कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

किन्सासा/ डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी)मा इबोला संक्रमितको संख्या १० हजार नाघेको छ । अहिले यो प्रकोप डिआरसीका विभिन्न भागमा मात्र नभई सीमापारिसमेत फैलिरहेको छ । मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार पुष्टि भएका संक्रमितको संख्या १० हजार ६० पुगेको छ भने मृतकको संख्या चार हजार ८८७ रहेको छ ।

डिआरसीको जनस्वास्थ्य मन्त्रालयका अनुसार अहिले देखिएको प्रकोप सो देशको इतिहासमा सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोप हो । भाइरस पुष्टि भएका १० हजार ६० जनामध्ये झन्डै आधाको मृत्यु भइसकेको छ । परिणामस्वरूप जारी इबोला प्रकोप देशको इतिहासमा सबैभन्दा घातक बन्न पुगेको छ, जुन हालसम्मकै दोस्रो ठुलो र दोस्रो घातक प्रकोप हो ।

यसअघि सन् २०१४–०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारी सबैभन्दा ठुलो थियो । त्यति वेला दुई वर्षसम्म लम्बिएको प्रकोपमा २८ हजार ६०० मानिस संक्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

हाल देखिएका नयाँ संक्रमितमध्ये करिब ८० प्रतिशत व्यक्ति स्वास्थ्य अधिकारीले निगरानी गरिरहेका संक्रमणको ‘चेन’ (प्रसार शृंखला) भन्दा बाहिरका भएको बताइएको छ ।

मे १५ मा घोषणा गरिएको पछिल्लो इबोला प्रकोप ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको हो । यो इबोला भाइरसको एक दुर्लभ प्रकार हो, जसका लागि हालसम्म कुनै खोप वा उपचार विधिलाई स्वीकृत गरिएको छैन । शुक्रबार, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यस भाइरसविरुद्धको खोपका लागि पहिलो ‘क्लिनिकल ट्रायल’(परीक्षण) सुरु गरिएको घोषणा गरेको छ । 

सुझावित समाचार