अहिले युरोप र त्यसभन्दा बाहिर पनि विरोध प्रदर्शनको लहर देखिइरहेको छ । यीमध्ये धेरैलाई ‘जेन–जी’ विरोध प्रदर्शन भनिँदै छ । जेन–जी भनेको सन् १९९७ देखि २०१२ बिचमा जन्मिएका अहिले करिब १३ देखि २९ वर्ष उमेर पुगेका युवाको समूह हो । यो उमेर समूहका किशोर र युवा अहिले आफ्नो पुस्तासँग चासो राख्ने मुद्दालाई लिएर प्रदर्शनमा उत्रिरहेका छन् ।
फ्रान्समा पर्याप्त बजेट नपाएका विद्यालयको दयनीय अवस्थालाई लिएर केही हप्ताअघि विरोध प्रदर्शन भयो । यी प्रदर्शन कमजोर हुनुको साटो झन्–झन् सशक्त हुँदै गएका छन् । गत साताको अन्त्यसम्म देशभर फैलिएको प्रदर्शनमा करिब पाँच लाखदेखि आठ लाख प्रदर्शनकारी सहभागी भए ।
उता भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको बढ्दो अधिनायकवादी नेतृत्वका विरुद्ध सुरु भएको ‘कक्रोच मुभमेन्ट’ (कक्रोच अभियान) अहिले मोदी सरकारका लागि सबैभन्दा कडा चुनौतीका रूपमा देखा परेको छ । मतदाता नामावली अध्यावधिक गर्दा १३ करोडभन्दा बढी मतदाताको नाम हटाइएपछि बढेको विरोधमा यस अभियानले सुरु गरेको आन्दोलनमा कैयाैँ नेता पक्राउ परेका छन् । तर, पनि आन्दोलन जारी छ ।
अर्को युरोपेली देश स्पेनमा आवास प्रणालीको विफलता र घरभाडामा बसेकालाई जुनसुकै वेला निष्कासन हुन सक्ने जोखिमबाट सुरक्षा दिन नसक्ने कानुनका कारण आक्रोश चुलिएको छ । सुरुमा ८७ वर्षीया वृद्धा मारिकार्मेन अबास्कललाई उनी दशकौँदेखि बस्दै आएको घरबाट जबर्जस्ती निकालियो । एक व्यापारी घरानाले अबास्कल बस्दै आएको घर किनेर भाडा बढाएपछि उनलाई निष्कासित हुन बाध्य पारिएको थियो । (दशकौँदेखि बस्दै आएको घरबाट निकालिएको दुई हप्तापछि नै अबास्कलको निधन भयो ।)
त्यस घटनाले धेरै उस्तै समस्यामा रहेकाहरूलाई सडकमा उत्रिन प्रेरित गर्यो । विरोधलाई साम्य पार्ने गरी भाडामा बस्ने मानिसलाई घरबाट निकाष्सन गर्न रोक्ने भन्दै अल्पमतको सरकारले ल्याएको अत्यन्त लोकप्रिय विधेयकलाई संसद्ले अस्वीकृत गरिदियो । लगत्तै प्रधानमन्त्री पेड्रो सान्चेजले आकस्मिक निर्वाचन घोषणा गर्नुपर्यो । प्रत्येक देशको सन्दर्भ फरक–फरक छ, तर फ्रान्स, भारत, स्पेनदेखि अन्य देशमा भइरहेको प्रदर्शनको लहरमा असमानतासम्बन्धी गुनासा केन्द्रविन्दुमा छन् ।
अहिले देखिएका असमानताका दुई पाटा छन्, जसमध्ये एउटा वर्गसँग सम्बन्धित छ भने अर्को पुस्तासँग । सन् २००८ को संकटपछि युरोपभरि नै असमानता निकै बढेको छ । यसलाई बढ्दो आय असमानता र तीव्र गतिमा बढिरहेको सम्पत्ति असमानताका तथ्यांकले पुष्टि गर्छन् । कुनै वेला गर्व गर्न लायक मानिने युरोपेली ‘कल्याणकारी राज्य’को तीव्र क्षयीकरणले मानिसको जीवन थप कठिन बनाइरहेको छ ।
एक समय उच्च गुणस्तरीय सार्वजनिक सेवाहरू सबैलाई उपलब्ध गराउनुको उद्देश्य जीवनयापनको न्यूनतम स्तर सुनिश्चित गर्नु थियो । साथै यसको उद्देश्य यस्तो प्रणाली बसाल्नु थियो, जहाँ हरेक व्यक्तिलाई सफल हुने समान अवसर मिलोस् । तर, वर्षौंसम्म अपनाइएको ‘घाटाको बजेट (मितव्ययिता नीति)’ले राम्रो शिक्षा, स्वास्थ्य सेवा, सामाजिक हेरचाह र अन्य सेवा प्रदान गर्ने राज्यको क्षमतालाई कमजोर बनाइदिएको छ । राज्यको भूमिका क्रमशः खुम्चिँदै जाँदा आय र सम्पत्तिको असमानता अझ गहिरिएको छ । किनकि, केही मानिस राम्रा सेवाका लागि पैसा तिर्न सक्छन् भने धेरैले त्यसो गर्न सक्दैनन् ।
यस्तो बढ्दो असमानताको मार युवा पुस्ताले अझ बढी महसुस गरिरहेका छन् । यसलाई नयाँ–नयाँ चुनौतीले थप जटिल बनाइरहेको छ । विभिन्न क्षेत्रमा युवाहरूले शासन प्रणालीको असफलताको मार भोग्नुपरिरहेको छ, जसले युरोपेली युवाले आफ्ना आमाबुबा वा हजुरबुबा–हजुरआमाको तुलनामा निकै निराशाजनक भविष्य र कमजोर सम्भावना खडा गरिदिएको छ । विश्वभरका १५ वर्षका किशोरकिशोरीको पठन, गणित र विज्ञानको क्षमता परीक्षण गर्ने ‘पिसा’ले हालै सार्वजनिक गरेको एक तथ्यांकले पठन र गणितीय सीपमा आएको तीव्र गिरावट देखाएको छ । खासमा यो शिक्षा क्षेत्रमा न्यून लगानीको परिणाम हो । यस गिरावटको एउटा मुख्य कारण मानसिक स्वास्थ्यमा आएको ह्रास र त्यसका कारण विद्यालयमा हुने अनुपस्थिति पनि हो । यसमा सामाजिक सञ्जाललाई पनि एउटा कारकका रूपमा औँल्याइने गरिन्छ ।
शैक्षिक उपलब्धिमा आएको गिरावटको अर्को कारण ‘आर्टिफिसियल इन्टेलिजेन्स(एआई)’को तीव्र प्रयोग पनि हो । यो आफैँमा शासन प्रणालीकै अर्को किसिमको असफलता हो । सामाजिक सञ्जाल र एआई दुवैको नियमन गर्ने प्रयास नभएको होइन, तर ती निकै सुस्त छन् । विशेषतः ठुला प्रविधि कम्पनीको तीव्र लबिङले यसलाई प्रभावित बनाइरहेको छ । श्रम बजारमा आफूलाई स्थापित गर्न खोजिरहेका युवामाथि एआई क्रान्तिको पनि प्रभाव परेको छ । रोजगारीमा एआईको प्रभाव अहिले प्रारम्भिक चरणमै छ, तर अहिले नै प्रवेशस्तरका काम मेसिनले गर्ने क्रम बढ्दै गएको स्पष्ट भइसकेको छ ।
आवासको विषय पनि जीवनको एउटा यस्तो महŒवपूर्ण पक्ष हो, जसमा युवाहरू पछाडि परेका छन् । आजका युवाले आफ्नो आम्दानीको ठुलो हिस्सा घरभाडा तिर्नमा खर्च गर्नुपर्छ, जुन अघिल्ला पुस्तामा त्यति ठुलो भारको विषय थिएन । यो पनि शासन प्रणालीकै असफलता हो । यी सबैका अतिरिक्त जलवायु संकटको चिन्ता अलग छ, जसलाई सायद शासन प्रणालीको सबैभन्दा ठुलो असफलता मान्न सकिन्छ । आइपिसिसीको पछिल्लो प्रतिवेदनले स्पष्ट रूपमा देखाएको छ, सन् २०२० मा जन्मेका मानिसको जीवन, उनीहरूका आमाबुबा वा हजुरबुबा–हजुरआमाको तुलनामा निकै जोखिमपूर्ण र अनिश्चित हुनेछ ।
बढी समानता भएका समाज जलवायु परिवर्तनले निम्त्याउने अस्थिरताको सामना गर्न धेरै सक्षम हुनेछन्, किनकि तिनले अनुकूलनका लागि सामूहिक उपाय प्रदान गर्न सक्छन् । यसविपरीत, अहिले हामीले देखिरहेको बढ्दो असमानता भएका समाजले अनुकूलनको भार व्यक्ति र परिवारमाथि बढी पर्नेछ । अर्को शब्दमा भन्नुपर्दा, शासन प्रणालीका अनेकौँ असफलता र राज्यको क्षमतामा आएको ह्रासले युवाका लागि एक विस्फोटक अवस्था सिर्जना गरेको छ । पेरिस, नयाँदिल्ली, रोम र म्याड्रिडका सडकमा पोखिएको आक्रोश यही हो ।
अपेक्षित रूपमै आम युवा आक्रोशका रूपमा देखिएको प्रदर्शनविरुद्ध सरकारहरूको मुख्य प्रतिक्रिया दमन नै रहने गरेको छ । विश्वभर नै विरोध प्रदर्शनलाई अपराधीकरण गर्ने र दमन गर्ने आम प्रवृत्ति देखिइरहेको छ । प्रदर्शनविरोधी कानुन, गिरफ्तारी वा प्रहरी हिंसा, जुनसुकै माध्यमबाट भए पनि दमन बढिरहेको छ । कहिलेकाहीँ दमनले विरोध आन्दोलनहरूलाई निस्तेज पार्न सफल हुन्छ भने, कतिपय अवस्थामा यसले आन्दोलनलाई अझ भड्काउने काम गर्छ । फ्रान्स र भारत दुवै देशमा हालसम्म यस्तै भएको देखिन्छ ।
खासमा आवश्यकता त विद्यमान असमानता र शासन प्रणालीका असफलतालाई सम्बोधन गर्ने वास्तविक प्रयास हुनुपर्ने देखिन्छ । त्यसले मात्र युवालाई सडकमा उत्रिने मूल कारण सम्बोधन गर्छ । यसो नगरिएमा थप राजनीतिक संकट निम्तिनेछ ।
अलजजिराबाट