इजरायलमा गठबन्धन सरकार अनिवार्य

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • १२० सिट भएको इजरायली संसद्मा सरकार गठन गर्न ६१ सिट आवश्यक पर्छ, तर चुनावमा नेतन्याहु नेतृत्वको गठबन्धन र विपक्षी गठबन्धन दुवैले बहुमत पुर्याउन सकेनन्

तेलअभिभ/ इजरायलमा मंगलबार सम्पन्न भएको आमनिर्वाचनको लगभग अधिकांश मतगणना भइसक्दा कुनै स्पष्ट विजेता देखिएनन् । कुनै समूहले बहुमत हासिल गर्न नसक्दा आगामी सरकार गठनको प्रक्रिया अनिश्चित देखिएको छ । यो अनिश्चितता सम्भवतः केही महिनासम्म लम्बिन सक्छ ।

अहिलेको मतपरिणामका आधारमा विभिन्न परिदृश्य सिर्जना हुन सक्छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दक्षिणपन्थी गठबन्धनले निवर्तमान संसद्मा रहेको आफ्नो बहुमत गुमाएको छ । १२० सिट भएको इजरायली संसद् (नेसेट)मा सरकार गठन गर्न ६१ सिट आवश्यक पर्छ । तर, नेतन्याहुको गठबन्धनले करिब ५३ सिट मात्र प्राप्त गर्ने देखिन्छ ।

नेतन्याहुले विपक्षी गठबन्धनमा रहेका दक्षिणपन्थी दलमध्ये कुनै एकलाई आफ्नो सरकारमा सामेल गराउने प्रयास गर्न सक्छन् । तथापि, चुनावी अभियानका क्रममा विपक्ष गठबन्धनमा रहेका सबै दलले नेतन्याहुसँग भविष्यमा सहकार्य गर्न अस्वीकार गरेका थिए ।

पछिल्लो समय नेतन्याहुसँग गठबन्धन गर्ने दल तथा राजनीतिज्ञ पछि निकै कमजोर बन्ने प्रवृत्तिले गर्दा अरू दल हच्किएको हुन सक्ने विश्लेषण भइरहेको छ । विशेषतः उनीहरूले नेतन्याहुको सरकारमा रहेर नीति–निर्माणमा खासै प्रभाव पार्न नसक्दा कालान्तरमा चुनावी सिट खुम्चिएको देखिने गरेको छ । केही विश्लेषकले नेतन्याहुले विपक्षी दलका केही सांसदलाई आफ्नो पक्षमा तान्ने प्रयास पनि गर्न सक्ने अनुमान गरेका छन् । तथापि, बहुमत पुर्याउन धेरै सांसदले दल परिवर्तन गर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ, गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले मात्र बहुमत नल्याएको भए पनि गठबन्धनबाहिरको अरबकेन्द्रित दलसँग मिल्दा बहुमत पुग्ने देखिन्छ । तर, यस्तो मिलनको लागि सत्तायात्रामा वैचारिक, राष्ट्रिय र व्यक्तिगत मतभेद बाधक बन्न सक्छ । विपक्षी गठबन्धनले दुई अरब दलहरू– रा’आम र जोइन्ट लिस्टको साथ लिए सहजै ६१ सिटको बहुमतसम्म पुर्याउन सक्छ । यी दुई अरब दलले कीर्तिमानी १९ सिट जित्ने अनुमान गरिएको छ । बुधबार, मध्यवामपन्थी दल डेमोक्य्राट्स पार्टीका नेता यायर गोलानले आफ्ना सहयोगीलाई अरब दललाई पनि गठबन्धनको हिस्सा मान्न आग्रह गरे । उनले नेतन्याहुले ‘यहुदी र अरब मतबिच खडा गरेको जातीय विभाजन’को प्रतिरोध गर्न पनि यस्तो गठबन्धन आवश्यक रहेको बताए । 

तर, आइजेनकोट नेतृत्वको गठबन्धनमा रहेका दुई दक्षिणपन्थी दलले अरब दल सम्मिलित सरकार बनाउन वा उनीहरूको बाह्य समर्थनमा बन्ने अल्पमतको सरकारलाई अस्वीकार गरेका छन् । अर्को सम्भावना ‘राष्ट्रिय एकता सरकार’को हुन सक्छ । यसमा नेतन्याहुको ‘लिकुड’ पार्टी र विपक्षी गठबन्धनका एक वा बढी दल समावेश हुन सक्छन् । यसो भएमा उनको हालको कट्टरपन्थी सरकार विस्थापित हुनेछ । चुनावी अभियानका क्रममा नेतन्याहु र विपक्षी नेता दुवैले यस्तो सम्भावनालाई अस्वीकार गरेका थिए । तर, अर्को निर्वाचन गर्नुपर्ने अवस्था टार्न यो सायद एक मात्र उपाय हुन सक्छ ।

सिएनएनबाट

सुझावित समाचार