ब्रासिलिया/ ब्राजिलका उग्र–दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारो बुधबार अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको मियामीमा पुगेका छन् ।
आइतबार राति भएको निर्वाचनमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि बोल्सोनारो २४ घण्टाभन्दा बढी समयसम्म बेपत्ता थिए । पछि उनी स्थलमार्ग हुँदै दक्षिणी छिमेकी अर्जेन्टिना प्रवेश गरेको त्यहाँ आप्रवासन अधिकारीहरूले जानकारी दिए ।
त्यहाँबाट उनी ‘एलभी–जेक्युडब्लु’ नाममा दर्ता भएको गल्फस्ट्रिम चतुर्थ मोडलको विमानमा चढेर इक्वेडरतर्फ उडे । अर्जेन्टिनी सञ्चारमाध्यममा अघिल्लो बिहानैदेखि पुएर्तो इग्वाजु विमानस्थलमा रोकिराखेको सोही विमानमा बोल्सोनारो अमेरिका उड्ने योजनामा रहेको खबर आएको थियो । ब्राजिलका पूर्वराष्ट्रपति (हाल जेलमा रहेका) जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो आफ्नी श्रीमती र दुई छोरीसहित राति करिब ११:३० बजे उक्त विमानमा चढेको मिडियाले बताएका छन् । ब्राजिलको हवाई क्षेत्र प्रयोग गर्दा उत्पन्न हुन सक्ने खतराबाट बच्नका लागि विमान इक्वेडरको सहर ग्वायाकिलतर्फ लागेका थिए । इक्वेडरमा केही बेर रोकिएपछि विमान ‘मियामी–ओपा लोका कार्यकारी विमानस्थल’तर्फ अघि बढ्यो ।
अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले सञ्चारमाध्यमलाई बताएअनुसार बोल्सोनारो र उनको परिवारलाई भिसा दिइनेछ । साथै, मंगलबार राति नै अमेरिकी राष्ट्रपतिले पनि उनीहरूको अमेरिका बसाइलाई स्वीकृति दिने संकेत गरेका थिए ।
निर्वाचन परिणाम आउनेबित्तिकै बोल्सोनारो देश छाडेर भाग्न सक्ने आशंकामा प्रहरीले सर्वोच्च अदालतसँग उनको पासपोर्ट जफत गर्न आदेश दिन माग गरेको थियो । फ्लोभियोका भाइ तथा पूर्वसांसद एडुआर्डो बोल्सोनारोले चुनावअघि शुक्रबार दिएको एक अन्तर्वार्तालाई आधार बनाएर प्रहरीले उक्त आदेश चाहेको थियो ।
हाल अमेरिकामा बसेर लुला सरकारविरुद्ध ट्रम्प प्रशासनसँग लबिङ गरिरहेका एडुआर्डोले एक पोडकास्टमा बोल्ने क्रममा उनका दाइले चुनाव हारे भने उनले हार नस्विकार्ने र अमेरिका जाने संकेत गरेका थिए । ‘ओ ग्लोबो’ नामक पत्रिकाका अनुसार चुनाव हारेको खण्डमा देश छाड्ने योजना धेरै हप्ताअघिदेखि नै बनाइएको थियो । यस योजनाका मुख्य आयोजक एडुआर्डो नै थिए, जसले सिनेटरलाई अमेरिकामा भित्र्याउने विषयमा अमेरिकी अधिकारीसँग सहजीकरण गरेको बताइन्छ ।