ट्रम्पको पन्ध्रबुँदे योजनाले गाजामा ल्याउनेछैन शान्ति

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • ट्रम्पको पन्ध्रबुँदे योजनाले गाजामा शान्ति ल्याउने सम्भावना छैन, यो स्थितिलाई यथावत् राख्ने वा समय बर्बाद गर्ने एउटा बहाना मात्र हो

केही दिनअघि इजरायलले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५बुँदे योजना स्वीकार नगर्ने घोषणा गर्यो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विशेष प्राथमिकतासाथ आफ्नो मन्त्रिपरिषद्लाई यसबारे जानकारी गराए । ट्रम्पको योजनाको मुख्य बुद्दामा इजरायली सेना गाजाबाट हट्ने उल्लेख छ । तर, नेतन्याहुले यसलाई ठाडै अस्वीकार गरे ।

हमासको पूर्ण निःशस्त्रीकरणका लागि आफ्नो शान्ति टोलीले ‘ऐतिहासिक सम्झौता’ सुनिश्चित गरेको ट्रम्पको घोषणाको केही दिनपछि नेतन्याहुले भने कि हमास ‘वास्तविक रूपमा निःशस्त्र’ नभएसम्म इजरायली सेना गाजाबाट हट्नेछैन । वास्तवमा ट्रम्पको गाजा योजनाले गाजामा शान्ति ल्याउँदैन । यो स्थितिलाई यथावत् राख्ने वा समय तन्काउने एउटा बहाना मात्र हो । र, यसको उद्देश्य वासिंटनले गाजा संकट समाधान गर्ने प्रयास गरिरहेको देखाउँदै इरानसँगको तनाव कम गर्नु हो । अमेरिकाका अघिल्ला प्रस्तावको तुलनामा यसले इजरायलमाथि अझ बढी दबाब पर्ने स्पष्ट संकेत गर्छ ।

तर, स्वदेशमै सत्ता गुमाउन सक्ने राजनीतिक लडाइँको सामना गरिरहेका नेतन्याहुसँग गाजा सम्झौता अस्वीकार गर्नुका पनि आफ्नै सीमा र कारण छन् । इजरायललाई अमेरिकाको खुट्टामा बाँधिएको र गहिराइमा तान्ने दुई गह्रौँ ढुंगाको रूपमा चित्रण गर्ने इरानी एआई एनिमेसनले असहज सत्य बोकेको छ, आफ्नो नजिकको क्षेत्रीय सहयोगी (गाजा)माथि वासिंटनको पकड उसले अनुमान गरेभन्दा कमजोर छ ।

यसैबिच, अन्यत्र सम्भावित रूपमा बढी परिणामकारी विषयले आकार लिइरहेको छ । साउदी अरेबिया, पाकिस्तान र टर्किएले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले तेहरान र अन्य क्षेत्रीय खेलाडीलाई मध्यपूर्वको सन्तुलन परिवर्तन भइरहेको संकेत गर्छ । यो सम्झौताले दशकौँदेखि खाडी स्थिरतालाई आधार बनाएको अमेरिकाको सुरक्षा छातामाथिको बढ्दो शंकालाई चित्रण गर्छ । इरानका लागि यो नयाँ गठबन्धन वा समीकरण एक रणनीतिक चुनौती बन्न सक्छ । यसले सुन्नीहरूको एक बलियो सुरक्षा समूह खडा गर्छ । टर्कीका विदेशमन्त्रीले इजिप्ट पनि यसमा सामेल हुन सक्ने संकेत गरेका छन्, जसले भूमध्य सागरदेखि अरब सागरसम्म फैलिएको सुरक्षा सञ्जाल निर्माण गर्न सक्छ ।

यसमा सबैभन्दा चाखलाग्दो पक्ष टर्की हो । नेटोको सदस्यका रूपमा अंकाराले यो नयाँ व्यवस्था आफ्ना विद्यमान गठबन्धनसम्बन्धी प्रतिबद्धताको विकल्प नभई तिनलाई पूरक बनाउने खालको रहेको दाबी गर्छ । कानुनी रूपमा यो कुरा सही हुन सक्ला, तर रणनीतिक दृष्टिकोणले हेर्दा यो स्पष्ट रूपमा जोखिम व्यवस्थापन वा सन्तुलन कायम गर्ने प्रयास हो । टर्कीले आफ्नो दोहोरो पहिचान (नेटोको सहयोगी र मुस्लिम जगत्को एक प्रमुख शक्ति) को उपयोग गर्दै मध्यपूर्वमा अझ ठुलो भूमिका खेल्नका लागि आफ्नो दायरा फराकिलो बनाइरहेको छ ।

वासिंटनका लागि यसको महत्वलाई बेवास्ता गर्न गाह्रो छ । तीन क्षेत्रीय साझेदारले आफ्नै रक्षा संयन्त्र सिर्जना गरेका छन् । यस्तो देखिन्छ कि क्षेत्रीय देशहरूले अमेरिकी अविश्वसनीयताविरुद्ध एकताबद्ध हुनुपर्छ भन्ने विश्वास बढ्दो रूपमा गरिरहेका छन् । त्यसपछि इरानको सबैभन्दा शक्तिशाली बार्गेनिङ चिप, हर्मुजको जलमार्ग छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले वासिंटनलाई आफ्नो व्यवहार परिवर्तन गर्न, द्वन्द्व अन्त्य गर्न, नाकाबन्दी हटाउन, युद्धकालीन क्षतिका लागि इरानलाई क्षतिपूर्ति दिन र जमेको सम्पत्ति विनासर्त रिहा गर्न माग गरेको छ ।

लेबनान र गाजामा इजरायलले हासिल गरेका रणनीतिक लाभ वा अमेरिकालाई प्राप्त हुने तेलसम्बन्धी फाइदा जे–जति भए पनि, ती सबै एउटा दीर्घकालीन संकटको तुलनामा नगण्य देखिन्छन् । इजरायलमाथि वासिंटनको सीमित प्रभाव र यस क्षेत्रमा विद्यमान गहिरो विभाजनका कारण यो संकट अझ जटिल बनेको छ ।

तसर्थ, हामीले देखिरहेको घटनाक्रम मध्यपूर्वको अर्को एउटा संकटभन्दा धेरै माथि उठेर संरचनात्मक पुनर्गठनको रूप लिइरहेको छ । सुरक्षाको प्रत्याभूतिकर्ताका रूपमा रहेको अमेरिकाको पुरानो व्यवस्था क्रमशः कमजोर हुँदै गइरहेको छ । तेहरानमाथि आक्रमण गर्नुले स्पष्ट रूपमा एउटा पान्डोराको बक्स खोलेको छ । ट्रम्प र नेतन्याहुले इरानमाथि आक्रमण गर्नाले प्रतिरोध पुनर्स्थापित हुनेछ, अमेरिकी शक्तिलाई पुनः पुष्टि गर्नेछ र इजरायलको भूराजनीतिक लाभलाई सुदृढ गर्नेछ भन्ने विश्वास गरेका हुन सक्छन् ।

मध्यपूर्व बहुध्रुवीय चेसबोर्ड बन्दै गइरहेको छ, क्षेत्रीय खेलाडीले वासिंटनसँग समन्वयमा आवश्यक रूपमा होइन, बरु यसका विरुद्धमा एकताबद्ध हुन कदम चालिरहेका छन् । त्यो अमेरिकाका लागि वास्तविक रणनीतिक क्षति साबित हुन सक्छ । दशकौँदेखि यसले मिहिनेतपूर्वक निर्माण गरेको क्षेत्रीय सुरक्षा संरचना ‘शत्रुतापूर्ण शक्तिहरू’द्वारा मात्र होइन, बरु पुराना ग्यारेन्टी पर्याप्त छन् भन्ने विश्वास नगर्ने सहयोगी र साझेदारद्वारा पनि कमजोर भएको छ ।

जब मित्रहरूले तपाईंलाई समावेश नगरी आफ्ना सुरक्षा सम्झौता पुनः निर्माण गर्न थाल्छन्, तब उनीहरू अनिवार्य रूपमा तपाईंका शत्रु बन्छन् भन्ने होइन । उनीहरूले केवल तपाईंले उनीहरूको रक्षा गर्न सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्न छाडेका हुन्छन् । मध्यपूर्वका बढ्दो जटिल संकटहरूको समाधानका लागि केवल शब्दहरू होइन, बरु दिगो शान्ति स्थापना गर्ने दृढ प्रतिबद्धताको आवश्यकता पर्छ ।

चाइना डेलीका लागि ली याङको आलेख
 

सुझावित समाचार