फ्रान्सको प्रदर्शनमा हजार पक्राउ

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

पेरिस/ फ्रान्सभर लाखौँ मानिस विरोध प्रदर्शनमा सहभागी हुँदा करिब एक हजारजना पक्राउ परेका छन् । शनिबार अबेरसम्म चलेका यी प्रदर्शनका क्रममा केही झडप पनि भएका छन् ।दिनभरजसो शान्तिपूर्ण रूपमा चलेका प्रदर्शनपछि पेरिसलगायत विभिन्न सहरमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । यसै क्रममा मार्सेईमा अवरोध खडा गर्न राखिएका सामग्रीमा आगो लगाइयो भने बोर्डोमा मानिसहरूले एउटा पसलबाट बोर्डहरू उप्काए ।

तर, गत साताको अन्त्यमा देखिएकोजस्तो व्यापक दंगा र लुटपाट (जसले फ्रान्सको आधुनिक इतिहासमै सबैभन्दा खराब अराजक दृश्य निम्त्याएको थियो) भने अधिकारीहरूले अहिलेसम्म रोक्न सकेका छन् । गृह मन्त्रालयका अनुसार शनिबार करिब चार लाख १० हजार मानिस विरोध प्रदर्शनमा सहभागी थिए, जबकि ट्रेड युनियनले यो संख्या करिब आठ लाख रहेको बताएका छन् ।

जीवनयापनको बढ्दो लागत र विद्यालयको दयनीय अवस्थालाई लिएर भइरहेका पछिल्ला विरोध प्रदर्शनलाई नियन्त्रण गर्न करिब ७० हजार प्रहरी परिचालन गरिएको छ र विभिन्न सहरमा प्रतिबन्ध लगाइएका छन् । यसो गर्नुको उद्देश्य प्रदर्शनलाई त्यस्तो अराजक अवस्थामा पुग्नबाट रोक्नु हो, जसमा प्रहरीहरू संख्यात्मक रूपमा कमजोर थिए, सयौँ व्यवसायी लुटिएका थिए र भवनमा आगजनी गरिएको थियो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै साताको सुरुमा मान्यताप्राप्त ट्रेड युनियनद्वारा आयोजित प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गरेका थिए । तोडफोड, आगजनी र लुटपाटमा संलग्न सयौँ मानिसलाई द्रुत सुनुवाइ प्रक्रियामार्फत जेल चलान गरिएको छ ।
पेरिसमा पोर्ट डी’इटालीबाट पोर्ट डी भिन्सेन्सतर्फ निकालिएको शान्तिपूर्ण ¥यालीको अन्त्यतिर प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबिच झडप भयो । उक्त प्रहरी कारबाहीमा संगठित अपराध र आतंकवादविरोधी कार्यमा संलग्न हुने विशेष दस्तासमेत समावेश थियो ।

केही प्रदर्शनकारीले अस्थायी अवरोध खडा गर्दै प्रहरीमाथि विभिन्न वस्तु प्रहार गरिरहेका थिए, भने अर्कोतर्फ प्रहरीले गाडीको सोरुमका झ्याल तोडफोड गरिरहेका मुख छोपेका युवाको समूहमाथि लाठीचार्ज गर्यो ।गृहमन्त्री लरेन्ट नुनेजले हजारौँको संख्यामा कट्टरपन्थी कार्यकर्ता जुलुसको पछाडिपट्टि भेला भएकामध्ये पाँच सयजनाले दंगा मच्चाएको आरोप लगाए । गृह मन्त्रालयले जनाएअनुसार शनिबार फ्रान्सको राजधानीमा १४२ जनालाई पक्राउ गरिएको छ, यो संख्या गत हप्ताको सोही दिन पक्राउ परेकाहरूको संख्याको आधाभन्दा पनि कम हो ।

सुझावित समाचार