स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

म्याड्रिड/ स्पेनको मध्यभागमा रोकिराखेको एउटा रेललाई तीव्र गतिमा रहेको अर्को रेलले पछाडिबाट ठक्कर दिँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । दुर्घटनाका क्रममा रेलका दुईवटा डिब्बा लिकबाट उछिट्टिएको क्षेत्रीय सरकारका अधिकारीले जारी सूचनामा उल्लेख छ ।

दुर्घटना बुधबार बिहान म्याड्रिडको दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दानजिकै भएको हो, जुन भाग म्याड्रिडलाई दक्षिणी सहर सेभिलसँग जोड्ने तीव्र गतिको रेलमार्गमा पर्छ ।

nullदुर्घटनामा स्पेनको सरकारी रेल कम्पनी ‘रेन्फे’द्वारा सञ्चालित तीव्र गतिको ‘एभिई’ रेलमा भएको जनाइएको छ, जुन म्याड्रिडबाट सेभिल जाँदै थियो । सो रेल निजी रेल कम्पनी ‘इरियो’ अर्को रेलमा ठोक्किएको थियो ।

अधिकारीहरूका अनुसार रेन्फेको रेलमा ३९७ जना सवार थिए भने इरियोको रेलमा १४७ जना थिए । स्पेनिस पत्रिका ‘एल पाइस’ले आपत्कालीन सेवा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार ठक्करपछि इरियो रेलका दुईवटा डिब्बा रेलमार्गछेउमा रहेको भिरबाट तल खसेको थियो ।

प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार ’एक्स’मा पोष्ट गर्दै घटनाले आफू स्तब्ध भएको बताएका छन् । उनले घटनास्थलमा उद्धार टोलीहरूले काम गरिरहेको र देशका यातायात मन्त्री ओस्कार पुएन्ते र कास्टिला–ला मान्चाका क्षेत्रीय नेता एमिलियानो गार्सिया–पेजसँग निरन्तर सम्पर्कमा रहेको जनाएका छन् । 

नौ महिनाअघि देशको दक्षिणी भागमा एउटा रेल लिकबाट बाहिरिएर विपरित दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१३ को अर्को दुर्घटनामा ८० जनाको ज्यान गएको थियो ।

सुझावित समाचार