समस्याका कारण उत्पन्न भएको बताए । रासस

सुझावित समाचार